गलकोटको २ नम्बरमा दुई तिहाई जनसंख्यामा पुग्यो खानेपानीको पहुँच

बागलुङ : बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ को दुई तिहाई घरमा खानेपानीको सुविधा पुगिसकेको छ । कुल ६३७ घरधुरीमध्ये ३ सय बढी घरपरिवारमा खानेपानीको पहुँच पुगिसकेको वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो। ६३७ घरमै एक घर एक धारा अभियान सञ्चालन गरिरहेको वडा कार्यालयले जसपुर घामपानी मसरा खानेपानी आयोजना सम्पन्न भएपछि वडा नं. २ का सबै घरमा खानेपानीको पहुँच पुग्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

आगामी वर्षभित्र सबै घरमा धारा बनाइसक्ने लक्ष्य सहित काम सञ्चालन भईरहेको उहाँले बताउनुभयो । त्यसका लागि सबै टोल तथा बस्तीमा योजना निर्माणाधीन अवस्थामा छन् । केही बस्तीमा खानेपानीका धारा समेत बनेर पानी सञ्चालन भसकेको उहाँले बताउनुभयो ।

सबै टोल तथा बस्तीका स–साना योजना जोडेर बृहत् योजना सहित घर–घरमा खानेपानी पुर्‍याउने लक्ष्य राखिएको वडाध्यक्ष भण्डारीको भनाइ छ । ‘नगरपालिका, नगर विकास कोष, संघीय बजेट र कादुरी च्यारिटेबल फाउन्डेसन लगायत संस्थाको सहकार्यमा सबै योजना पूरा गर्ने तयारीमा छौँ, दर्जन बढी मुहानलाई वडाभरको योजनामा समावेश गरिएको छ’ उहाँले भन्नुभयो ।

२०७४ मा वडाभरको डिपिआर बनेपछि सबै संस्थाको समन्वयमा योजना निर्माण सुरु भएको वडाध्यक्ष भण्डारीको भनाइ छ । ‘पहिला खानेपानीको सास्ती थियो । योजना बनेपछि घरघरमा धारा जडान भएका छन् । सजिलो भएको छ’, थुम्कागाउँकी मानकुमारी भण्डारीले भनिन्, ‘दैनिक एक घन्टा धारोमा बस्ने समय अहिले काममा लगाउन पाइएको छ ।’

बाघमाराबाट ल्याइएको पानीले थुम्कागाउँका २५ घरमा पानीको व्यवस्थापन भइसकेको छ । यहाँ २ लाख लिटरको खानेपानी ट्यांकी निर्माणपछि घर–घरमा धारा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर कुँवरले जानकारी दिनुभयो। वडाले सबै घरमा धारा पुगेपछि मात्रै मिटर जडान गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार