मेलम्चीको पानी नआउने भएपछि पानी वितरणमा व्यापक फेरबदल, २ देखि १२ दिन बिराएर वितरण गरिने


काठमाडौ : मेलम्चीको पानी काठमाडौ उपत्यकामा नआउने भएपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खानेपानी वितरण तालिकामा व्यापक हेरफेर गरेको छ । मेलम्चीबाट दैनिक प्राप्त भईरहेको १७ करोड लिटर पानी नआउने भएपछि केयूकेएलले २ देखि १२ दिन पानी वितरण गर्न लागेको हो ।

मेलम्चीको सुरुङ परिक्षण, निरीक्षण र सुधारका लागि भोलि देखि सुरुङ खाली गरिने मेलम्ची खानेपानी विकास समितिले यस अघि नै सूचना जारी गरिसकेको छ ।

मेलम्चीको पानी नआउन्जेलसम्म ग्राहकहरुलाई वितरणको लागि हुने खानेपानीको परिमाणको कमीलाई ध्यानमा राखी हालको खानपानी वितरण तलिकामा बाध्यत्मक फेरबदल गर्नुपरेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले बताउनुभयो । मेलम्चीको पानी प्राप्त नहुँदासम्म काठमाडौ उपत्यका भित्रका खानेपानीका स्रोतहरुबाट खानेपानी उपलब्ध गराईने उहाँले बताउनुभयो । मेलम्ची खानेपानी विकास समितिले सुरुङको पानी खाली गर्न, परिक्षण, निरीक्षण र सुधारका लागि २ महिना समय लाग्ने जनाईसकेको छ । काठमाडौ उपत्यकामा २०७७ चैत्र १५ गतेदेखि मेलम्चीको वितरण गर्न सुरु गरिएको थियो ।

ललितपुरमा १२ दिनको फरकमा पानी वितरण हुने

काठमाडौ उपत्यका खानेपानी लिमिटेडले सार्वजनिक गरेको नयाँ तालिका अनुसार ललितपुरको सैबुबाट वितरण हुने क्षेत्रहरु ललितपुर, सानेपा, मंगलबजार, कुपण्डोल क्षेत्रमा १२ दिनको फरकमा मात्र पानी वितरण हुनेछ । यस्तै महाकालचौर, मीनभवन, अनामनगर र ठिमीबाट वितरण हुने क्षेत्रमा ७ दिनको फरकम पानी वितरण गरिनेछ ।
बाँसबारी र पानीपोखरी वितरण केन्द्रले भने ५ दिनको फरकमा पानी वितरण गर्ने जनाएको छ । यस्तै बालाजु वितरण केन्द्रले ७ दिन, भक्तपुर वितरण केन्द्रबाट ४ दिन र किर्तिपुर वितरण केन्द्रले २ दिनको फरकमा पानी वितरण गर्ने जनाएको छ ।

हेरौं केयूकेएलद्वारा जारी गरिएको सूचना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार