घरैपिच्छे धाराले पूर्ण सरसफाइमा सघाउ

बाजुरा : बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका र गौमूल गाउँपालिकाको गाउँ गाउँमा बनेका धाराले पूर्ण सरसफाइमा सघाउ पुगेको छ । एक घर एक धारा निर्माण भएपछि गाउँलाई पूर्ण सरसफाइ क्षेत्र बनाउन सहज भएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो । ‘गाउँमा खानेपानी नहुँदा शौचालय समेत प्रयोगविहीन हुने गरेका थिए । अहिले एक घर एक धारा निर्माण भएपछि गाउँ सफा बन्दै गएको छ’ अध्यक्ष रोकायाले भन्नुभयो । पानीको सहज उपलब्धताले व्यक्तिगत सरसफाइ गर्न थालेका अध्यक्ष रोकायाले बताउनुभयो । ‘मानिसलाई बाँच्नका लागि त पानी चाहिने नै भयो, यसका अलावा नुहाउन, कपडा धुन पनि पानी नभई हुँदैन । व्यक्तिगत सरसफाइमा ध्यान दिन थालेपछि मानिस निरोगी र सफा पनि देखिन थालेका छन् । यी सब पानीकै कारण हो ।’ उहाँले भन्नुभयो ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ छापु र सोही गाउँपालिकाको वडा नम्बर ५ जेरा गाउँमा घरपिच्छे धारा निर्माण भएका छन् । त्यस्तै, गौमूल गाउँपालिका वडा नम्बर ३ माझपाली र वडा नम्बर १ अम्लिस गाउँमा एक घर एक धारा निर्माण भई खानेपानीको सुविधा पुगेको छ। गाउँपालिका, ग्रामीण जलस्रोत परियोजना तेस्रो चरण, फिनल्यान्ड सरकाररयुरोपियन युनियन र जनश्रमदानमा एक घर एक धारा निर्माण भएको हो ।

एक घर एक धारा निर्माण भएपछि पानीको सास्ती भोग्दै आएका स्थानीयलाई पनि सहज भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ छापुमा ७५ घरधुरी र सार्वजनिक कार्यलयमा समेत गरी ७७ वटा धारा निर्माण गरेर खानेपानी सञ्चालनमा आएको खालुखोरे निजी धारा खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष अक्कलनाथ योगीले बताउनुभयो। स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ जेरामा १९९ परिवारका प्रत्येक घरमा पनि धारा निर्माण भई प्रयोगमा आउन थालेका छन् ।

यस्तै, गौमूल गाउँपालिका वडा नम्बर ३ माझपालीमा ४८ घर र वडा नम्बर १ अम्लिस गाउँमा रहेका ५४ परिवारका प्रत्येक घरमा धारा निर्माण भएको ग्रामीण जलस्रोत परियोजना प्राविधिक सहकर्ता तेजबहादुर बोहराले बताउनुभयो ।

खानेपानीको दिगोपनाका लागि मर्मत सम्भार कार्यकर्ता

खानेपानीको दिगोपनाका लागि हरेक खानेपानी योजनामा मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गरिएको छ । धारा निर्माणसँगै आईपर्न सक्ने सामान्य प्राविधिक समस्यालाई हल गरी धारामा पानीको नियमितता बढाउन तालिम प्राप्त मर्मत सम्भार कार्यकर्ता खटाइएको गौमूल गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिनुभयो । खानेपानी मर्मतसम्भार कार्यकर्तालाई मासिक २ हजार रुपैयाँ पारिश्रमिक दिने गरेका छन् ।

समुदायले मर्मत सम्भार कोष समेत स्थापना गरेका छन् । पानीको न्यूनतम महसुल प्रति धारा १ सय रुपैयाँ तिनुपर्छ । त्योभन्दा बढी प्रयोग भए प्रतिमहिना प्रतियुनिट १० रुपैयाँ तिर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार