एनवास सफ्टवेयरबाट बनेको पहिलो वास प्लान : बर्जू गाउँपालिकालाई हस्तान्तरण

  वास खवर सम्वाददाता  592 पटक हेरिएको

सुनसरी : सुनसरीको बर्जू गाउँपालिकालाई एनवास सफ्टवेयरको प्रयोग गरी तयार गरिएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) हस्तान्तरण गरिएको छ । सोमबार नगरपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका साथै गाउँपालिकास्तरीय सरोकारवालाहरुबीच वास प्लानको मस्यौदाउपर छलफल गरी सो मस्यौदा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको वास एसडिजी परियोजना अन्तर्गत साझेदार संस्था सामुदायिक समाज उत्थान केन्द्रको सहयोग र सेवा प्रदायक संस्था ओम साई टेक्निकल इन्स्टिच्युटको सहजीकरणमा सो वास योजना तयार गरिएको हो ।

सामुदायिक समाज उत्थान केन्द्रको तर्फबाट वास एसडिजी परियोजना संयोजक हरि बूढाथोकी र ओम साई टेक्निकल इन्स्टिच्युटका प्रवन्ध निर्देशक द्रोणचार्य पौडेलले वास प्लानको अन्तिम मस्यौदा गाउँपालिका अध्यक्ष जिवच्छ कुमार राय र उपाध्यक्ष नितु कुमारी चौधरीलाई हस्तान्तरण गर्नुभयो ।

छलफल कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रायले दिगो विकास लक्ष्यका महत्वपूर्ण सूचकहरु पूरा गर्न वास प्लानलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइने प्रतिवद्धता व्यक्त गर्नुभयो । व्यक्तिको आनिवानी परिवर्तनका लागि सहजीकरणको निरन्तरता हुनुपर्ने र स्थानीय विकासको वैधानिक आधार तयार गर्नका लागि स्थानीय सरकारले ऐन, नीति र योजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

ठूला खानेपानी आयोजनाहरु सुरु गर्न नेतृत्वले जोड दिने गरेको तर, त्यसलाई सम्पन्न गरी उपभोक्तालाई सुरक्षित पानी उपलब्ध गराउन जोड नदिएकोमा असन्तुष्टि व्यक्त गर्दै निर्माणाधीन खानेपानी आयोजनाहरु पूरा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।


बैठक सहजकर्ता एवम् ओम साई टेक्निकल इन्स्टिच्युटका टोली प्रमुख विनोदप्रसाद शर्माले एनवास एप्लिकेशनमा प्रविष्ट गरिएका तथ्यांकका अलावा खानेपानी, सरसफाइ तथा स्वच्छतामा लैंगिक अवस्थाको लेखाजोखा, लक्षित समूह छलफल, मुख्य सूचनादातासँगको अन्तरवार्ता, अवलोकन र द्वितीय श्रोतबाट प्राप्त जानकारीहरु समेत समावेश गरेर वास प्लान तयार गरिएको बताउनुभयो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा वास एसडिजी परियोजना अन्तर्गत सामुदायिक समाज उत्थान केन्द्रले सुनसरीका पाँच स्थानीय तहमा एनवास सफ्टवेयरको प्रयोग गरी वास प्लान तयार भएको हो । यसअघि प्रदेशका कुनै पनि स्थानीय तहमा एनवासको प्रयोग गरेर वास प्लान तयार भएको छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार