खानेपानीको स्वच्छतासँगै वितरण प्रणालीलाई वैज्ञानिक बनाउनुपर्नेमा मेयर खाँणको जोड

तिलोत्तमा : तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले स्वच्छ खानेपानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभएके छ । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २४ औं साधारणसभाको योगीकुटीमा उद्घाटन गर्दै नगर प्रमुख खाँणले हरेक नगरवासीलाई स्वच्छ खानेपानी पर्याप्त मात्रामा उपलब्ध गराउनु पर्ने बताउनुभयो । पानीको स्वच्छता र पर्याप्ततालाई ध्यानमा राखेर वितरण प्रणालीलाई वैज्ञानिक बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

देशको विकास र समृद्धिका लागि तीन तहकै सरकार सँगै हरेक संघसंस्था पारदर्शी ढंगले चल्नुपर्ने भन्दै उहाँले तिलोत्तमा नगरलाई भ्रष्टाचारमुक्त बनाउँदै विकास र समृद्धिमा अगाडि बढाउन सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख जगेश्वरीदेवी चौधरीले नगरका सबै नागरिकलाई खानेपानीको पहुँचमा ल्याउनु पर्नेमा जोड दिनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गुणनिधि पोखरेलले ११ वटा खानेपानी आयोजना संचालन भइरहेको र अबको दुई वर्षमा ती आयोजना पूरा हुँदा सम्पूर्ण रुपन्देहीवासी स्वच्छ खानेपानीको पहुँचमा पुग्ने जानकारी दिनुभयो ।

कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त कार्यालय प्रमुख अतुलेशकुमार कर्णले खानेपानी, सरसफाइ र ढल निकासको उचित व्यवस्थापनमा सबैको सहयोग र सहकार्य आवश्यक भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार