‘एरोबिक बायोकम्पोष्टिङ टोईलेट’: सरसफाइ क्षेत्रको नवीनतम प्रविधि, जसको प्रयोगले सरसफाइमा क्रान्ति ल्याउन सक्छ (भिडियो वार्ता)

काठमाडौ : नेपालको सरसफाइ अभियान विश्वमै नमुना र अनुकरणीय मानिन्छ । सन् २०११ देखि २०१९ सम्म आन्दोलन झैं चलेको सरसफाइ अभियानमा लाखौं घरमा शौचालय निर्माण गरी राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्न सफल भएको देश हो नेपाल ।

सरसफाइ क्षेत्रमा नेपालले गरेको उत्कृष्ट अभ्यासलाई विदेशमा समेत अबलम्बन गर्ने गरिएको छ । तर नेपाली इन्जिनियरले विदेशमा प्रबर्तन गरेको नवीन प्रविधिको भने विदेशमा जत्ति मूल्य र मान्यता छ, नेपालमा भने खासै चर्चा हुने गरेको छैन ।

त्यो बिषय हो ‘एरोबिक बायोकम्पोष्टिङ टोईलेट’ । नेपाली इन्जिनियर विमल तण्डुकारले अफ्रिकन मुलुक घानामा सन् २०१३ मा अवधारणा तयार गरी सन् २०१५ मा कम्बोडियामा सफल परिक्षण गरिसकेको ‘एरोबिक बायोकम्पोष्टिङ टोईलेट’ नेपालमा भने हालसम्म पनि अबलम्बन हुन सकेको छैन । जसरी प्राकृतिक वातावरणमा जंगल वा खेतबारीको स्याउला, घाँसपात कुहिएर माटो बन्छ । त्यही प्रक्रिया शौचालयको डाईजेष्टरभित्र हुन्छ र दिसालाई पनि कुहाएर माटो बनाईन्छ तर बाहिरी बातावरण प्रदुषण हुनबाट जोगाउँछ ।

यसरी विकास भएको थियो ‘एरोबिक डाइजेष्टर’ को अवधारणा 

सन् २०१३ मा अफ्रिकन मुलुक घानामा एसएनभीले शौचालय प्रतियोगिताको आयोजना गरेको थियो । नेपालका स्यानिटेशन ईन्जिनियर बिमल तण्डुकार एक बर्ष अघि देखि नै घानामा एसएनभीकै कर्मचारीको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

शौचालय बनाएपछि दिसापिसाब जम्मा गर्नका लागि सेफ्टिक ट्याङ्क बनाउने प्रचलन सबै देशहरुमा भईरहेकै थियो । त्यसको विकल्प कसैले पनि दिन सकिरहेको थिएन । धेरै पहिले देखि नै दुई खाल्डे चर्पी या त सेफ्टिक ट्याङ्क भन्ने कुराहरु आईरहेकै थियो । ‘सरसफाइको क्षेत्रमा नयाँ केही गर्न सकिन्छ कि ?’ यो कुरा इन्जिनियर तण्डुकारको मथिंगलमा घुमिरह्यो ।

उहाँको दिमागमा दुईटा कुरा खेलिरह्यो । पहिलो थियो, किचनको फोहोरलाई डिकम्पोज गर्ने प्रविधि र अर्को चाहिं बायोस्याण्ड फिल्टरले पानी शुद्धिकरण गर्ने अवधारणा ।

‘यी दुईटालाई मर्ज गरेर शौचालयमा यही प्रविधि रुपान्तरण गरे के हुन्छ ?’ उहाँको दिमागले यही दुईटा अवधारणालाई एकीकृत गरी शौचालयमा अबलम्बन गर्ने निधो गर्‍यो । तण्डुकार भन्नुहुन्छ ‘ठ्याक्कै किचन वेष्टलाई डिकम्पोज गरेर भोल्यूमलाई घटाएर एरोबिक डिकम्पोज गर्दा गन्ध पनि आउँदैन । मानिसका लागि पहिलो समस्या त गन्ध आउने समस्या हो ।’

सेफ्टिक ट्याङ्कमा सबैभन्दा मुख्य समस्या भनेको ९३ प्रतिशत पानी र ७ प्रतिशत मात्र दिसाको लेदो हुने भएकाले ९३ प्रतिशत पानीलाई छुट्याउन सक्यौं भने प्रशोधन गर्ने भनेको त ७ प्रतिशत मात्र हो । यो कुराले पनि उहाँको दिमागमा क्लिक गर्‍यो । तण्डुकार भन्नुहन्छ ‘अब बायोस्याण्ड फिल्टरमा जुन एउटा लेयरमा चाहिं व्याक्टेरियाहरु हुन्छ । किनभने खानेपानी वायोस्याण्ड फिल्टरमा छानेर पिउदै आएका हौ ।’

