सफाइकर्मीका समस्या : हात काटेर टाँका लगाउने देखि सामाजिक तिरस्कारसम्म

♦ झापाकी सीता राउतको दाहिने हातमा पन्ध्र टाँका लगाईएको छ । फोहोरमैला छुट्याउने क्रममा गत साउनमा हात काटिएपछि उहाँ करिब दुई महिना थला पर्नुभयो । कोठामै बसेर हातमुख नजुर्ने भएपछि दुई महिनापछि काममा फर्केपनि हात पाकेपछि झनै समस्या झेल्नुपरेको राउतले सुनाउनुभयो ।

♦  इलामकी बर्षा लिम्बुको पनि दुई बर्ष अघि हात काटिएको थियो । हात काटिएपछि उहाँ पनि दुई महिना भन्दा बढी समय काममा आउन नपाएको उहाँले बताउनुभयो । फोहोरमा मिसाएर पठाएका फुटेका सीसा, सिरिन्ज, हाडको थाल, गिलास जस्ता धारिलो वस्तुले बेला बेलामा हात काटिरहने र यसले गर्दा शारीरिक कष्ट, आर्थिक क्षति र दिर्घकालीन रोगको शिकार हुनुपर्ने जोखिम झेल्नुपरेको उनीहरु बताउँछन् ।

फोहोरको बोरा भित्र के हुन्छ थाहा नहुने र जत्ति नै सतर्क हुँदा पनि हात काटिने समस्या दोहोरिरहने सीता राउतले बताउनुभयो । हात काटिएपछि काम गर्न नसक्ने र काम नभएपछि आयआर्जनको बाटो टुट्ने भएकाले कोठामा बस्दा मानसिक तनाव समेत हुने गरेको उहाँको भनाइ छ ।

फोहोर वर्गीकरणका क्रममा अनेकन समस्या हुने र चोटपटक लाग्दा उपचार खर्च समेत आफैले व्यहोर्नुपर्ने इलामकी बर्षा लिम्बुले बताउनुभयो । त्यस्ता धारिला बस्तुहरु फोहोरमा पठाउँदा कागज तथा कपडाले बेरेर पठाएको खण्डमा आफूहरु फोहोर खोल्ने क्रममै सजग हुने र चोटपटक लाग्नबाट जोगिने उहाँले बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

फोहोर वर्गीकरण गर्ने सफाइकर्मीका समस्या र चुनौती

घर घरबाट संकलन गरेको फोहोरलाई वर्गीकरण केन्द्रमा लगेर छुट्याएपछि अन्त्यमा कामै नलाग्ने फोहोर मात्र ल्याण्डफिल साइट लैजान्छ । बर्गीकरण केन्द्रमा सफाइकर्मीहरुले फोहोरको प्रकृति अनुसार बर्गीकरण गर्छन् । त्यस क्रममा थुप्रै समस्या र चुनौतीहरु रहेको सफाइकर्मीहरु बताउँछन् ।

१. सामाजिक तिरस्कार

इलामकी बर्षा लिम्बुले सामाजिक रुपमा धेरै तिरस्कार सहि सक्नु भएको छ । ‘यस्तो काम गर्नु भन्दा त बरु भोकै बसिन्छ’ भन्ने सम्मका मानिस पनि उहाँले भेटाउनु भएको छ । तर कतिपय बुझ्ने मानिसले भने जुनसुकै काम भएपनि एउटा पेशा हो । कामको सम्मान गर्नुपर्छ भनेर भन्ने गरेको उहाँले सुनाउनुभयो । शिक्षा नभएको मानिसले खासै अरु काम पनि नपाउने भएकाले आफू सरसफाइ क्षेत्रलाई नै आफ्नो कार्यक्षेत्र मानेर काम गरिरहेको उहाँले बताउनुभयो ।

२. विभिन्न रोगको संक्रमण हुने जोखिम

अस्पतालजन्य फोहोरको व्यवस्थापन अलग्गै गर्नुपर्ने, अन्य सामान्य फोहोरसँग मिसाउन नपाईने कानुनी व्यवस्था भएपनि अस्पतालजन्य फोहोरहरु समेत मिसाएर पठाउने गरिएको इलामका बर्षा लिम्बुको अनुभव छ । उहाँका अनुसार फोहोर छुट्याउने क्रममा सिरिन्जहरु भेटिनु सामान्य कुरा हो । सिरिन्जहरुले घोच्ने, रगत बग्ने, घाउचोटक लाग्ने भईरहन्छ । सामान्य चोटपटक लाग्दा हिउँदको समयमा खासै समस्या नभएपनि बर्षा (गर्मीको समय) मा धेरै पाक्ने, लामो समयसम्म निको नहुने जस्ता समस्या हुने गरेको उहाँको अनुभव छ ।

३. मास्क, पञ्जा, गम्बुट लगायत स्वास्थ्य सुरक्षा सामग्रीको अभाव

फोहोर वर्गीकरणका क्रममा मास्क, पञ्जा, गम्बुट जस्ता सामग्रीहरु स्वास्थ्य सुरक्षाका लागि अनिवार्य लगाउनुपर्ने भएपनि धेरैजसो सफाइकर्मीले पातलो पञ्जा र गम्बुट लगाएपनि मास्क भने लगाउँदैनन् । काम गर्ने शीलशीलामा निसास्सिए जस्तो हुने र सास फेर्नै गाह्रो हुने भएकाले मास्क नलगाएको उनीहरु बताउँछन् । अस्पतालमा डाक्टरहरुले प्रयोग गरिसकेको पञ्जा पुनः प्रयोग गरिएको र सधैं नयाँ पञ्जा किनेर साध्य नहुने उनीहरुको भनाइ छ ।

४. असुरक्षित कपडा फेर्ने स्थल

दिनभरि फोहोरमा काम गरेपछि घर फर्किने बेला कपडा फेर्ने ठाउँको पनि अभाव छ । ठाउँकै अभावमा सानो कोठामा महिला पुरुष सबैको कपडा राख्ने गरिएको र घर जाने बेला महिला पुरुष दुवैले पालैपालो गरी कपडा फेर्ने गरिएको झापाकी सीता राउतले बताउनुभयो । ‘यो असुरक्षित छ, हामीले कपडा फेर्ने बेला पुरुषहरुलाई बाहिर पठाउने हो, अनि हामीले फेर्ने हो ।’ उहाँले भन्नुभयो ।

५. शौचालय, नुहाउने स्थान र हात धुने स्थानको पनि अभाव

फोहोरमैला बर्गीकरण गर्ने ठाउँमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय छैन । शौचालय पनि फोहोर र दुर्गन्धित छ । दिनभरि फोहोरमा काम गरेपछि घर जाने बेला नुहाएर जाउँ भने नुहाउने ठाउँ र पानीकै अभाव छ । यस्तै हात धुने स्थानको पनि अभाव छ । शौचालयकै राम्रो प्रबन्ध नभईरहेको बेला प्याड फेर्ने, प्याड व्यवस्थापन गर्ने कुरा धेरै परको कुरा रहेको महिला सफाइकर्मीहरु बताउँछन् ।

के चाहन्छन् उनीहरु ?

सबैभन्दा पहिलो कुरा फोहोरमैलामा काम गरे पछि विभिन्न रोगको संक्रमण भईरहने उनीहरुको अनुभव छ । सानातिना बिमारको उपचार आफैले गर्न सक्षम भए पनि जटिल किसिमका रोगहरु लागिहाल्यो भने आफूहरुको क्षमताले नभ्याउने भएकाले स्वास्थ्य बीमा हुनुपर्ने या त सफाइकर्मीलाई औषधी उपचारमा छुट जस्ता व्यवस्था हुनुपर्ने उनीहरु बताउँछन् ।

यस्तै खानेपानी, सुरक्षित तवरले कपडा फेर्न मिल्ने ठाउँ, व्यक्तिगत सरसफाइका लागि आवश्यक सुविधा, शौचालयको राम्रो प्रबन्ध, प्याडको व्यवस्था भईदिएमा पनि आफूहरुलाई निक्कै सहज हुने उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार