सेतीले बगायो सदरमुकामबासीको खानेपानी सपना

बझाङ: सेती नदीले बझाङ सदरमुकाम चैनपुरमा निर्माणाधीन साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको इन्टेक बगाएको छ । इन्टेक बगाएपछि जयपृथ्वी नगरपालिकामा सेती नदीको पानी लिफ्टिङ प्रविधिबाट भोपुरमाथिको डाँडामा तानेर घरघरमा वितरण गर्ने गरी सुरु भएको बृहत् पम्पिङ खानेपानी आयोजना प्रभावित भएको छ । सेती नदीले आफ्नो धार परिर्वतन गरेर खानेपानीको इन्टेक भएको ठाउँ भएर बग्न थालेको छ ।

इन्टेक भएर सेती नदी बगेपछि खानेपानीका सबै संरचनामा क्षति पुगेको छ । साना सहरी खानेपानी आयोजना निर्माणका लागि एसियाली विकास बैंक र नेपाल सरकारको ७० प्रतिशत आर्थिक सहयोग रहेको छ । यस्तै नगर विकास कोष र उपभोक्ताको ३० प्रतिशत लगानीमा यो आयोजना निर्माण हुन लागेको हो । जयपृथ्वी नगरपालिकाले पनि म्याचिङ फण्डवापत ४५ लाख रुपैयाँ सहयोग गरेको छ ।

लकडाउनका कारण प्रभावित भएको योजनाको निर्माणकार्य सेती नदीमा आएको बाढीले बगाएपछि झन प्रभावित भएको चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए । उनले भने, “सेती नदीको पानीलाई पम्पिङ सिस्टमबाट सदरमुकाम नजिकैको भोपुरमा ट्यांकी बनाई जम्मा गरिने छ । यसरी जम्मा भएको ट्यांकीको पानी जिल्ला सदरमुकाम चैनपुरलगायत आसपासका क्षेत्र देवल र भोपुरका करिब १ हजार ९५ घरधुरीलाई पाइप लाइनमार्फत खानेपानी वितरण गरिने योजना थियो । सेती नदीले आफ्नो धार परिर्वतन गरेर खानेपानीको इन्टेक भएको ठाउँतिर आएको छ । सेतीले इन्टेकमा पूरै क्षति गरेको छ ।” योजनाका लागि घरघरसम्म पाइप बिच्छाउने काम सकिएको र ठेकेदारसँंग निर्माणकार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको विष्टको भनाइ छ ।

आयोजना निमार्णका लागि २०१९ अप्रिल ७ मा ठेक्का सम्झौता भएको थियो । २२ करोड ९२ लाखको लागतमा निर्माण हुन लागेको आयोजनाको काम ठेकेदार कम्पनी आशिष निर्माण सेवा र सीएबी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । आयोजनाको काम २०७७ कात्तिक महिनामा सम्पन्न गरिसक्नु पर्ने भए पनि लकडाउनका कारण तोकिएको समायावधिमा काम सम्पन्न हुन सकेको छैन । आयोजनाको निर्माणकार्य सुरु भएलगत्तै लकडाउन भएको र दक्ष कामदार नेपालमा नहुँदा ढिलाइ भएको हो ।

लकडाउनका कारण आयोजनाको सम्पोइल साइट र रिजर्भ ट्यांकीको फाउण्डेसन निर्माण गर्नका लागि आवश्यक दक्ष जनशक्ति नेपालमा नभएको र मजदुरहरू भारतबाट ल्याउनु पर्ने हुँदा ढिलाइ भएको निर्माण कम्पनीका परामर्शदाता मकरबहादुर स्वाँरले बताए ।

सेती नदीले खानेपानीको इन्टेक बगाएसँंगै सदरमुकामबासीको पानी पिउने सपना झनै अधुरो भएको छ । घरमै पानी पाउने आशले जयपृथ्वी नगरपालिका–११ भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पैसा तिरेको तीन वर्षजति हुन थाल्यो । घरैमै पानीको धारा बन्ने भएपछि खुसी भएका जोशीले अहिलेसम्म पानी पाएका छैनन् । उनले भने, “मसँंग पैसा थिएन । अरुसंँग मागेरै भए पनि १० हजार रुपैयाँ तिरें । अहिलेसम्म धारामा पानी आएको छैन । घरसम्म पाइपलाइन पुगेको छ । तर धारामा पानी आएर कहिले पिउन पाइने हो थाहा छैन ।” आयोजना समयमै सकिएला र स्वच्छ पिउने पानी पाइएला भन्ने सदरमुकामवासीलाई बहुलीगाड र सेतीको पानी नै प्यारो हुने भएको छ ।

जयपृथ्वी नगरपालिका–९ देवल घर भएकी टिटा मगर धामीको गुनासो पनि उस्तै छ । उनले भनिन्, “खानेपानीको चरम अभाव खेपिरहेका थियौं । आयोजना बन्ने भएपछि मैले पनि १० हजार रुपैयाँ तिरेको करिब चार वर्ष जति हुन लाग्यो । ममात्र होइन हाम्रा टोलका धेरै मानिसले पैसा तिरेका हौं । तर चार वर्ष पुग्न लाग्दा पनि घरमा पाइप मात्र विच्छ्याएको छ ।” सेती नदीले खानेपानीको इन्टेक बगाएपछि वर्षौंदेखि खानेपानीको अभाव भोग्र्दै आएका सदरमुकामबासीको पानी पिउने सपना पनि सेतीमै बगेको छ ।

अहिले सदरमुकाम क्षेत्रमा चैनपुर खानेपानी योजनाले बजारमा दिनको आधा घण्टा पानी दिने गरेको छ । खानेपानीको चरम समस्या देखिएपछि सदरमुकामबासी दैनिक रूपमा बाउलीखोला र सेती नदीको धमिलो पानी प्रयोग गर्न बाध्य भएका छन् । कारोबार दैनिकबाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार