दुर्गमको थामी बस्तीमा घरघरै धारा

दोलखा : थामी जातिको मात्र बसोबास रहेको दोलखाको कालिञ्चोक गाउँपालिका–१ बेगुम्पा र क्याम्पल गाउँको घरघरमै खानेपानी सुविधा पुगेको छ । वाटर एड र सामुदायिक विकास मञ्चको ५३ लाख रुपैयाँ अनुदान, उपभोक्ताको २३ लाख बराबरको श्रमदान एवं म्याचिङ फण्ड बापत कालिञ्चोक गाउँपालिकाको नौ लाख ९५ हजार लगानीमा खानेपानी सुविधा पुगेको हो । ठाडो खोरिया खानेपानी योजनाले बेगुम्पाका ९९ घरको धारामा पानी झरेको छ ।

यसअघि पानीको मुहान गाउँनजिकै भएर पनि व्यवस्थित हुन सकेको थिएन । त्यसैले यहाँका बासिन्दा खोलाबाटै पानी ल्याएर खान बाध्य थिए । घरघरमै पानीका धारा बनेर पानी झर्न थालेपछि स्थानीय पनि खुसी भएका छन् । घरघरमा पानीको धारा बनेपछि अब पानी लिन जाने समय पनि बचत भएको छ भने सरसफाइ गर्न पनि सहज हुने भएको छ ।

दुर्गम गाउँका घरघरमा पानीको धारा पुर्‍याउन गाउँपालिकाको अभियानमा क्याम्पलको १३६ घरमा पनि यस अघि घरघरमा धारो बनिसकेको छ । यो वडाको यी दुई सबैभन्दा ठूला बस्ती हुन् । खानेपानी योजनाका लागि गाउँपालिकाले पनि लगानी गरेको छ भने स्थानीयले पनि श्रमदान गरेका छन् । यी बस्तीमा पानीको सुविधा पुगेपछि अरु टोलका घरघरमा पनि खानेपानी विस्तार गर्ने गाउँपालिकाले योजना बनाएको छ ।

कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले दुर्गम गाउँमा घरघरमा खानेपानी निर्माणमा सहयोग गरेकोमा सहयोगी निकायलाई धन्यवाद व्यक्त गर्नुभयो । खानेपानीका हरेक घरघरमा मिटर जडान गरिएको ठाडो खोरिया खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष कालुमान थामीले बताउनुभयो। विगतमा बनेका योजनाको व्यवस्थित मर्मत सम्भार नहुँदा अलपत्र परेपछि अहिले उपभोक्ता समिति मार्फत व्यवस्थापन गर्ने गरी मर्मत सम्भार कोषको समेत व्यवस्थाप गरिएको उहाँले बताउनुभयो । मर्मत सम्भार र नियमित पानी आपूर्तिका लागि हरेक घरधुरीले पानी उपयोग गरे वापत शुल्क समेत निर्धारण भएको छ ।

सामुदायिक विकास मञ्चका अध्यक्ष राजु थापाले खानेपानी खानयोग्य रहेको जानकारी दिनुभयो। उहाँले योजनासँगै सीप र प्रविधि पनि हस्तान्तरण गरेकाले अब नियमित मर्मत सम्भार गरेर योजना चलाउन अनुरोध गर्नुभयो । खानेपानी योजना निर्माण सम्पन्न भएपछि गाउँपालिकाले उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार