मुहानमै दिसा भेटिएको बाँझेको कथा : त्यसपछि पानी शुद्धिकरण गरेर पिउन थाले

  तेज बहादुर बोहरा  1929 पटक हेरिएको

लेखक: तेज बहादुर बोहरा

धेरै वर्ष अघिको कुरा हो । गाउँभन्दा निकै पर रहेको सिस्नेरी कुवा गाउँलेहरुको तिर्खा मेट्ने एउटै मात्र पानीको स्रोत थियो । अशिक्षा, अचेतना र गरीबीको साङ्लोमा बेरिएको त्यो बेला घर नजिकै कसरी पानीको सुविधा उपलब्ध गर्न सकिन्छ भनेर उनीहरुले सोच्न पनि जानेका थिएनन् ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नंं. १२ का वासिन्दाहरुले युगौंदेखि भोग्दै आएको पानीको अभाव हटाउन २०५६ सालमा नजिकैको सिस्नेरी खोलामा अस्थायी इन्टेक बनाई रुख–रुखमा पाइप टाँग्दै गाउँसम्म ल्याए । त्यसपछि उनीहरुले केही राहत त पाए । तर यो राहत क्षणिक थियो, एक त पानी पर्याप्त थिएन, त्यसमाथि कहिले खोलामा भल आएर त कहिले पत्करले थुनिएर पानी आउन बन्द हुन्थ्यो, कहिले घाँसपात गर्न जङ्गल जानेहरुले पाइप काटिदिन्थे वा जोडेको ठाउँमा खुस्काइदिन्थे । यस्तो अवस्थामा उही सिस्नेरी कुवा नगई सुखै थिएन ।

सिस्नेरी कुवाबाट पानी ओसारेको बेला र अहिले धेरै कुरामा परिवर्तन भइसकेको छ । मानिसलाई पानी मात्र होइन, सुरक्षित र स्वच्छ पानी आवश्यक पर्ने रहेछ भन्ने तथ्यसँग यहाँका वासिन्दा परिचित भएका छन् ।

कुवा होस् वा खोलाको पानी, त्यसको गुणस्तरबारे सोच्ने ज्ञान कसैलाई थिएन । पानी उमालेर खानुपर्छ भन्ने सल्लाह दिने पनि कोही थिएन ।

एकदिन त अति नै भयो । स्थानीय बुद्धिबहादुर मगर अहिले पनि घिन मान्दै भन्छन् “धारामा पानी नआएर पाइप लाइन हेर्दै मुहानसम्म पुगेको त मुहानमै मान्छेको दिसा भेटियो ।” दिसा सोहोरेर पानी ल्याउनु बाहेक अर्को विकल्प थिएन, उनीहरुले त्यसै गरे ।

“त्यतिखेर गाउँमा झाडापखाला र जुकाको प्रकोप जस्तै थियो, झन् बर्खा लागेपछि त घरैपिच्छे मान्छे बिरामी भेटिन्थे” स्थानीय वासिन्दा तेजबहादुर शाही बताउँछन् ।

दुःख मेट्ने प्रयास र हासिल भएको उपलब्धि

सिन्धुली जिल्लामा खानेपानी, सरसफाइ र स्वच्छता सुविधाको प्रवर्धनका लागि कार्य गर्दै आएको नेपाल स्वास्थ्यको लागि पानी (नेवा) का बारेमा सुनेपछि बाँझे गाउँका वासिन्दाहरुले २०७५ पुष ५ गते नेवाको सिन्धुलीस्थित प्रदेश कार्यालयमा आफ्नो समुदायमा खानेपानी आयोजना सञ्चालनका लागि निवेदन दिए । यसपछि २०७६ जेष्ठ ६ गते नेवाबाट बाँझे गाउँमा खानेपानी आयोजनाका लागि सर्भेक्षण भयो ।

यसपछि आयोजना निर्माणका सबै प्रक्रिया अघि बढे र जेठ १० गते नै समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता उपभोक्ता समिति गठन भयो । त्यसपछि तुरुन्तै निर्माण कार्य अघि बढेको बताउँछन् समितिका सचिव हेमराज श्रेष्ठ ।

नेवाका प्राविधिकहरुको सल्लाह र रेखदेख अनि स्थानीय वासिन्दाको अथक परिश्रमबाट २०७९ जेष्ठ महिना देखि समुदायका सम्पूर्ण ५६ घरधुरीका ३५७ जना सदस्य लाभान्वित भएका छन् । यस आयोजना अन्तर्गत एउटा इन्टेक, डिस्ट्रिव्युसन (वितरण) र रिजर्भ्वायर (पानी जम्मा गर्ने ट्याङ्की) समेत १० वटा ट्याङ्की, ३७ सार्वजनिक धारा र स्थानीय श्री माद्यमिक विद्यालयका लागि एउटा धारा निर्माण भएका छन् ।

यो आयोजना निर्माण गर्न च्यारिटी वाटरको आर्थिक सहयोग, नेवाको व्यवस्थापन तथा प्राविधिक सहयोग रहेको थियो भने कमलामाई नगरपालिकाको नीतिगत तथा आर्थिक सहयोग रहेको थियो । आयोजना निर्माणका क्रममा स्थानीय वासिन्दाहरुले व्यक्तिगत, घरायसी र वातावरणीय स्वच्छता र सरसफाइ सम्बन्धी उपयुक्त जानकारी पाएर व्यवहारमा उतारे ।

उपभोक्ता समितिका अध्यक्ष बुद्धिबहादुर मगर भन्छन्, “नेवाका कर्मचारीहरुले हामीलाई विभिन्न चेतनामूलक ज्ञान दिएर व्यावहारिक अभ्यास गराउनु भयो, जसले गर्दा अहिले हाम्रो गाउँमा ४५ वटा चाङ, ४५ वटा जुठ्यान, ४५ वटा फोहर फाल्ने खाडल निर्माण भए । परिणाम स्वरुप हाम्रो समुदाय २०७९ असार ६ गते पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा हुन सफल भएको छ ।”

सिस्नेरी कुवाबाट पानी ओसारेको बेला र अहिले धेरै कुरामा परिवर्तन भइसकेको छ । मानिसलाई पानी मात्र होइन, सुरक्षित र स्वच्छ पानी आवश्यक पर्ने रहेछ भन्ने तथ्यसँग यहाँका वासिन्दा परिचित भएका छन् । नेवाले उनीहरुलाई खानेपानी शुद्धिकरण विधि र प्रक्रियाका लागि खानेपानी सुरक्षा योजना सम्बन्धी तालिम दिएको छ । उनीहरुले सोही अनुसार खानेपानी सुरक्षा योजना लागू गरेका छन् ।

पानीमा हुन सक्ने विभिन्न भौतिक र रासायनिक पारामितिहरुको परीक्षण भएको छ । व्यवस्थित तरिकाले सुरक्षित मुहानबाट पानी ल्याएको र मुहानदेखि मुखसम्म खानेपानी सुरक्षित राख्न सबै विधि अपनाइएकाले पानी सुरक्षित छ । पानी कुनै पनि बेला असुरक्षित हुन सक्ने तथ्यप्रति उनीहरु सचेत भएको बताउँछन् नेवाका बरिष्ठ सहायक आयोजना निरीक्षक मोहन सिंह धामी ।

समुदायमा पानीको सुविधा भएपछि मानिसहरुले खेर गएको पानीको सदुपयोग गरेर करेसाबारी लगाउन पनि थालेका छन् । स्थानीय शोभा राना, श्याम श्रेष्ठ, नारायण बहादुर श्रेष्ठ लगायतले यसरी गरेको तरकारी खेतीबाट आफ्नो आवश्यकता पूरा गरेका छन् । “खानेपानी सुविधाले रोगव्याधि हटायो, यो आयोजना निर्माण भएपछि समुदायमा कसैलाई पनि पानीजन्य रोग देखा परेको छैन ।” स्थानीय वासिन्दा तेज बहादुुर शाही बताउँछन् ।

 

 

 

 

 

लेखक तेज बहादुर बोहरा, नेपाल स्वास्थ्यका लागि पानी नेवाका टेक्निकल अफिसर हुनुहुन्छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार