काठमाडौं : ‘कोरोना पनि दशैं मनाउन उस्कै सहरतिर गए जस्तो छ’ बजारमा देखिएको भीडभाड प्रति इंगित गर्दै नुवाकोट मेघाङका रामकुमार ब्लोनले भन्नुभयो । उहाँको भनाइको आशय थियो कि मानिसहरु कोरोनासँग डराउन छाडे । बजार, सपिङ मल, अस्पताल, बस जताततै मानिस कोचाकोच गरेर हिड्न थाले ।
कोरोना केही हदसम्म मत्थर भएको त हो, तर कोरोना पूर्ण रुपमा निर्मूल भईसकेको छैन । अझै पनि कोरोनाको जोखिम हटि नसकेकाले जनस्वास्थ्यका मापदण्डहरु अपनाउनै पर्छ ।
यिनै सन्देश प्रवाह गर्न नेपाल मास्क अभियानको टोलीले सपिङ मल, बजारक्षेत्र, फुटपाथ र चोक चोकमा पुगेर विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिरहेको छ । दशैलाई लक्षित गरी काठमाडौबाट बाहिरिने नाकाहरु तथा भीडभाड हुने क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिसकेको नेपाल मास्क अभियानको टोलीले तिहारलाई लक्षित गरी थप कार्यक्रमहरु सशक्त बनाउन थालेको हो।
अभियान अन्तर्गत नयाँ बानेश्वर चोक, असन, इन्द्रचोक, सुनधारा, न्यूरोड र दरबारमार्गमा कार्यक्रम सञ्चालन गरिएको अभियानकी सुपरभाइजर सबुना गमालले जानकारी दिनुभयो । कोभिड संक्रमणबाट बच्न मास्कलाई सही तरिकाले प्रयोग गर्ने र सधैं प्रयोग गर्ने जानकारी प्रदान गर्न विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार टोलीले जनस्वास्थ्यका मापदण्डहरु अपनाउन माईकिङ गर्ने, मास्क वितरण गरी सही तरिकाले मास्क लगाउन सिकाउने, मास्क सही तरिकाले नलगाउँदा हुन सक्ने जोखिमबारे जानकारी गराउने र प्लेकार्ड प्रदर्शन गर्ने लगायत क्रियाकलापहरु गरिन्छ ।
प्लेकार्डमा मास्कको प्रयोग गर्न प्रेरित गर्ने खालका नाराहरु ‘कोरोना संक्रमबाट बच्ने एउटा विकल्प मास्क पनि हो’ ‘आफ्नो दायित्व पूरा गरौं, मास्क लगाऔं, सुरक्षित रहौं’ ‘चिउँडोको मास्कले कोरोना रोक्दैन’ ‘मास्क लगाएर पनि फोटो राम्रो आउँछ’ ‘आफूले प्रयोग गरेको मास्क अरुलाई दिने वा साट्ने नगरौं’ जस्ता सन्देशहरु लेखिएका हुन्छन् ।
नेपाल मास्क नेपाल मास्क : कोभिड १९ प्रतिकार्य परियोजना बिल र मेलिन्डा गेट्स फाउण्डेशन (BMGF) को आर्थिक सहयोगमा येल विश्वविद्यालय, इनोभेटिभ पोबर्टी एक्सन (आईपीए), CCMC, Mayors Forum, नगरपालिका/गाउँपालिका संघ र काठमाडौ महानगरपालिकाको सहकार्यमा C-19 RAT द्वारा कार्यान्वयन भईरहेको छ ।
अभियानका थप फोटाहरु
फोटाहरु : सबुना गमाल