मेलम्ची खानेपानी आयोजनामा जान नयाँ ट्रयाक खुलाईदै

काठमाडौ : असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महिना अवरुद्ध रहेको सडकको ट्रयाक खुलाउन थालेको हो ।

मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ किमी सडकमध्ये १४ किमीमा ‘ट्रयाक’ खुलिसकेको छ । अब चनौटेबाट अघि आठ किमी सडक खुलाउन बाँकी रहेको छ । चनौटेमा रातो पुल बगाएपछि त्यो भन्दा अगाडिको सडक खुलाउन नसकिएको हो ।

पुलबजारबाट ट्र्याक खोल्दै जाँदा चनौटेबाट अम्बाथानसम्म थप दुई पुल बगाएको छ । त्यहाँ बेलिब्रिज नबनाएसम्म यातायात चालू नहुने देखिएको छ । केही दिन पहिलेदेखि चनौटेसम्म सवारीसाधन चल्न थालेको छ । यहाँको न्वार खोलामा सडक कटान भएकाले अहिले साना गाडी मात्रै चलिरहेका छन् । त्यो मर्मत भएपछि ठूलो गाडी जान सक्नेछ । न्वार खोला क्षेत्रमा मर्मत गरिएपछि चनौटेसम्म नै ठूलो गाडी चल्नसक्ने बताइएको छ । चनौटेसम्म यात्रुबाहक बस चल्न थालेमा हेलम्बुका गाउँपालिकाका–४, ५, ६ र ७ का बासिन्दालाई सजिलो हुनेछ । केही समय पहिलेसम्म आवतजावत नै अवरुद्ध भएकामा अहिले काठको पुल राखेर चालू गराइएको छ ।

पहिलो पटक असार १ गते आएको बाढीले आयोजनामा क्षति पुर्‍याएको थियो । त्यतिबेला झण्डै रु एक अर्बको क्षति भएको अनुमान गरिएको थियो । साउन महिनामा पटकपटक बाढी जाँदा झण्डै रु दुई अर्ब ४० करोडको क्षति भएको आयोजनाले जनाएको छ । प्रारम्भिक अनुमानका आधारमा क्षतिको अनुमान गरिएको भए पनि प्राविधिक आयोजनास्थलसम्म जान नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता प्रवक्ता रमेश न्यौपानेले बताउनुभयो । उहाँका अनुसार पहिलेको पहुँच सडक पूरै पुरिएकाले नयाँ ट्र्याक खुलाउन लागिएको छ । पहिले सडक भएको ठाउँको नजिकै नै हुने गरी सडक खुलाइने उहाँले बताउनुभयो ।

आयोजनास्थलमा मर्मतको काम अघि बढाउन सुरु गरिए पनि त्यसमा सरकारको आफ्नै लगानी हुने कि दातृ निकायसँग सहयोग मागिने भनी टुङ्गो लाग्न सकेको छैन । आयोजनामा बैंकको सहयोग भएकाले पनि उसको सहयोग लिने कि सरकारको खर्च छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । पहिले कति खर्च लाग्छ भनी आयोजनाले अध्ययन गर्नेछ । उहाँले भन्नुभयो ‘त्यहाँ पुगेर समय र रकम थाहा भएपछि नै स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने थाहा हुन्छ ।’

आयोजनामा मात्रै नभएर त्यहाँका अरु पूर्वाधारमा क्षति पुगेकाले मन्त्रालयले सरोकार राख्ने निकायसँग छलफल अघि बढाएको छ । फरक फरक पूर्वाधारको काम फरक मन्त्रालय र निकायले गर्नुपर्ने प्रवक्ता न्यौपानेले बताउनुभयो । सडक, पुल, खानेपानी सबै आयोजना एक्लैले गर्न नसक्ने भएकाले सबैको संयोजनमा काम गर्नुपर्ने उहाँको भनाइ छ ।

मेलम्ची आयोजनामा भएको क्षतिको विस्तृत अध्ययनका लागि बैंकको सहयोगमा भौगर्भिक अध्ययन सुरु भएको छ । यो ठाउँमा पहिरो यो वर्ष मात्रै आएको हो कि अरु वर्षमा पनि खतरा छ भनेर अध्ययन गर्न लागिएको हो । यहाँको भूगोल, वातावरणीय अवस्थाका बारेमा अध्ययन गराउन बैंकलाई मन्त्रालयले अनुरोध गरेको थियो । एडिबीले विशेषज्ञ सहितको टोली राखेर अध्ययन गरिरहेको छ ।

गत वर्ष उपत्यकावासीले केही महिनासम्म मेलम्चीको पानी उपभोग गर्न पाएका थिए । यो वर्षभित्रमा पुनःपानी ल्याउने सरकारको योजना छ । सडक, पुल लगायतका पूर्वाधार निर्माणमा समय लाग्ने भए पनि जतिसक्दो चाँडो पानी ल्याउन लागिने प्रवक्ता न्यौपानेले बताउनुभयो। पानी ल्याउने र अरु काम सम्पन्न गर्ने फरक समय लाग्ने देखिएको छ । तत्काल पहुँच सडक बनाउन सकिएमा आयोजनाका संरचनामा रहेका अवरोध हटाएर पुनःपानी ल्याउन सकिन्छ । अहिले हेर्दा सडक र पुल सम्पन्न गरिसक्न लामो समय लाग्न सक्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार