भरतपुरमा बिपन्नलाई धारा जोड्नै महाभारत, सात हजार लिटरसम्म निःशुल्क पाउने व्यवस्था समेत लागु भएन

महानगर भन्छ ‘शतप्रतिशत भरतपुरबासी शुद्ध खानेपानीको पहुँचमा पुग्नेछ’

  वास खबर सम्वाददाता  459 पटक हेरिएको


चितवन : भरतपुर महानगरपालिकाले खानेपानीको पहुँच बिस्तार गरेको दाबी गरिरहँदा गरिब र बिपन्न वर्गलाई भने धारा जोड्न नै सकस हुने गरेको छ । भरतपुरमा वडाको सिफारिस लिएर भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा शुल्क बुझाएर धारा जोड्ने प्रक्रिया रहेको छ । राजस्व, सामान र जडान खर्च जोड्दा एउटा धारा जोड्दा १२ देखि १५ हजार रुपैयाँसम्म खर्च लाग्छ । जुन सामान्य नागरिकको लागि निकै ठूलो रकम हो ।

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा १५ हजार नयाँ थपिएर अहिले खानेपानी प्रयोग गर्ने ३५ हजार घरधुरी पुगेका छन् । अहिले दैनिक तीन लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । महानगरपालिकामा २०७४ मसान्त यता केन्द्र, प्रदेश र स्थानीय तह गरी विभिन्न २३ वटा खानेपानी आयोजनाको निर्माण एवम् मर्मत सम्भार भएका छन् । यो अवधिमा करिब तीन अर्ब ७७ करोड रुपैयाँ खानेपानीको क्षेत्रमा बिनियोजन भएको बोर्डले जनाएको छ ।

धारा जडान शुल्कका कारण विपन्नलाई धारा जोड्नै सकस परिरहेकाले निःशुल्क धारा जोड्ने व्यवस्था हुनुपर्ने नागरिकको माग छ । भरतपुर महानगरपालिका–११ मृगकुञ्ज टोलका राम विश्वकर्माले धेरै पैसा लाग्ने भएकोले खानेपानीको धारा जोड्न नसकेको बताउनुभयो । ‘नयाँ धरा जोड्दा झण्डै १५ हजार जति खर्च हुने रहेछ । फेरि महिनै पिच्छे शुल्क पनि तिर्नुपर्छ । यो रकम हामी जस्तो गरिबको लागि महंगो पर्छ’ उहाँले भन्नुभयो ‘सरकारले नागरिकबाट कर लिएको छ । तर, जलस्रोतको धनी देशमा पानीको समेत शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । यसलाई हटाउनुपर्छ ।’

भरतपुर महानगरपालिकाले सात हजार लिटरसम्म खानेपानी खपत गर्ने ग्राहकलाई निःशुल्क व्यवस्था गरे पनि कार्यान्वयनमा आएको छैन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भएसँगै गरिब तथा विपन्न नागरिकलाई सहुलियत दिने उद्देश्यले निःशुल्क खानेपानी उपलब्ध गर्ने निर्णय गर्नुभएको थियो । खानेपानी बोर्डमा नागरिकले प्रश्न गर्दा आफूहरुलाई थाहा नभएको कर्मचारीहरुले बताउँदै आएका छन् ।

अबको केही समयमै शतप्रतिशत भरतपुरबासी शुद्ध खानेपानीको पहुँचमा पुग्ने गरी आयोजनाहरु निर्माणधीन रहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । उहाँका अनुसार भरतपुरका २९ वटा वडामा खानेपानीको ठूलो–ठूलो आयोजनाहरु निर्माण सम्पन्न भएका छन् भने निर्माणाधीन डीपीआर र सञ्चालनमा आउन बाँकी कामहरु अगाडि बढिरहेका छन् ।

भरतपुरमा निर्माणाधीन खानेपानी आयोजनाहरु

भरतपुर खानेपानी व्यवस्थापन वोर्डका अनुसार २०७४ सालपछि बोर्ड र महानगरपालिकाको सहकार्यमा वडा नं. ९, ११ र १२ सेवा क्षेत्र रहने गरी २२ करोडको धनगढा सहलगानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. २२, १३ र १४ सेवा क्षेत्र रहने गरी तीन करोड रुपैयाँको पटिहानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

यस्तै प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. ६ र १३ सेवा क्षेत्र रहने गरी चार करोड ६४ लाखको देवनगर खानेपानी आयोजनामा दुई वटा ओभरहेड टंकी र दुई वटा डिप बोरिङसहित पाइपलाइन बिस्तार कार्य भई यो आर्थिक मसान्तभित्र घर–घरमा खानेपानी पुग्ने छ ।

यस्तै, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. १५ सेवा क्षेत्र रहने गरी तीन करोड ६० लाखको मंगलपुर खानेपानी आयोजनामा ओभरहेड ट्याङ्की र डिप बोरिङसहित पाइपलाइन बिस्तार भई आयोजना सञ्चालनमा आएको छ ।

यस्तै नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सह–लगानीमा दुई वटा ओभरहेड ट्याङ्की र दुई वटा डिप बोरिङसहित करिब ७२ किमी पाइपलाइन विस्तारसहित भरतपुर महानगरपालिका वडा नं. १० र ११ सेवा क्षेत्र रहने गरी २८ करोडको जखडीमाई सह–लगानी खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गतको सहरी खानेपानी आयोजनामार्फत भरतपुर महानगरपालिका वडा नं. ९ र ६ सेवा क्षेत्र रहने गरी गौरीगञ्ज खानेपानी आयोजना दुई करोडको सर्वेक्षण सम्पन्न भई डीपीआर तयारी भई प्रक्रिया अगाडि बढेकोे छ ।

यस्तै भरतपुर महानगरपालिका वडा नं.  १५ को फूलबारी खानेपानी आयोजना दुई करोड ६९ लाखको हस्तान्तरण लिई १० किमी पाइपलाइन विस्तार गरी सञ्चालनको तयारी अवस्थामा रहेको छ ।

नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गतको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत् एडीबीको सहयोगमा भरतपुर महानगरपालिका वडा नं. १ को रामनगर, ठिमुरा, देवघाट र भरतपुरका केही क्षेत्र मुख्य सेवा क्षेत्र रहने गरी भरतपुर महानगर र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग सहकार्यमार्फत जुगेडी खोलाको मुहानबाट पानी उपयोग हुने गरी आयोजनाको चालु आर्थिक वर्षको अन्त्यमा डीपीआर तयार हुने सम्झौता भएको छ ।

यस्तै भरतपुर खानेपानी व्यवस्थापन वोर्डको आन्तरिक लगानीमा वार्षिकरुपमा खानेपानी विस्तार कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका वडा नं. १ देखि १५ रवडा नं. २२ समेतका सेवा क्षेत्रहरुमा पाइपलाइन विस्तार गरी सेवा वृद्धि गरिएको छ ।

प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं. १ हेटौडा र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. ५ को कैलाशनगर दुई करोड ७१ लाखको आनन्दपुर दुई करोड ४९ लाख रुपैयाँको र वडा नं. १५ को मंगलपुरमा ओभरहेड टंकी निर्माणसहित पाइपलाइन विस्तार कार्य सम्पन्न भई सेवा सुचारु भएर सञ्चालनमा आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार