डेढ अर्ब भन्दा बढीको लागतमा बृहत लिफ्टिङ सुनकोसी खानेपानी निर्माण हुने

  वास खबर सम्वाददाता  457 पटक हेरिएको

उदयपुर : उदयपुरको ताप्ली गाउँपालिका, रौतामाई र लिम्चुङ्बुङ गाउँपालिकाका उपभोक्ताले अब सुनकोसी नदीको स्वच्छ खानेपानी उपभोग गर्न पाउने भएका छन्। नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरले डेढ अर्ब रुपियाँभन्दा बढीको लागतमा बृहत लिफ्टिङ सुनकोसी खानेपानी आयोजना निर्माण गर्न लागेको हो ।

जलवायु अनुकूलित बृहत खानेपानी आयोजना मार्फत आयोजना कार्यालय विराटनगरले निर्माण गर्न लागेकोआयोजनाबाट ६ हजार हजार भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् ।

आयोजनाको स्किम १ बाट लिम्चुङ्बुङ गाउँपालिका–१ देखि ५ सम्म र रौतामाई गाउँपालिका–१ देखि ३ सम्मका ३ हजार २७२ घरपरिवार तथा स्किम २ अन्तर्गत ताप्ली गाउँपालिका–१ देखि ५ सम्मका ३ हजार भन्दा बढी घरधुरीपरिवार लाभान्वित हुने आयोजना कार्यालय विराटनगरका फिल्ड इन्जिनियर सुजित महतोले बताउनुभयो।

तीनवटै पालिकाका ६ हजार ३२७ घरधुरीका कुल ३७ हजार २० जना उपभोक्तालाई लक्षित गरी आयोजना तयार पारिएको आयोजना प्रमुख चोक धितालले बताउनुभयो । उहाँका अनुसार उपभोक्ताले अबको तीन वर्षपछि छ हजार ३२७ वटा धारा मार्फत स्वच्छ खानेपानीको सुविधा उपभोग गर्न पाउनेछन् । बृहत लिफ्टिङ सुनकोसी खानेपानी आयोजना अन्तर्गत एक प्रतिशत रकम स्थानीय उपभोक्ताले नगद जम्मा गर्नुपर्नेछ।

एक करोड ५८ लाख ९६ हजार ५५२ रुपियाँ सम्बन्धित पालिकाको लागत अनुमानका आधारमा उपभोक्ताबाट सङ्कलन गरी जम्मा गरिदिएपछि योजनाको प्रक्रिया अगाडि बढेको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताउनुभयो।

नेपाल सरकारको एक अर्ब ५८ करोड ९६ लाख ५५ हजार १८४ रुपियाँको लगानीमा आगामी २०८२ साल असार ३० गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ।

स्किम १ को आठ ठाउँमा पम्पिङ गरी प्रति सेकेन्ड १७.५ लिटर र स्किम २ मा सात ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १६.५ लिटर पानी तानेर रिजर्व ट्याङ्कीमा जम्मा गरिनेछ। ट्याङ्कीबाट उपभोक्तालाई पाइप मार्फत घरघरमा वितरण गरिनेछ। यो आयोजना उदयपुर जिल्लाको खानेपानीको क्षेत्रमा सबैभन्दा ठूलो आयोजना भएको आयोजना प्रमुख धितालले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार