काभ्रे : तेमाल बृहत सुख्खाक्षेत्र खानेपानी आयोजनामा बढी क्षमताको ट्रान्सफर्मर जडान गरेपछि पानी लिफ्टिङको काम सफल भएको छ । नेपाल विद्युत प्राधिकरण मार्फत प्राप्त भएको २०० केभी क्षमताको ट्रान्सफर्मर जडान गरेपछि खानेपानी लिफ्टिङको काम पूर्ण क्षमतामा सञ्चालन भएको तेमाल बृहत सुख्खाक्षेत्र खानेपानी आयोजनाका अध्यक्ष संग्रामजीत लामाले जानकारी दिनुभयो ।
कम क्षमताको ट्रान्सफर्मरले खानेपानी लिफ्टिङको काम पूर्ण क्षमतामा सञ्चालन गर्न समस्या भएपछि खानेपानी उपभोक्ता समितिले बढी क्षमताको ट्रान्सफर्मर उपलब्ध गराईदिन नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा माग गरेको थियो । आयोजनाको मागलाई ध्यानमा राखी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राधिकरणको पाँचखाल वितरण केन्द्र प्रमुख धन जीत तामाङको समन्वयमा २०० केभीका ५ थान ट्रान्सफर्मर प्राप्त भई जडान गरिएको अध्यक्ष लामाले बताउनुभयो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय भक्तपुर मार्फत कार्यान्वयन भईरहेको तेमाल बृहत खानेपानी आयोजनाले सुनकोशी नदीबाट सात चरणमा लिफ्टिङ गरी तेमाल गाउँपालिकाको वडा न १ देखि वडा नं. ९ सम्मका जम्मा ८ हजार २ सय २५ घरपरिवार, नमोबुद्ध नगरपालिकाको वडा नम्बर ३, ४ र ५ का १ हजार ५ सय ८ घरपरिवार र रोशी गाउँपालिकाको वडा नं. ७ को १ सय १० घरपरिवारलाई स्वच्छ पानी उपलब्ध गराउने लक्ष्य राखेको छ ।
खानेपानी आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको र केही लिफ्टिङ स्टेशनहरुबाट पानी वितरण समेत भईरहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय भक्तपुरका आयोजना प्रमुख ई.राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
आर्थिक बर्ष २०७३/०७४ देखि कार्यान्वयन भईरहेको तेमाल वृहत खानेपानी आयोजनाले सुनकोशी नदिको किनारामा इनार (सम्पवेल) बनाएको छ । सुरुमा सम्पवेलबाट तानिएको पानी विभिन्न प्रशोधन संयन्त्रमा प्रशोधन भई नदि किनारमै रहेको २ लाख लिटरको पानी पोखरीमा संकलन हुने र त्यसपछि लिप्टिङ गरी सातौ चरणमा याङबेल डाँडामा बनेका ४/४ लाख लिटरका दुई वटा रिजर्भ्वायर ट्याङ्कमा जम्मा गरिने इन्जिनियर सुरेश सत्यालले जानकारी दिनुभयो । उक्त रिजर्भ्वायर ट्याङ्कबाट विभिन्न स्थानमा निर्माण गरिएका २३ वटा वितरण ट्याङ्कीमा पठाएपछि वितरण सञ्जाल मार्फत उपभोक्ताको घरघरमा पुग्ने उहाँले बताउनुभयो ।
निर्माण कम्पनी कालिका सिएभी जेभीका प्राविधिक पप्लुचाल चौधरीका अनुसार वितरण ट्याङ्कीबाट घर घरमा निर्माण गरिएको धारामा पानी आपूर्ति गर्न वितरण च्याम्बर र ब्रेक प्रेसर ट्याङक (बिपीटी) निर्माण भईरहेको बताउनुभयो ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण निर्माण सम्पन्न गर्न केही ढिलाई भएको खानेपानी आयोजना निर्माण सम्पन्न गरिसक्न मंसिरसम्मको समय दिईएको छ ।
फोटोहरु : वास खबरका लागि लोकचन्द्र थापा