शताब्दी पुरुष सत्यमोहन जोशीले गरे ढुङ्गेधाराको अवलोकन

भक्तपुर : शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको ढुङ्गेधारा लगायत पुरातात्विक संरचनाको अवलोकन गर्नुभएको छ । शताब्दी पुरुष जोशीले शङ्खधर चोकमा मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको शङ्खधर पार्कका पुरातात्विक एवं नवनिर्मित संरचनाको अवलोकन गर्नुभएको हो ।

नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शङ्खधर पार्कमा निर्माण भएका संरचना बारेमा जोशीलाई जानकारी गराउनुभएको थियो । उहाँले फोहर फाल्ने डाँडो कसरी आकर्षक पार्कमा परिणत पृष्ठभूमि र अब बन्ने शङ्खधर साख्वाःको सालिक, शङ्ख लगायतका संरचनाका विषयमा पनि जानकारी गराउनुभयो ।

जोशीले जुनसुकै स्थानका ढुङ्गेधारासँग राजा भगिरथको कथासँग महादेव र गङ्गाको किस्सा जोडिएको बताउनुभयो । शङ्खधर पार्कमा निर्माण भएका ढुङ्गेधाराका बारेमा जानकारी लिँदै उहाँले भन्नुभयो ‘राजा भगिरथले कैलाशमा गएर महादेवको तपस्या गर्दै पितृ उद्धारका कार्य गर्न बर मागेपछि महादेवले आफ्नो शिरबाट गङ्गा बहाएपछि झरनाको रुपमा पानी बग्यो र त्यही पानी जहाँ जहाँ बगेर गयो त्यहाँ गङ्गाका रुपमा पुजियो ।’

जोशीले मध्यपुरथिमिको कला, संस्कृतिका साथै नेपालको महत्वपूर्ण कला संस्कृतिका बारेमा पनि चर्चा गर्नुभयो । अवलोकनका क्रममा नगर प्रमुख श्रेष्ठसँगै मध्यपुरथिमिका पूर्व नगर प्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले पनि शङ्खधर पार्कको महत्व र मध्यपुरथिमिमा जनप्रतिनिधि आएपछि भएको सम्पदा संरक्षण तथा विकासका बारेमा जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार