हैजा नियन्त्रणका लागि ‘खानेपानी सचेतना गोष्ठी’, क्लोरिनेसन गरेर मात्र पानी वितरण गर्न डिभिजन प्रमुख केसरीको आग्रह

बर्षायाममा क्लोरिनेसन नगरी पानी वितरण नगरौं : प्रमुख केसरी

काठमाडौ : काठमाडौ उपत्यकामा हैजाको प्रकोप फैलिन थालेपछि काठमाडौ जिल्ला भित्रका खानेपानी उपभोक्ता समितिहरुलाई लक्षित गरी ‘खानेपानी सचेतना गोष्ठी’ सञ्चालन गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन नं. ५ भक्तपुरले हैजाको प्रकोपबाट जोगिन सरसफाइ, पानीजन्य रोग, पानी शुद्धिकरण एवं पानीको सञ्चितिका विधि र तरिकाबारे जानकारी गराउने उद्देश्यले एक दिने खानेपानी सचेतना गोष्ठी सञ्चालन गरिएको हो ।

चार दिनसम्म सञ्चालन हुने खानेपानी सचेतना गोष्ठीमा काठमाडौ जिल्ला भित्रका ८० वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका एक÷एक जना पदाधिकारी र समितिमा कार्यरत एक/एक जना कर्मचारी सहभागी हुनेछन् । सचेतना गोष्ठीमा हरेक दिन बेग्ला बेग्लै खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी एवं कर्मचारीहरुले सहभागिता जनाउनेछन् ।

बिहीबार पहिलो दिनको गोष्ठीमा तारकेश्वर, नागार्जुन, चन्द्रागिरी, बूढानीलकण्ठ र नागार्जुन नगरपालिकामा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट सहभागी भएका थिए ।

बर्षायाममा क्लोरिनेसन नगरी पानी वितरण नगरौं : प्रमुख केसरी

खानेपानी तथा सरसफाइ डिभिजन नं. ५ भक्तपुरका प्रमुख अनिल केसरीले बर्षातको समयमा खानेपानीको स्रोत प्रदुषित हुने सम्भावना उच्च हुने भएकाले क्लोरिनेसन गरेर मात्र खानेपानी उपलब्ध गराउन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुलाई आग्रह गर्नुभयो । उहाँले खानेपानीको स्रोत सुरक्षित भए पनि उपभोक्ताको धारासम्म पुग्दा विभिन्न चरण पार गरेर जाँदा खानेपानी प्रदुषित हुने सम्भावना भएकाले क्लोरिनेसन नगरी पानी वितरण नगर्न आग्रह गर्नुभएको हो ।


उहाँले यसका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले प्रति उपभोक्ता समितिलाई ५० देखि १०० किलो ब्लिचिङ पाउडर उपलब्ध गराईने जानकारी गराउनुभयो ।

ब्लिचिङ पाउडरमा ७० प्रतिशत चुना र ३० प्रतिशत मात्र क्लोरिन हुने भएकाले क्लोरिन झोल बनाएर मात्र क्लोरिनेसन गर्नुपर्ने उहाँले बताउनुभयो । क्लोरिनेसनले खानेपानीमा भएको सुक्ष्म जीवाणु इकोली तथा कोलिफर्म नष्ट गरी पानीलाई सुरक्षित बनाउँछ ।

खानेपानी मन्त्रालयले हालै जारी गरेको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार क्लोरिन प्रयोग हुने खानेपानी प्रणालीमा प्रति लिटर ०.१० देखि ०.५० मिलिग्राम क्लोरिनको मात्रा हुनुपर्छ । अझ महामारीको अवस्था र बढी प्रदुषण हुन सक्ने बर्षातको समयमा भने क्लोरिन अवशेष ०.५० मिलिग्राम प्रति लिटर भन्दा बढी पाइएमा पनि गुणस्तर प्रतिकुल नमानिने उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनका प्राविधिक किशोर पाण्डेका अनुसार १ लाख लिटरमा ३०० ग्राम ब्लिचिङ पाउडरको क्लोरिन झोल बनाएर हाल्नुपर्छ । त्यसैको अनुपातमा खानेपानीको परिमाणको आधारमा ब्लिचिङ पाउडरको मात्रा मिलाएर खानेपानीलाई क्लोरिनेसन गर्न सकिने उहाँले बताउनुभयो ।

डिभिजन कार्यालयले हरेक उपभोक्ता समितिहरुलाई १/१ वटा क्लोरिन टेष्ट किट समेत वितरण गरेको छ । क्लोरिन टेष्ट किट मार्फत खानेपानीमा भएको क्लोरिन अवशेष परिक्षण गर्न सकिन्छ । उपभोक्ता समितिले ट्याङ्कीमा क्लोरिनेसन गरेर पानी वितरण गरे पनि उपभोक्ताको धारासम्म पुग्दा पानीमा क्लोरिनको अवशेष भेटिए/नभेटिएको क्लोरिन टेष्ट किटबाट पत्ता लगाउन सकिन्छ ।

डिभिजन प्रमुख अनिल केसरी भन्नुुहुन्छ ‘धाराबाट थापेको पानीमा पनि क्लोरिनको अवशेष भेटिनु भनेको उक्त पानीमा कुनै पनि सुक्ष्म जीवाणु (इकोली र कोलिफर्म) छैन भन्नु हो, त्यस्तो पानी ढुक्कले पिउन सकिन्छ ।’ उहाँका अनुसार १ लाख इकोलीमा एउटा हैजाको जीवाणु भएको पुष्टि भईसकेको छ । आफू र आफ्नो परिवारका सदस्यलाई समेत हैजा भएको अनुभव सुनाउँदै डिभिजन प्रमुख केसरीले व्यक्तिगत सरसफाइको कमी, वातावरणीय सरसफाइको अभाव र असुरक्षित पानीको सेवनले मानिसहरु बिरामी हुने गरेको बताउनुभयो । उहाँले पानी शुद्धिकरणका लागि अरु केही गर्न नसकेपनि एक भुल्को उमालेर पिउन आग्रह गर्नुभयो ।

गोष्ठीका सहभागीहरुले एक दिने खानेपानी सचेतना गोष्ठी एकदम प्रभावकारी भएको बताएका छन् । गोष्ठीले खानेपानीलाई शुद्धिकरण गरेर मात्र वितरण गर्न खानेपानी सेवा प्रदायकहरुलाई जिम्मेवार बनाएको नागार्जुन नगरपालिका ५ मा सञ्चालित आदेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सन्जीत राईले बताउनुभयो । ‘हामीलाई ब्लिचिङ पाउडर उपलब्ध गराउने कुरा गर्नुभएको छ, ब्लिचिङ पाउडरबाट कसरी क्लोरिन झोल बनाउने भन्ने कुरा पनि सिकेका छौं । अब क्लोरिनेसन गरेर मात्र पानी वितरण गर्ने हाम्रो योजना छ’ अध्यक्ष राईले भन्नुभयो ।

खानेपानीजन्य रोगहरुको निराकरणका लागि आफूहरु जस्तो खानेपानी सेवा प्रदायक संस्थाको पनि हात हुने कुरा थाहा पाएको आदेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव नीर बहादुर कटुवालले बताउनुभयो । उहाँले आफ्नो क्षेत्रका उपभोक्ताहरुको भेला गराई खानेपानी शुद्धिकरणको आवश्यकता र घरायसी स्तरमा खानेपानी शुद्धिकरणका तरिकाहरु समेत सिकाइने बताउनुभयो ।

नेपालमा दुषित पानीको सेवनबाट ५ बर्ष मुनिका १३ हजार बालबालिकाले बर्षेनी ज्यान गुमाउने गरेको तथ्याङ्क छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार