नेपाल स्वास्थ्यको लागि पानी (नेवा) ग्रामीण क्षेत्रमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (WASH) मा पहुँच सुनिश्चित गर्नमा विशेषज्ञता हासिल गरेको एक राष्ट्रिय स्तरको गैरसरकारी संस्था (NGO) हो। वि.सं. २०४९ मा स्थापित, नेवाले नेपालका ५१ जिल्लाहरुमा कार्यान्वयन गरिएका दुइ हजार पाँच सय भन्दा बढी परियोजनाहरू मार्फत करीब २२ लाख मानिसहरूलाई सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (वास) सेवाहरू प्रदान गरिसकेको छ ।
नेवाले समृद्ध र स्वस्थ नेपालको परिकल्पना गरेको छ, जहाँ प्रत्येक नागरिकको जीवनस्तरमा सुधार र सुरक्षित खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्यमा अधिकार हुनेछ । यस संस्थाले स्थानीय समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, अन्तर्राष्ट्रिय विकास साझेदारहरू तथा अन्य सरोकारवालाहरुसँग साझेदारी, समन्वय तथा सहकार्यमा परियोजनाहरू संचालन गरिरहेको छ ।
यसै क्रममा, नेवाले समयानुकल प्रविधि तथा पद्धति अवलम्बन गर्दै आईरहेको छ । यस अन्तर्गत नेवाले खानेपानी परियोजनालाई दिगो बनाउने हेतुले परियोजना कार्यन्वयन पछिको अनुगमनलाई आत्मसात गरेको छ । यस सन्दर्भमा स्थलगत अनुगमनको अतिरिक्त अभिनव संयन्त्र (Innovative mechanism) को प्रयोग गर्दै आईरहेको छ । समय सन्दर्भलाई मनन गर्दै, अनुगमनमा अभिनवहरुको रुपमा हवाई-पत्र अनुगमन (Letter monitoring), हेलो अनुगमन (Hello monitoring), सेन्सर अनुगमन (Sensor monitoring) तथा टोल-फ्री अनुगमन (Toll-free monitoring) प्रयोग गरिरहेको छ । यस आलेखमा यिनै अभिनवहरुको बारेमा विश्लेषण गरिएकोछ।
हवाई-पत्र अनुगमन (Letter monitoring)
नेवाले खानेपानी परियोजना सम्पन्न भएपछि पनि स्थलगत अनुगमन पद्धति अवलम्बन गर्दै गरेको सन्दर्भमा वि.सं. २०५२ साल देखि करीब एक दशक सम्म हवाई-पत्र अनुगमन पद्धतिको व्यापक प्रयोग गरेको थियो। संभावित समस्याहरुको सूची सहितको हवाई-पत्र छपाई गरी दुई वर्षलाई पुग्ने गरी उपभोक्ता समितिलाई दिइन्थ्यो, उपभोक्ता समितिले त्यहाँ उल्लेख गरिएका समस्याहरुमा चिनो लगाई तथा लेखेर नेवालाई हुलाक मार्फत निःशुल्क त्रैमासिक रुपमा पठाउने गर्थ्यो।
सूचीमा सम्पूर्ण संरचनाको संभवित समस्याहरु समेटिएका थियो, जस अनुसार परियोजना कार्यन्वयन पछिको सेवा प्रदान गरिन्थ्यो । हवाई-पत्र अनुगमनबाट संकलित जानकारीहरूको विश्लेषण गरी सोही अनुसार योजना बनाई कार्यन्वयन गरिने गरिएको थियो। मोबाईल फोनको प्रयोगमा व्यपकता आएपछि हवाई-पत्र अनुगमनको प्रयोग बन्द गरिएको छ। मोबाईल फोनको प्रयोगमा व्यपकता नआएको र हुलाक सेवा पुगेको क्षेत्रमा हवाई-पत्र अनुगमन पद्धति अझै अवलम्बन गर्न सकिन्छ।
हेलो अनुगमन (Hello monitoring)
मोबाईल फोनको प्रयोगमा व्यापकता आए पछि वि.सं.२०७२ असोज देखि नेवाले हेलो अनुगमन पद्धति शुरु गरेको हो। जस अन्तर्गत नेवाका प्राविधिकहरूले प्रत्येक वर्ष भदौ-असोज महिनामा मर्मत कार्यकर्ताहरु र उपभोक्ता समितिलाई फोन गरेर पुरानो परियोजनाहरुको अवस्था बारे जानकारी लिने गर्छन्।
हेलो अनुगमन अन्तर्गत मर्मत कार्यकर्ताबाट सबै धाराहरूको अन्तिम भ्रमण, धाराहरूको कार्यक्षमता, समस्या भएका धाराहरुको विस्तृत जानकारी, समाधान गर्न कति समय लग्छ, समाधान गर्न नसक्ने भए त्यसको कारण के हो, जगेडा सामग्रीहरुको जाँच, समितिले मर्मत कार्यकर्तालाई नियमित रूपमा भुक्तानी गरिरहेको छ वा छैन भन्ने बारे जानकारी संकलन गरिन्छ ।
उपभोक्ता समितिबाट मर्मत सम्भार कोषको संकलन, कुल मर्मत सम्भार कोष, समितिको बैठकहरूको नियमितता, जगेडा सामग्रीहरु बारेमा जानकारी संकलन गरिन्छ। त्यसै गरी, समस्याहरू समाधान गर्ने समय, समाधानको लागि कसले खर्च गर्यो, समस्या समाधानको लागि प्रयोग गरिएको ठाउँमा जगेडा सामग्रीहरुको प्रतिस्थापन र स्थानीय बजार वा जिल्ला सदरमुकाममा जगेडा सामग्रीहरुको उपलब्धता भएको वा नभएको जानकारी समेत उपभोक्ता समितिबाट संकलन गरिन्छ।
हेलो अनुगमन मार्फत परियोजनाहरूमा पहिचान गरिएका समस्याहरूको आधारमा, नेवाका प्राविधिकहरुले मर्मत कार्यकर्तालाई समस्याहरू समाधान गर्न फोन मार्फत प्रशिक्षण दिन्छन। यदि समस्या तिनीहरुको क्षमता भन्दा बाहिरको छ भने, नेवाका प्राविधिकहरुले समस्या समाधान गर्न सम्बन्धित परियोजनाको स्थलगत भ्रमण गरी मर्मत सहायता प्रदान गर्छन्। यदि त्यहाँ ठूलो क्षतिहरू भएको छ र पुनर्स्थापना आवश्यक छ भने, नेवाका प्राविधिकहरुले सर्वेक्षण गरी परियोजनाको पुनर्स्थापनाका लागि परियोजनाको सूची तयार गर्ने गर्छन् ।
हेलो अनुगमनबाट संकलित जानकारीहरूको विश्लेषण गरी सोही अनुसार योजना बनाई कार्यन्वयन गरिनेछ । हेलो अनुगमनद्वारा भविष्यको पुनर्स्थापनाका लागि पहिचान गरिएका परियोजनाहरूलाई सेन्सर अनुगमनर टोल-फ्री कल सेन्टर अनुगमनद्वारा भविष्यको पुनर्स्थापनाका लागि पहिचान गरिएका परियोजनाहरूमा समेटेर मास्टर पुनर्स्थापना योजना तयार गरी कार्यन्वयन गरिनेछ।
यो अनुगमन पद्धति टोल-फ्री कल सेन्टर अनुगमन र सेन्सर अनुगमन भन्दा फरक अभिनव अनुगमन पद्धति हो। यस पद्धतिबाट छोटो समयमा धेरै परियोजनाहरुको अनुगमन गर्न सकिन्छ, जसले गर्दा लागत पनि कम लाग्छ। त्यसले गर्दा, प्रभावकारीता र दक्षताको आधारमा यो अनुगमन पद्धति उपयोगी छ र निरन्तर प्रयोग भैरहेको छ ।
यस सन्दर्भमा, हेलो अनुगमन गरिएका धाराहरू मध्ये ९० प्रतिशत धाराहरू चल्दो अवस्थामा (Functional) हुनेछन् भन्ने अपेक्षा लिइएको छ । अनुगमन गरिएका समुदाय/परियोजनाहरूको संख्या, फोन मार्फत प्रशिक्षित मर्मत/सहायता संख्या, स्थलगत भ्रमण गरी प्रदान गरिएको मर्मतरसहायता संख्या र भविष्यको पुनर्स्थापनाको लागि पहिचान गरिएका परियोजनाहरूको आधारमा यस अभिनव अनुगमन पद्धतिको प्रभवकारीता र दक्षता मापन गरिन्छ।
सेन्सर अनुगमन (Sensor monitoring)
नेवाले अनुगमनलाई प्रभवकारी बनाउन वि.सं. २०७६ को बैशाखबाट सेन्सर मार्फत अनुगमन शुरु गरेको छ। यस अन्तर्गत नेपालको बागलुङ र सिन्धुली जिल्लाका पाँच सय भन्दा बढी धाराहरुमा सेन्सर जडान गरिएको छ । सेन्सर जिएसएम सिमयुक्त बैट्री र टरबाइन सहितको एउटा सानो यन्त्र हो, जसले नियमित रुपमा धाराबाट पानी बगेको वा नबगेको जानकारी दिनुका साथै कति मात्रामा पानी बगेको छ भन्ने जानकारी ड्यसबोर्डमा पठाउने गर्दछ।
सेन्सर अनुगमनबाट प्राप्त जानकारी अनुसार आवश्यक भएमा, नेवाका प्राविधिकहरुले सम्बन्धित समुदायलाई फोन गर्छन्। सम्बन्धित खानेपानी प्रणालीमा रहेका समस्याहरूको आधारमा नेवाको प्राविधकहरूले फोन मार्फत वा स्थलगत भ्रमण गरेर मर्मत कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्ने गरेका छन्। हालमा, नेवाका प्राविधकहरूले प्राप्त जानकारी अनुसार दैनिक रुपमा फोन गर्ने गरेका छन् भने प्रत्येक महिनामा दुई पटक कल सेन्टर अनुगमन प्रतिवेदन तयार गर्ने गरिएको छ।
यो अनुगमन पद्धति टोल-फ्री कल सेन्टर अनुगमन र हेलो अनुगमन भन्दा फरक अभिनव अनुगमन पद्धति हो । यसबाट कम लागतमा धेरै परियोजनाहरुको अनुगमन छोटो समयमा गर्न सकिन्छ। सेन्सर अनुगमन पद्धति प्रभावकारीता र दक्षताको आधारमा उपयोगी छ ।
संकलित जानकारीहरूको विश्लेषण गरी सोही अनुसार योजना बनाइ कार्यान्वयन गरिनेछ । सेन्सर अनुगमनद्वारा भविष्यको पुनर्स्थापनाका लागि पहिचान गरिएका परियोजनाहरूलाई हेलो अनुगमन र टोल-फ्री कल सेन्टर अनुगमनद्वारा भविष्यको पुनर्स्थापनाका लागि पहिचान गरिएका परियोजनाहरूमा समेटेर मास्टर पुनर्स्थापना योजना तयार गरी कार्यान्वयन गरिनेछ।
यस सन्दर्भमा, सेन्सरबाट अनुगमन गरिएका धाराहरू मध्ये ९५ प्रतिशत धाराहरू चल्दो अवस्थामा (Functional) हुनेछन् भन्ने अपेक्षा लिइएको छ । सेन्सर कल सेन्टर अनुगमन प्रतिवेदनहरु, फोन मार्फत प्रशिक्षित मर्मत/सहायता संख्याहरू, स्थलगत भ्रमण गरी प्रदान गरिएको मर्मत/सहायता संख्याहरू र भविष्यको पुनर्स्थापनाको लागि पहिचान गरिएका परियोजनाहरूको आधारमा यस अभिनव अनुगमन पद्धतिको प्रभवकारीता र दक्षता मापन गरिनेछ।
टोल-फ्री अनुगमन (Toll-free monitoring)
नेवाले नेपाल टेलिकमसँगको समन्वयमा १६६००१२३४५० टोल-फ्री नम्बर रहने गरी वि.सं. २०७९ बैशाखमा प्रधान कार्यालयमा टोल-फ्री कल सेन्टर स्थापना गरेकोछ । सार्वजनिक विदा बाहेक सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अर्थात नेवाको कार्यालय खुला रहेको समयमा कल सेन्टर सञ्चालनमा रहनेछ । हाल, प्रधान कार्यालयमा तोकिएको कर्मचारीले दैनिक कलहरू प्राप्त गरेर र त्यस अनुसार राजिष्टरमा रेकर्ड राख्ने काम गर्दै आएका छन् ।
कलसेन्टरको बारेमा जानकारी विभिन्न प्रवर्धनात्मक सामग्रीहरू, सामुहिक एसएमएस (तस्वीर ३ मा दिए बमोजिम) र नेपालको बागलुङ र सिन्धुली जिल्लाका स्थानीय एफएम स्टेशनहरूबाट प्रसारण मार्फत वा ससरोकारवालाहरू र उपभोक्ताहरूलाई जानकारी प्रदान गराइएको छ । यो अनुगमन पद्धति हेलो अनुगमन र सेन्सर अनुगमन भन्दा फरक अभिनव अनुगमन पद्धति हो।
परियोजनाहरूमा देखिएको प्राविधिक समस्याहरू बारेमा समुदायका मानिसहरूले पैसा नलाग्ने फोन नम्बर मार्फत जानकारी गराउन सक्नेछन् । सम्बन्धित खानेपानी प्रणालीमा रहेका समस्याहरूको आधारमा नेवाका प्राविधकहरूले फोन मार्फत वा स्थलगत भ्रमण गरेर प्रशिक्षण प्रदान गर्नेछन् ।
टोल-फ्री अनुगमनबाट संकलित जानकारीहरूको विश्लेषण गरी सोही अनुसार योजना बनाई कार्यान्वयन गरिनेछ । टोल-फ्री कल सेन्टर अनुगमनद्वारा भविष्यको पुनर्स्थापनाका लागि पहिचान गरिएका परियोजनाहरूलाई हेलो अनुगमन र सेन्सर अनुगमनद्वारा भविष्यको पुनर्स्थापनाका लागि पहिचान गरिएका परियोजनाहरूमा समेटेर मास्टर पुनर्स्थापना योजना तयार गरी कार्यन्वयन गरिनेछ।
यस सन्दर्भमा, सर्वेक्षण गरिएका मर्मत कार्यकर्ताहरू वा समुदायका सदस्यहरू मध्ये ८० प्रतिशतलाई कल गर्नको लागि टोल-फ्री नम्बर अर्थात् पैसा नलाग्ने फोन नम्बर थाहा हुनेछ भन्ने अपेक्षा लिइएको छ । प्राप्त कलहरूको संख्या, फोन मार्फत प्रशिक्षित मर्मत/सहायता संख्या, स्थलगत भ्रमण गरी प्रदान गरिएको मर्मत/सहायता संख्या र भविष्यको पुनरस्थापनाको लागि पहिचान गरिएका परियोजनाहरूको आधारमा यस अभिनव अनुगमन पद्धतिको प्रभावकारीता र दक्षता मापन गरिन्छ ।
निष्कर्ष (Conclusions)
नेपालमा कतिपय स्थानमा खानेपानी परियोजना सम्पन्न भएको केही समयपछि नै परियोजनाहरु रुग्ण हुँदै जाने प्रवृत्ति छ । हालसम्म ९४ प्रतिशत जनसंख्याले आधारभूत खानेपानीको सुविधा पाएको सरकारी तथ्याङ्क भए तापनि विविध कारणले अधिकांश खानेपानी प्रणालीहरु डिजाइन अवधि पूरा नगर्दै पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएको पाइन्छ ।
यो अवस्थालाई हृदयङ्गम गरेर नेवाले खानेपानी परियोजनाहरुलाई दीर्घकालसम्म चल्दो बनाई राख्ने लक्ष्य सहित यहाँ उल्लेख गरिएका अभिनव अनुगमन पद्धतिहरु अपनाउँदै आएको हो । हालसम्मको अवस्थालाई हेर्दा यी पद्धतिहरुले खानेपानी प्रणालीलाई चल्दो राख्न र त्यसप्रति उपभोक्ताहरुको अपनत्व जगाउन ठूलो सहयोग पुर्याएका छन् ।
हेलो अनुगमन, अन्य परियोजनाहरु वा संघ संस्थाको सन्दर्भमा प्रयोग गर्न सकिन्छ भने सेन्सर अनुगमन र टोल-फ्री अनुगमनको प्रभावकारिता थप केही समय हेरेपछि मात्र अन्य परियोजनाहरु वा संघ संस्थाको सन्दर्भमा प्रयोग गर्न सकिने वा नसकिने निर्क्योल गर्न सकिन्छ ।
लेखक नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को योजना, अनुगमन तथा रिपोटिंग प्रबन्धक हुनुहुन्छ ।