यही तथ्यलाई शौचालयको डिजाइनमा ढालेर विश्वव्यापी शौचालय प्रतियोगितामा सामेल गराईएको अवधारणाले अन्ततः प्रथम स्थान हासिल गर्न सफल भयो ।

घानामा अवधारणाको विकास, कम्बोडियामा निकास

शौचालयको विश्वव्यापी प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएपनि उक्त अवधारणालाई घानामा भने कार्यान्वयन गर्न नपाएको तण्डुकारले बताउनुभयो । सन् २०१४ मा त्यहाँबाट कम्बोडिया जानुपरेको र कम्बोडियामा पनि अरु अरु काम नै बढी प्राथमिकतामा परेपछि एरोबिक बायोकम्पोष्टिङ टोईलेटलाई साँच्चिकै फिल्डमा प्रयोग गरेर प्रमाणित गर्न नपाएको उहाँको भनाइ छ ।

उहाँका अनुसार एसएनभीसँगको सम्झौता सकिन सकिन लागेको थियो । त्यही बेला उक्त कन्सेप्टलाइ जसरी भएपनि कार्यान्वयन गर्नुपर्छ भन्ने लागेपछि उहाँले त्यहाँ सन २०१५ को सेप्टेम्बर र नोभेम्बरमा इन्स्टल गर्नुभयो । त्यही बर्षको डिसेम्बरसम्म उहाँको सम्झौता सकिदै थियो ।
अनुगमनको क्रममा एरोबिक बायोकम्पोष्टिङ टोईलेट सफल भएको प्रमाणित भयो ।

 

एरोबिक बायोकम्पोष्टिङ टोईलेटको संरचना कस्तो हुन्छ ? यसले कसरी काम गर्छ ?

एरोबिक बायोकम्पोष्टिङ टोईलेटका प्रबर्तक स्यानिटेशन इन्जिनियर बिमल तण्डुकार अन्य शौचालयमा जस्तै यो प्रकृतिको शौचालयमा पनि शौचालय घर, प्यान र पाइपको माध्यमबाट सेप्टिक ट्याङ्कसम्म दिसा जाने संरचना नै हुने बताउनुहुन्छ । तर शौचालयको प्यानबाट जुन सेप्टिक ट्याङ्कीमा दिसा जान्छ त्यहाँ चाहिं मिडिया फिल्टर अर्थात गिट्टी, बालुवा, ग्राभेल र अरु पनि अर्ग्यानिक वस्तुहरुको विभिन्न तह बनाईन्छ । जुन ठाउँमा बनाइन्छ, त्यहीको बीउ माटो पनि चाहिने उहाँको भनाइ छ ।

फरक-फरक वातावरणमा छुट्टा छुट्टै किसिमको व्याक्टेरिया हुने भएकाले जुन ठाउँमा बनाईन्छ त्यही ठाउँको ब्याक्टेरिया पनि भित्र लगेर डाइजेष्टरमा हालिन्छ र उनीहरुलाई हावाको उपस्थितिमा एक्टिभेट गरिन्छ । उनीहरुको खाना भनेको अर्ग्यानिक म्याटर दिसा नै हो । फिल्टर मिडियामा तह – तह गरेर मिलाएर राखेपछि बाहिरको वातावरण जस्तै हुन्छ । जसरी बाहिर वातावरणमा दिसा फाल्दा डिकम्पोज हुन्छ, त्यहाँ भित्र पनि त्यसरी नै डिकम्पोज हुन्छ ।

तर बाहिर चाहिं झिंगा उडेर जाने र संक्रमण फैलाउने हुन्छ भने त्यसभित्र झिंगा लगायत किटाणुहरु बाहिर आउन पाउँदैन । तिनीहरु भित्रभित्रै बस्छ र भित्रै मर्छ पनि । त्यसरी माथि भएका ठोस पदार्थहरु (दिसाजन्य फोहोर) डिकम्पोज हुन्छ । अनि फिल्टर मिडियाबाट बालुवा, ग्राभेल हुँदै पानी जत्ति बायोस्याण्ड फिल्टरकै कन्सेप्ट अनुसार छानिदै, छानिदै ठ्याक्कै जमिनको सतहमा सोसिन थाल्छ । त्यो क्रममा पनि केही व्याक्टेरियाहरु मर्छन् र फिल्ट्रेसन भईसकेको पानी जमिनले सोस्ने गर्दछ वा ठूलो मात्रामै भएमा यसलाई सिंचाईको रुपमा पनि प्रयोगमा ल्याउन सकिन्छ ।

यसबारे विस्तृतमा थाहा पाउन हेर्नुस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार