तनहुँ : रातदिन खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्तामा रहने व्यास–५ चुँदेरकी ७० वर्षीया सोममाया मगरलाई यतिबेला झिसमिसेमै डोकोमा गाग्री बोकेर पानीका लागि भौंतारिरहनु नपर्ने भएको छ । १५ वर्षकै उमेरमा विवाह गरी आएकी उनको ५३ वर्षपछि बल्ल दैनिकी सहज भएको हो । गाउँमा लिफ्ट प्रविधिबाट पानी वितरण भएपछि अहिले उनी घरआँगनमै रहेको धारामा पानी थाप्छिन् ।
‘खानेपानीको समस्या भएपछि ३ छोराले गाउँ छोडे, श्रीमान् बिते पनि म एक्लै गाउँमै बस्दै आएको छु,’ सोममायाले भनिन्, ‘खानेपानीको दुःख थियो, धारा आएपछि अब बल्ल सुख पाइएको छ ।’
खोलाको पानीसमेत ल्याउन बाँध्य हुने स्थानीय ज्ञानुमाया क्षेत्रीले सुनाइन् । उनले भनिन्, ‘गाईवस्तुलाई पनि दिन मन नलाग्ने धमिलो पानी हामीले खाएका छौं । बिहानै खोलाबाट ल्याएको गाग्रीको पानी कति बेला थेग्रिएर संग्लो हुन्छ अनि धितमर्ने गरी खाउला भनि कुरेर बस्नुपर्थ्यो । तर अब भने ती दुःखका दिनको अन्त्य भएको छ ।’ पानीको अभावले बालबालिका पनि पानीको व्यवस्थापन नगरी विद्यालय जान नपाउने अवस्थाको अब भने अन्त्य भएको स्थानीय कामना थापाले बताइन् । ‘मेरा दुई छोरा बिहान ४ बजे मसँगै कुवामा पानी लिन जान्थ्ये,’ उनले भनिन्, ‘पालो कुर्दा कहिले ८/९ बजेतिर घर फर्किन्थेम । खाना पकाउन नभ्याउँदा कहिलेकाहीं विद्यालय पठाउनै पनि सकिएन ।’ पानी अभावमा सरसफाइको अवस्था पनि नाजुक रहेको उनले सुनाइन् ।
खानेपानी अभावमा गाउँ उजाडिँदै गएको स्थानीय दलबहादुर थापाले बताए । उनले भने, ‘पछिल्लो एक वर्षदेखि विद्युतीय लिफ्टिङ प्रविधिबाट खानेपानी उपलब्ध भएपछि बसाइँसराइ रोकिएको छ ।’ खानेपानी आयोजनाबाट ६८ घरमा धारा पुगेको छ । ८ सय ४५ मिटरको दूरीमा रहेको पँधेरी खोलाको मुहानबाट लिफ्ट प्रविधिबाट पानी ल्याएर ३ वटा ट्यांकीमा संकलन गरी गाउँमा वितरण गरिएको छ ।