बाँके : विजुली नहुँदा पनि जमिनमुनिको निक्कै गहिराईबाट पानी तान्न सकिने भएपछि पाँग्रे धारा (Rope Pump) को आकर्षण बढ्न थालेको छ । पाङ्ग्रे धारा (Rope Pump) डोरी, पिस्टन र पाङ्ग्राको सहायताले कुवा वा जमिनमुनिको पानी तान्ने सहज प्रविधि हो ।
पाँग्राको सहायताले डोरीमा उनिएका रबरको पिस्टनलाई घडीको सुई घुम्ने दिशातर्फ घुमाउँदा कुवा वा जमिनमुनिको पानी तान्न सकिन्छ । गहिरो सतहबाट पानी तान्न सकिने हुँदा पानी सफा हुन्छ । स्थानीय सामग्रीहरुको प्रयोग गरेर बनाइने भएकाले स्थानीय सामग्रीको मूल्यका आधारमा एक सेट पाँग्रेधाराको लागत ७/८ हजारमै तयार हुने यसका प्रबद्र्धक संस्था सहकर्मी समाजले जनाएको छ ।
पाँग्रे धाराको जडान विधि :
पाँग्रे धारा कुवा वा बोरहोल निर्माण गरी जडान गर्न सकिन्छ ।
क. कुवा : तयारी कुवा माथि सिमेन्टको ढक्कन बनाएर पाँग्रेधाराको जडान गर्न सकिन्छ । कुवाको ढक्कनदेखि पिँधसम्म पाईप राखिने भएकाले यसले सजिलै पानी तान्दछ ।
ख. बोरहोल : जमिनमा बोरहोल गर्न मिल्ने ठाउँमा बोरहोल गरी पानी भेटिएपछि ४ देखि ६ इन्चको पाइप राखेर त्यसमा पाँग्रधारा जडान गर्न सकिनेछ ।
पाँग्रे धारा जडान गर्दाको फाइदा
♦ पानीको सतह गहिरो भई जमिनमुनिको पानी तान्न गाह्रो भएका स्थानहरुबाट पाङ्ग्रे धाराले सहज रुपमा कुवा वा बोरहोल जडान गरेर सजिलै पानी तान्न सकिन्छ ।
♦ यसमा घिर्नीको प्रयोग हुने भएकाले कम बलमा पनि सजिलोसँग पानी तान्न सकिन्छ । गर्भवती साथै साना बालबालिकाले पनि पाँग्रे धाराबाट पानी तान्न सक्छन् ।
♦ कुवाको ढक्कन सधैं बन्द हुने भएकोले बाहिरको पातपतिङ्गर तथा अन्य फोहोरवस्तु पानीमा जाँदैन ।
♦ कुनै कुनै ठाउँमा गर्मीको समयमा पानीको सतह घट्न गई हेण्ड पम्पबाट पानी आउँदैन । यस्तो अवस्थामा पनि पाँग्रेधाराको प्रयोग गरी सहज रुपमा पानी तान्न सकिन्छ ।
♦ पाँग्रे धाराको सहायताले जमिनको सतहभन्दा ३० मिटर तलसम्मको पानी सजिलोसँग तान्न सकिन्छ ।
♦ यसमा पानी तान्ने प्रविधिलाई सरल बनाउनुको साथै स्थानीय रुपमा उपलब्ध हुने सामग्रीको प्रयोग भएकाले स्थानीय स्तरमै मर्मत सम्भार गर्न सकिन्छ ।
♦ पाँग्रे धाराको प्रयोग गर्दा खुला कुवामा बालबालिका तथा वस्तुभाउहरु खस्ने जोखिम रहँदैन ।
♦ विद्युत नभएका स्थानहरुमा र लोडसेडिङको समयमा पनि जमिनमुनिको पानी तान्न सकिने भएकाले यो प्रविधि निक्कै किफायती छ ।
पाँग्रेधाराबाट करेसाबारी सिँचाई गर्न पनि सकिन्छ ।
♦ स्थानीय स्तरमै उपलब्ध हुने सामग्रीबाट निर्माण गरिएको पाङ्ग्रे धारा नेपालको बाँके, दाङ र सुर्खेतका विभिन्न स्थानमा प्रयोगमा ल्याइएको छ ।
सहकर्मी समाजको परामर्शमा तिलिचो वाश प्रा.लि. र माँ दुर्गा इन्जिनियरिङ वर्कसप नेपालगञ्जको सहकार्यमा यसको व्यवसायिक उत्पादन सुरु गरिएको सहकर्मी समाजले जनाएको छ ।