नौमुले खानेपानीमा नयाँ नेतृत्व, सोबितराम कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

काठमाडौ : काठमाडौंको किर्तिपुर नगरपालिका वडा नं. ६ स्थित नौमुले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा सोबित राम कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिको आठौं साधारण सभाले आगामी दुई बर्षका लागि कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । रिक्त रहेको सहसचिव र एक जना सदस्य भने पछि मनोनयन गर्ने गरी कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।


यस्तै उपाध्यक्षमा रामचन्द्र खड्का, सचिवमा उज्जल महर्जन र कोषाध्यक्षमा अशोक थापा सर्वसम्मत चयन हुनुभएको छ । सदस्यहरुमा सुरेन्द्रबहादुर थापा, बद्री थापा, जयराम कार्की, भोलानाथ खड्का र श्रीजना विसुंखेलाई चयन गरिएको छ ।

यस अघि नै हुनुपर्ने साधारण सभा कोरोना महामारीका कारण दुई बर्ष ढिला भएको हो । साधारण सभाको उदघाटन सत्रमा निवर्तमान कोषाध्यक्ष संगम शर्माले आर्थिक बर्ष २०७४/०७५ देखि २०७७/०७८ सम्मको आर्थिक प्रतिवेदन प्रस्तुन गर्नुभयो । २०६३ सालमा वासुदेव केसीको अध्यक्षतामा स्थापना भएको नौमुले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भुत्तखेल, नेपालटोल, कार्कीगाउँ, महतगाउँ, लप्सीबोट, टौदह, नगरकोटीटोल, चुइगाउँ, जलबिनायक, खत्रीछाप लगायत गरी १ हजार ५० घरधुरीमा खानेपानी सेवा प्रदान गर्दै आएको छ ।

 

वडा नं. ६ लाई खानेपानी समस्याबाट मुक्त वडा घोषणा गरिने

किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले वडा नं. ६ लाई खानेपानीको समस्याबाट मुक्त वडा घोषणा गर्ने बताउनुभयो । साधारण सभाको प्रमुख अतिथि समेत रहेका प्रमुख महर्जनले किर्तिपुरको समुच्च विकासका लागि वडा नं. ६ लाई खानेपानीको समस्याबाट मुक्त वडा घोषणा गरी बचेको स्रोतबाट अमृत जस्तो पानी वरपरको समुदायमा वितरण गरिने बताउनुभयो ।

उहाँले खानेपानीकै अर्को प्रसंगमा नौमुले खानेपानीले बनाएको हालको डिपीआर संसोधन गर्नुपर्ने समेत बताउनुभयो । चोभारको डाँडालाई डिपीआरमा नसमेटेको भन्दै उहाँले डिपीआरमा पनि चोभारको डाँडालाई खानेपानी सेवा उपलब्ध गराउने गरी संसोधन गर्नुपर्ने बताउनुभयो ।

‘हामी २४ सैं घण्टा पानी खाने, चोभारको डाँडामा हप्ताको एक दुई घण्टा मात्र पानी पाउने अवस्था हो भने यस्ले सामाजिक न्याय हुँदैन’ प्रमुख महर्जनले भन्नुभयो ‘मान्छे भएपछि सामाजिक न्यायको सिद्धान्तलाई अंगीकार गर्नुपर्छ । मैले धेरै खाने, सँगै भएकाले चाहिं खानै नपाउने अवस्था हो भने यसले विभेद सिर्जना गर्छ ।’ उहाँले भन्नुभयो ।
यस्तै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी र सरसफाइ आधारभूत मानवअधिकारको बिषय भएकाले यो सर्वसुलभ र सबैको पहुँचमा हुनुपर्ने बताउनुभयो । उहाँले खानेपानी जस्तो आधारभूत आवश्यकताको बिषयलाई सबैले आर्थिक रुपमा धान्न सक्ने किसिमले महसुल निर्धारण हुनुपर्ने बताउनुभयो ।


साधारण सभामा किर्तिपुर नगरपालिका ६ नं. वडाका अध्यक्ष न्हुच्छे बहादुर महर्जनले आफ्नो वडाका जनतालाई निशुल्क खानेपानी उपलब्ध गराउन प्रयत्नशील रहेको बताउनुभयो । उहाँले यसभन्दा अगाडिको समय खानेपानीको पूर्वाधार निर्माणमा मात्र खर्च गरिएको र अब पूर्वाधार तथा पानीको उपलब्धता बढेकाले निशुल्क खानेपानी उपलब्ध गराउने अभियानमा लागेको र यो सम्भव पनि भएको बताउनुभयो ।

‘खानेपानी उपभोक्ता समिति र वडा कार्यालयकै सहकार्यमा यो कार्य सम्भव छ । जत्ति उपभोग गरेपनि महसुल नलाग्ने भन्ने होइन कि, एउटा निश्चित युनिट सम्मको लागि निशुल्क गर्ने व्यवस्था अब चाँडै हुन्छ’ वडाध्यक्ष महर्जनले भन्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार