सिन्धुली : मदन भण्डारी राजमार्गको बलौटेबाट तीन घण्टाको उकालो चढेपछि गुराँसेको पुछार भेटिन्छ । खलखली पसिना छुटाएर उकालो सक्नासाथ आडैमा प्राथमिक विद्यालय छ । गुराँसेसम्म मोटरबाटो छ तर ठाडो उकालो भएकाले वर्षात्मा खोल्दा ट्याक्टरलाई समेत आउजाउ गर्न मुस्किल पर्छ । भर्खरै विद्युत् सेवा पुगेको छ । मिटरबक्स जडान नहुँदा गाउँ अन्धकार नै छ ।
कमलामाई नगरपालिका वडा नं. १ को गुराँसे हायू बस्तीको गाउँमा झुरुम्म घरहरू छन् । घरको दलान जतासुकै बोतलमा पानी भरेर राखिएको छ । लोपोन्मुख हायूहरूलाई सबैभन्दा बढी दुःख नै पानीको छ । गाउँभन्दा तल झोरामा एउटा कुवा छ । त्यहि कुवाको पानी उनीहरूको प्राण धान्ने अमृत हो । गाउँमा २४ घरधुरी छ । पानीको स्रोत एउटा कुवा मात्र हो ।
बिहान झिसमिसेमा पानी भर्न गाग्री लिएर गयो भने ८–९ बजेयता कोही पनि आइपुग्दैनन्, गुराँसेका आमृत हायूले आफ्नो दुस्खको पोको फुकाए । उनले भने, ‘एउटा गाग्री भरिन कम्तीमा २० मिनेट लाग्छ । जतिसुकै हतार भए पनि पालो मिच्न पाइँदैन । पिउने पानी नहुँदा काकाकुल नै भइयो ।’ ठाडो उकालो हिँडेर गाउँ आउने परपाहुनाले पानी पिउन खोज्छन् । यी हायूहरू पानी दिन पनि आनाकानी गर्छन् ।
आफ्नो परिवारलाई टुमटुम पुग्ने गरी मात्र पानी ल्याएको हुन्छ, बाँसको समाग्री बनाउँदै गरेकी कृष्णमाया हायूले बिलौना गरिन्,’ ‘अरुलाई पानी पिउन दिनु भनेको फेरि ४ घण्टाको समय खेर फाल्नु हो । पानीको ज्यादै दुस्ख भयो ।’
०५५ सालतिर एउटा गैरसरकारी संस्थाले गाउँको सिरानमा रिजर्भ ट्यांकी बनाएर हायू गाउँलाई पानी व्यवस्था गरिदिएको र गाउँ नजिकैको खोल्साबाट ल्याएको त्यो पानी वर्षात्को ४ महिनाभन्दा अरु समय धारामा हावामात्र आउने गरेको उनीहरूको गुनासो छ । पानी, पानी भनेर माग गरेको तीन दशक बित्दा पनि कतैबाट सुनुवाइ नभएको सुनमान हायूले बताए ।
‘निर्वाचनका बेला मत माग्न आउने र अन्य समयमा पुग्ने जनप्रतिनिधिहरूलाई उनीहरूले पानीको समस्या राखेको राख्यै छन् । आश्वासनबाहेक पानीको व्यवस्था भएको छैन । पानी ओसार्ने समयमा अन्य काम गर्न पाएर हाम्रो पनि आयस्तर सुध्रिन्थ्यो कि भनेर माग गरेका हौं,’ उनले भने, ‘हुन्छ भन्छन् तर कहिल्यै हुँदैन । मत माग्न आउँदा नेताहरूले मोबाइल नम्बर छाडेर जान्छन्, जित भएपछि फोन गर्दा हुन्छ भन्छन्, तर पानीको सुविधा भने भएन,’ उनको कथन थियो ।
हायू गाउँमा सयको हाराहारीमा मत छ । निर्वाचनको समयमा मत माग्न आक्कलझुक्कल उम्मेदवार पुग्ने गर्छन् । अन्यथा उनीहरूलाई नै राजमार्ग छेउमा बोलाएर कुराकानी गर्छन् । हायू गाउँका ७० वर्षीय मनवीर हायू बारीमा लगाएको वर्षे धान झार्दै थिए । पानीको समस्या ०४८ सालदेखि ०७४ सालसम्मको निर्वाचनमा मत माग्न आउने उम्मेदवारलाई राखेको मनवीरले बताए ।
‘समस्या ज्युँका त्युँ छ, कसैले पानीको व्यवस्था गर्ने चासो नै देखाएनन्,’ उनले भने, ‘हामी घरघरै धारा झारिदिन्छौं भन्छन् । चुनाव सकिएको ५ वर्षसम्म देखा नै पर्दैनन् । निर्वाचनमा मत माग्न त नआउने उम्मेदवार यो उकालो हिँडेर किन आउँथे ।’ वर्षात्को पानी भएपछि पुग्ने बाली कोदोले हायू गाउँ छपक्कै ढाकेको थियो । वर्षे धान र कोदो हुन्छ, पानी नहुँदा यो पाखोबारीमा अरु केही हुँदैन, बेसाएर खाने नै हो, तीनै मनवीरले आफूहरूको अवस्था दर्साए । अति सीमान्तकृत लोपोन्मुख हायू जातीलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाहेक अरु उनीहरूको हातमुख जोड्ने कुनै उपाय छैन ।
पाखोबारीको उब्जनीले त ३ महिना पनि खान पुग्दैन, त्यहि भत्ताबाट गुजारा टारेका छौं,’ मनवीरले भने, ‘गाउँ वरिपरि बाँसघारी हुँदा मान्द्रा, डोका, डालोलगायतका सामग्री बनेर बिक्री गथ्र्यौं, अहिले त बाँस पनि सकिँदै गयो, बाँसका सामग्री खोज्ने पनि त्यति धेरै छैनन् ।’ गाउँमा त्यति धेरै चुनावी रौनक पनि छैन । युवाहरू राजमार्ग छेउछाउ झरेर प्रचारमा हिँड्छन्, हामी बुढाखाडा र केटाकेटी गाउँमै हुन्छौं,’ उनले भने । साभार : राजकुमार कार्की/कान्तिपुर, सिन्धुली