खानेपानी आयोजनामा लगानी गर्न नगर विकास कोषसँग सम्झौता

काठमाडौ : चितवनको कालिका नगरपालिकामा सञ्चालन हुने जुटपानी सहलगानी खानेपानी तथा सरसफाइ आयोजनामा ऋण लगानी गर्न नगर विकास कोषसँग सम्झौता भएको छ । सहलगानी खानेपानी आयोजनामा कुल लगानीको २५ प्रतिशत रकम नगर विकास कोषबाट ऋण लगानी गर्नुपर्ने प्रावधान बमोजिम नगर विकास कोषसँग ऋण सम्झौता भएको हो । सम्झौता अनुसार खानेपानी आयोजना निर्माणका लागि कोषले ४ करोड ७८ लाख ६० हजार रुपैयाँ ऋण लगानी गर्नेछ ।

केही दिन अघि भएको सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र जुटपानी खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष झलकबहादुर आलेले हस्ताक्षर गर्नुभएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले १९ करोड १४ लाख ४३ हजार रुपैयाँ ठेक्का कबोल गरेको थियो । उक्त रकममध्ये सरकारबाट ७० प्रतिशत अनुदान, कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट बेहोरिने प्रावधान छ ।

आयोजनाले कालिका नगरपालिका चितवनका वडा नम्बर १, २ र ३ का सम्पूर्ण क्षेत्र र ६, ७, र ८ का केही क्षेत्रका १९ हजार ३६९ जनसंख्यालाई ४ वटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा पुर्‍याउने लक्ष्य छ ।

ऋण सम्झौतामा जमानतकर्ताको रूपमा हस्ताक्षर गरेका कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले आयोजनालाई नमुनाको रूपमा सफल बनाउन नगरपालिकाबाट प्राविधिक, व्यवस्थापकीय लगायत पक्षबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले आयोजना समयमै गुणस्तरीय रूपमा सम्पन्न हुने र उपभोक्तालाई सहज ढंगबाट खानेपानी सेवा प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रममा जुटपानी खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष झलकबहादुर आलेले आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार