भेरी पम्पिङ आयोजना सञ्चालनका लागि झन्डै ६ अर्ब रूपैयाँ लाग्ने

वीरेन्द्रनगर : सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सुरु हुन लागेको भेरी पम्पिङ आयोजनाको टेन्डर दसैंअघि हुने भएको छ । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार आयोजनाको डीपीआर तयार भइसकेकाले चाँडै टेन्डर हुन थालेको हो ।

करिब ४ वर्षअघिदेखि भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउन विभिन्न निकायले अध्ययन र सर्भे गरे पनि काम हुन सकेको थिएन । असोजसम्म टेन्डरको काम भइसक्ने गरी प्रक्रिया थालिएको संस्थाका इन्जिनियर बालाराम तिवारीले बताए । उनका अनुसार दसैं अघिसम्म इन्टेक (मुहान) को कामका लागि टेन्डर गरिसक्ने भनेर खानेपानी मन्त्रालयको तयारी छ । भेरी नदीको पानी पम्पिङ गरी वीरेन्द्रनगरमा ल्याउने विश्व बैंकले पनि लगानी गर्ने जानकारी दिएको उनले बताए ।

लगानी गर्न सहमत भएसँगै विश्व बैंकका प्रतिनिधि र संघीय खानेपानी मन्त्रालयका टोली केही दिनअघि भेरी पम्पिङ आयोजनाको स्थलगत अध्ययन गरी फर्किएको छ । लगानी र आयोजनाबारे अध्ययन गर्न आएको टोलीले नगरपालिका र सरोकारवाला निकायसँग पनि छलफल गरेको थियो । आयोजना सञ्चालनका लागि झन्डै ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । भेरी नदीमा निर्माण हुने ट्यांकीका लागि मात्रै ५० करोड, नदीबाट अमृतडाँडासम्म पानी ल्याउन १ अर्ब ५० करोड र वीरेन्द्रनगरभित्र लाइन विस्तार गर्न ४ अर्ब ६७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको इन्जिनियर तिवारीले बताए ।

आयोजनाको काम हुन नसक्दा संघीय सरकारले आर्थिक वर्ष ०७५/७६ मा छुट्याएको ३ करोड र गत आर्थिक वर्षमा विनियोजन गरेको ६ करोड रुपैयाँ फ्रिज गएको थियो । प्रदेश सरकारले पनि आर्थिक वर्ष ०७६/७७ मा आयोजनाको लागि ५० करोड रुपैयाँ छुट्याएकोमा काम हुन सकेन । चालु आवमा कर्णाली सरकारले ५ करोड बजेट विनियोजन गरेको छ ।

यसअघि वीरेन्द्रनगरस्थित झुप्राखोलामा मिसिने भेरी किनारको दोभान (भेरी पुल र झुप्रा खोलाको बीच) मा पम्पिङ मेसिन राख्ने गरी सम्पवेल निर्माणको कामसमेत सुरु गरिएको थियो । उक्त स्थानमा इन्टेक निर्माण गर्दा पानी कम आउने सम्भावना देखेपछि गत वर्ष स्थान परिवर्तन गरिएको हो । खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत खटिएको टोलीले गत वर्ष गरेको अध्ययनमा उक्त दोभानदेखि ५ सय ७४ मिटर माथि पूर्वतर्फ भेरी नदीको किनारमा पम्पिङ मेसिन राख्ने गरी प्रस्ताव गरेको थियो । त्यहाँबाट ३ सय मिटरसम्म पानी पम्पिङ गरिसकेपछि बीचमा अर्को पम्पिङ मेसिन राख्ने गरी डीपीआर बनाइएको छ । साभार : चाँदनी कठायत कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार