नेपालमै पहिलो पटक महालक्ष्मी नपामा एकीकृत नगर सूचना प्रणाली स्थापना

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकामा नेपालमै पहिलो पटक एकीकृत नगर सूचना प्रणाली (Integrated Municipal Information System) एवं विद्युतीय भवन निर्माण इजाजत प्रणाली (Electronic Building Permit System) स्थापना गरिएको छ । नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले एकीकृत नगर सूचना प्रणाली तथा विद्युतीय भवन निर्माण इजाजत प्रणाली (Electronic Building Permit System) को एकैसाथ उदघाटन गर्नुभयो ।

बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनको आर्थिक सहयोग एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड सँगको सहकार्यमा नगरपालिकाको सरसफाइ लगायत अन्य तथ्याङ्क एवं सूचनालाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले एकीकृत नगर सूचना प्रणाली (Integrated Municipal Information System) स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले जानकारी दिनुभयो ।

महालक्ष्मी नगरपालिकाले सन् २०१९ देखि ‘दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ २४५२१ नमुना परियोजना’ सञ्चालन गरिरहेको छ । सोही परियोजना अन्तर्गत एकीकृत नगर सूचना प्रणालीको स्थापना गरिएको हो ।

एकीकृत सूचना व्यवस्थापन प्रणाली स्थापना भएपछि महालक्ष्मी नगरपालिकाको सम्पूर्ण तथ्याङ्क प्रणाली व्यवस्थित हुने र यसले योजना निर्माण, बजेट विनियोजन एवं कार्यान्वयनमा सघाउ पु¥याउने महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले बताउनुभयो । आईएसओ २४५२१ नमुना परियोजना अन्तर्गत महालक्ष्मी नगरपालिकाले मानवमूत्रीय व्यवस्थापन विनियम २०१९ निर्माण गरी लागु गरिसकेको छ भने यसको कार्यान्वयनका लागि नगरपालिकामा स्यानिटेसन सेल गठन भईसकेको छ ।

एकीकृत सूचना व्यवस्थापन प्रणालीमा के कस्ता तथ्याङ्क हुन्छन् ?

एकीकृत सूचना व्यवस्थापन प्रणालीमा भवन सँग सम्बन्धित सूचनाहरु राखिएका हुन्छन् । जसमा घरपरिवारको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ । ती मध्ये पनि आवासीय तथा व्यवसायिक के कति छन् ? निजी तथा व्यवसायिक दुवै प्रयोजनका लागि निर्माण गरिएका कति छन् ? के कति राजश्व बुझाउँछन् ? लगायतको सूचना उल्लेख गरिएको हून्छ । यसले कर संकलनमा पनि सहयोग पुर्‍याउने इनोभेटिभ सोलुसन्सका शैलेस श्रेष्ठले जानकारी दिनुभयो । यस्तै स्कुल तथा कलेजको विवरण पनि सूचना प्रणालीमा समेटिएको छ ।

.एकीकृत सूचना प्रणालीमा राखिएको अर्को बिषय हो, शहरी व्यवस्थापन सूचना प्रणाली । जसमा सडक, नाली तथा ठोस फोहोरमैलाको सूचना हुन्छन् । यस्तै सरसफाइ प्रणाली अन्तर्गत ढल प्रणालीमा जडित घरपरिवारको विवरण, सेप्टिक ट्याङक भएको घरधुरी, होल्डिङ ट्याङ्क मात्र भएको घरधुरी, स्थलगत रुपमै सुरक्षित तरिकाले सरसफाइ गरेको घरधुरी, खाल्डे चर्पी भएको घरधुरी एवं शौचालय नै नभएको घरपरिवार लगायत सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ ।

एकीकृत सूचना व्यवस्थापन प्रणालीले नगरपालिकामा तथ्याङ्कहरुको अभावलाई हटाउने र पर्याप्तता प्रदान गर्ने नगरपालिकाको अपेक्षा छ । नगरक्षेत्र भित्रको सम्पूर्ण नागरिकको घरधुरी स्तरको तथ्याङ्क हुने भएपछि शहरीव्यापी समावेशी सरसफाइको अवधारणालाई कार्यान्वयन गर्न पनि सजिलो हुने मेयर श्रेष्ठले अपेक्षा गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार