१ लाख ट्याब्लेट क्लोरिन र ३ हजार बोतल क्लोरिन झोल खरिद गर्दै गुणस्तर शाखा

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभाग, गुणस्तर सुधार तथा सेवा नियमन शाखाले पानी शुद्धिकरणका लागि आवश्यक क्लोरिन ट्याब्लेट, क्लोरिन झोल र ब्लिचिङ पाउडर खरिद गर्ने भएको छ । काठमाडौं उपत्यकामा हैजाका बिरामीहरु बढिरहेको र खानेपानीजन्य रोगको सम्भावित जोखिमलाई समेत दृष्टिगत गरी क्लोरिन खरिद गर्ने प्रक्रियामा रहेको गुणस्तर सुधार तथा सेवा नियमन शाखाकी इञ्जिनियर आरती श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार शाखासँग हाल एक हजार किलो ब्लिचिङ पाउडर मौज्दात रहेको छ । शाखाले थप ७ हजार ५ सय किलो ब्लिचिङ पाउडर खरिद गर्ने प्रक्रियामा रहेको जनाएको छ ।

यस्तै एक लाख गोटा क्लोरिन ट्याब्लेट, ६० मिलिलिटरका २ हजार बोतल क्लोरिनको झोल (०.५ क्लोरिन) र २४० मिलिलिटरका १ हजार बोतल क्लोरिन झोल (०.७५ क्लोरिन) खरिद गर्ने प्रक्रियामा रहेको इञ्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।

खानेपानीलाई क्लोरिनेसन गर्दा खानेपानीमा भएको सुक्ष्म जीवाणु (इकोली) नष्ट भई पानी प्रदुषणमुक्त हुन्छ ।

खानेपानी मन्त्रालयले हालै जारी गरेको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार क्लोरिन प्रयोग हुने खानेपानी प्रणालीमा प्रति लिटर ०.१० देखि ०.५० मिलिग्राम क्लोरिनको मात्रा हुनुपर्छ । अझ महामारीको अवस्था र बढी प्रदुषण हुन सक्ने बर्षातको समयमा भने क्लोरिन अवशेष ०.५० मिलिग्राम प्रति लिटर भन्दा बढी पाइएमा पनि गुणस्तर प्रतिकुल नमानिने उल्लेख छ ।

गुणस्तर सुधार तथा सेवा नियमन शाखाले विपद जोखिम व्यवस्थापनका लागि पूर्वतयारी तथा प्रतिकार्यको काम समेत गर्दै आएको छ । शाखाले सम्भावित विपदसँग सामना गर्न पूर्वतयारी स्वरुप गएको जेठ ११ गतेदेखि १७ गतेसम्म बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १ देखि १३ सम्म विभिन्न खानेपानीको नमुना परिक्षण गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार