पानीकै लागि हानथाप हुने वस्तीमा चौबीसै घण्टा पानी

धनगढी : चार महिना अघिसम्म गोदावरी नगरपालिकाको वडा नम्बर १० ओलानीमा पानीका लागि टोलटोलमा हानथाप हुन्थ्यो । टोलभरिका लागि दिनमा एक पटक मात्रै पानी आउने धारा हुन्थ्यो । त्यही धारामा महिलाहरू पानी कुरेर बस्थे । पानी आएपछि तँछाड मछाड गर्दै पानी भर्थे । पानी भर्ने क्रममा भनाभन पनि हुन्थ्यो ।

वडा नम्बर ११, कृष्णमन्दिर टोलकी पार्वती  बिक भन्नुहुन्छ  “एक दुई गाग्री पानीका लागि टोलभरिका दिदीबहिनीसँग झगडा भइराख्थ्यो, सधैंको कचकचले दिक्क बनाइसकेको थियो । अहिले त्यो दिक्दारी पनि छैन । पानी पिउन पाउँदैन कि भन्ने पिर पनि छैन ।”

पानीकै हाहाकार हुने ओलानीका घर घरमा अहिले खानेपानी पुगेको छ । गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा पर्ने ओलानीमा विगत चार महिनादेखि निरन्तर खानेपानी आपूर्ति भइरहेको हो ।

गोदावरी नगरपालिका–११, वीरेन्द्रपुरमा ८ सय परिवारलाई धान्ने गरी गोदावरी खानेपानी योजना र सोही वडाको लिउसन टोलमा तारा खानेपानी योजना निर्माण भएपनि ओलानीका बासिन्दा घरघरमा पानी पुगेको हो । प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गोदावरी नगरपालिका र विभिन्न दातृ संस्थाको सहयोगमा वडा कार्यलय मार्फत खानेपानी योजना निर्माण भएको हो । वडा नम्बर ११ का निवर्तमान वडाध्यक्ष शिव विकले सबै वडाबासीलाई शुद्ध खानेपानी पु(याउने लक्ष्य पूरा भएको बताउनुभयो ।

गोदावरी नगरपालिकाको वडा नम्बर १० मा १२ सय, ११ मा एक हजार र १२ मा ११ सय घरधुरीको बसोबास छ । ती सबै परिवारमा खानेपानी पुगेको गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्ण विकले बताउनुभयो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार