मेलम्चीको हेड्वर्कस निर्माणको काम पनि सम्पन्न, पाइपलाइन परिक्षणको काम पनि चल्दै


काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको काम मध्ये निर्माण सम्पन्न गर्न बाँकी रहेको मेलम्चीको बाँध स्थल (हेडवर्कस) निर्माणको काम पनि सम्पन्न भएको छ । मेलम्चीको भौतिक निर्माणको काम मध्ये बाँकी रहेको हेडवर्कस निर्माणको काम सम्पन्न गरी बाहिर गेटका ढोका राख्नका लागि काम भईरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । सुरुङमा जस्तै समय समयमा हेडवर्कस सफा गर्नुपर्ने अवस्थामा त्यसको लागि मानिस र क्रेन जान सक्ने गेट चाहिने भएकोले त्यसको लागि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

गेटको बाँकी काम पनि अव केही दिनमा सम्पन्न हुने उहाँले बताउनुभयो । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा पनि मेलम्चीको नयाँ पाइपलाइनको काम पनि धमाधम भइरहेको छ । स्वास्थ्य मापदण्ड पालना गरी काठमाडौं उपत्यकामा पानी परीक्षण र नयाँ पाइप विछयाउने, घरघरमा मिटर राख्ने काम भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

काठमाडौं, र ललितपुरका रिङरोड क्षेत्रमा पाइपको परीक्षण र मिटर जडानदेखि पाइप बिछयाउने काम पनि एकैसाथ भइरहेको आयोजना निर्देशनालयका उपनिर्देशक उज्वल प्रजापतिले जानकारी दिनुभयो । मेलम्चीको पानी काठमाडौं आए पछि सुरुमा पुरानै वितरण प्रणालीबाट पानी वितरण गरिए पनि अहिले बिस्तारै नयाँ धारामा पनि पानी वितरण बढाउँदै गएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा १६२ वटा एरियामध्ये हाल पाँच वटा एरियामा नयाँ पाइपलाइनबाट पानी वितरण भइरहेको छ जसमा एउटा क्षेत्रमा मात्रै पाँचसयदेखि सातसय घरको धारा हुने गरेको उपनिर्देशक प्रजापतिले बताउनुभयो । गएको फागुन १० गते मेलम्ची सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो । काठमाडौमा चैत १५ गतेबाट मेलम्चीको पानी वितरण गर्न थालिएको थियो ।

सुरुङमार्गको परिक्षण तथा सफाइका लागि यही असार १ गतेदेखि मेलम्चीको पानी काठमाडौमा नपठाउने यस अघि नै बताईसकेको छ । उक्त कार्यका लागि करिब २ महिना समय लाग्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार