सप्तरी : आफूले अध्ययन गरेकै क्षेत्रमा लागेको हुँदो हो त, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दिलिप मण्डल कुनै न कुनै स्वास्थ्य संस्थामा बिरामीको उपचार गराईरहनु भएको हुन्थ्यो । हेल्थ असिस्टेन्ट (एचए) पढेका मण्डलले १ वर्ष ६ महिना जत्ति मेडिकल पनि सञ्चालन गर्नुभयो । तर फार्मेसीको लाइसेन्स नभए पछि व्यवसाय छाड्नु पर्यो ।
त्यसपछि विदेशिएका मण्डल अन्त्यमा कवाडी व्यवसायमा अडिनु भएको छ । तर यसभित्रका नालीबेली थुप्रै छन् । हेल्थ असिस्टेन्ट (एचए) पढेका मण्डल कसरी कवाडी व्यवसाय तिर लाग्नु भयो त ? सुनौं उहाँकै शब्दमा ।
………………………………………..
नगरपालिकाको संरचना विकास हुँदै गर्दा बजारको यता उता फोहोर थुप्रिन थालेकोले यस भित्र नै रोजगारीको अवसर खोज्न आवश्यक छ, भन्ने मलाई लाग्न थाल्यो । आफैबाट यो अवसरलाई सदुपयोग गर्नु पर्यो भनी डाक्नेश्वरी नगरपालिकाका वडा ६ मा गणेश कवाडी व्यवसाय सुरु गर्ने अठोट गरें ।
आज म परिवारमा नै बसेर आफ्नो परिवारको लागि भविश्य र समुदायका लागि उदाहरणीय काम गर्नुपर्छ भनेर लागिपरेको छु ।
म अहिले ३८ वर्षको भएँ । परिवारमा मेरा १ छोरा र १ छोरी श्रीमती बुवा आमा गरी ६ जना छौं । बुवा आमा खेतीपातीबाट आम्दानी गरिरहनु भएको छ । एच.ए. अध्ययन पुरा गरेको भए पनि रोजगारी पाउन नसकेकोले कतारमा सन् २०१४ मा सुपरमार्केटमा २ वर्ष विताएर स्वदेश फर्किए ।
त्यसपछि आफ्नै गाउँमा रोजगारी सिर्जना गर्ने भनी १ वर्ष ६ महिना जति मेडिकल सन्चालन गरें । तर फार्मेसीको लाइसेन्स नभएकाले व्यवसाय छाड्नु पर्यो । फेरि सन् २०१८ मा मलेसियामा रवरको फाइवरबाट ग्राउन म्याट बनाउने उद्योगमा २ वर्ष काम गरेर फर्किएँ ।
कमाइ राम्रै थियो । तर घरमा बसेर नै केही गरौं भन्ने सोच आएर नेपाल फर्किएँ । जब वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको कार्यक्रममा सहभागी हुन पाएँ, तब मेरो सोच विचार नै फेरियो । पालिकामा BMZ/VCA/WHH सँगको साझेदारीमा महुली सामुदायिक विकास केन्द्र (MCDC) द्वारा सन्चालित सप्तरी जिल्लाको सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ स्वच्छता तथा सुशासन सवलिकरण परियोजना (NPL 1060-18) रहेकोले वास व्यवसायको बारेमा जान्ने मौका पाएँ ।
सन् २०२० मा यो कार्यक्रम सन्चालन हुन थालेको रहेछ । वास व्यवसाय सन्चालन गर्नका लागि लगानीका रुपमा घुम्तीकोष तथा आवश्यक प्राविधिक सहयोग समेत जानकारी पाएँ । बजारमा थुपै किसिमका व्यवसायहरु सन्चालनमा छन् । वास भित्रको कुन व्यवसाय चल्छ भनी परियोजनाका कर्मचारीसँग छलफल हुँदा कवाडी संकलन व्यवसाय नै बजारमा चल्न सक्छ र यस स्थानमा आवश्यक छ भन्ने सुझाव पाएँ ।
घर परिवारमा व्यवसायको बारेमा छलफल गरें । त्यति राम्रो सुझाव नआए पनि व्यवसाय बारेमा वरपरका कवाडी संकलन गर्ने व्यवसाय बुझे । संकलित सामाग्री बर्गीकरण गरेर कहाँ – कहाँ बेच्न सकिने रहेछ ? बजार मुल्य कसरी निर्धारण हुदो रहेछ ? हकरलाई कसरी उत्प्रेरणा जगाउन र आफ्नो व्यवसायमा लान सकिन्छ भनी बुझन् ३ महिना लाग्यो । घरेलु तथा साना उद्योग कार्यालय र कर कार्यालयमा गणेश कवाडी ट्रेडर्स नामक व्यवसाय दर्ता गरें । परियोजनाका कर्मचारीको सहयोगमा परियोजनाले उपलब्ध गराएको घुम्ती कोष रकम प्राप्त गर्न व्यावसायिक योजना बनाएँ ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड डाक्नेश्वरी ५ बाट २ लाख ५० हजार ऋण तथा ७० हजार रुपैयाँ आफ्नो गरी कुल ३ लाख २० हजार लगानी गरी व्यवसाय सन्चालनमा ल्याएँ । बाटोको छेउमा महिनाको ५ सय तिर्ने गरि डेढ कठ्ठा जग्गा भाडा लिएर घेराबार गरें । सुरुमा २० जना सम्म हकरहरुले टोल वस्तीमा रहेका फलाम, टिन, प्लाटिक, साडी जस्ता सामाग्री संकलन गरे ।
फलाम ३ पटक, साडी २ पटक, र प्लाटिक १ जस्ता सामाग्रीहरु विक्री गरें । फलाम लहान, ढल्केवर प्लाष्टिक र सारी इन्डीयाका व्यापारीहरुलाई विक्री गरें । जसबाट खर्च र व्याज तिरेर ५५ हजार भन्दा बढी आम्दानी गर्न सफल भएँ ।
जिल्ला सदरमुकाममा सगरमाथा औद्योगिक क्षेत्र रहेको छ । जसमा कवाडी प्लाष्टिकका सामाग्रीबाट चर्पी, ट्यूवेलको कालो पाइप जस्ता सामाग्री बनाउँदो रहेछ । परियोजनाको कर्मचारीबाट परिचय सँगै सामग्री लैजाने बारे छलफल भएको छ ।
पालिकाको कार्यक्रममा आएका मिनिरल वाटरका बोतल पनि संकलन गरेर कार्यालय सहयोगी मार्फत पठाईदिने गरेका छन् । बजारका पनि मिनिरल वाटरका बोतल, रेडबुलका बट्टा समेत राखिदिने गरेका छन् । वियरका बोतल पनि उठाउने सोच गरेको छु ।
बजारका साइकल, मोटरसाइकल, पंखा, मोटर, जस्ता सामाग्रीका पार्टपुर्जा खोज्न व्यापारीहरु आउने गरेका छन् ।
बैकमा ऋणका लागि धितो खुलेपछि अझै ऋण लिएर व्यवसाय विस्तार गर्ने योजना बनाएको छु । स्वदेशमा नै स्वरोजगार बन्न सकिने रहेछ । आफ्नै गाउँ नगरमा सरसफाइ अभियन्ता भई रोजगारी सिर्जना गर्न सकिने रहेछ ।
………………………….
यसरी देश विदेशमा गएर पनि भनेजस्तो आम्दानी गर्न नसकेका सप्तरी डाक्नेश्वरी नगरपालिका वडा ६ का दिलिप मण्डलले गाउँमै मनग्गे आम्दानी गरिरहनु भएको छ । गाउँ घरमा फोहोर भनेर फ्याँक्ने गरेका वस्तुहरुलाई संकलन गरी विक्री गर्दा गाउँघर फोहोर बन्नबाट जोगिएको छ । यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरैले धेरथोर कमाईरहेका छन् । उहाँले सञ्चालन गर्नुभएको कवाडी व्यवसायले गाउँ ठाउँलाई फोहोर हुनाबाट त जोगाएको छ नै, फोहोरबाट आम्दानी लिन सकिन्छ भन्ने उदाहरण पनि प्रस्तुत गर्नुभएको छ ।
प्रस्तुति : राजु अधिकारी
उघम विकास अधिकृत
महुली सामुदायिक विकास केन्द्र (MCDC) सप्तरी