भक्तपुर : शौचालय सँगै सेप्टिक ट्याङ्क बनाईरहनु नपर्ने, दुर्गन्ध नआउने, एक पटक जडान गरेपछि बर्षौसम्म टिकाउ हुने अनि आर्थिक हिसाबले पनि सेप्टिक ट्याङ्की भन्दा कयौं गुणा सस्तो पर्ने । इण्डोनेसियामा सफलतापूर्वक सञ्चालन भईसकेको यो प्रविधि नेपालमा पहिलो पटक सुरुवात गरिएको हो ।
सेफ वाटर गार्डेन नाम दिईएको यो प्रविधि भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. ३ झौखेलमा निर्माण गरिएको छ । एउटा शौचालय र एउटा बाथरुम सहित निर्माण गरिएको सेफ वाटर गार्डेन कम लागतमा निर्माण र न्यून मर्मत सम्भारमा सञ्चालन गर्न सकिन्छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
इण्डोनेसियामा सफल भईसकेको यो प्रविधि नेपालमा समेत सफल हुने अपेक्षा लिईएको छ । इण्डोनेसिया र काठमाडौ उपत्यकाको तापक्रम लगभग उस्तै हुने भएकाले सफल हुनेमा आफू विश्वस्त रहेको सेफ वाटर गोर्डेनका सिईओ डाक्टर मार्क भान लुले बताउनुभयो ।
सीमित जग्गाका कारण सेप्टिक ट्याङ्क कहाँ बनाउने र सेप्टिक ट्याङ्क भरिएपछि कहाँ कसरी विसर्जन गर्ने ? यो काठमाडौ उपत्यका लगायत सहरी क्षेत्रको साझा समस्या हो । यो प्रविधि सफल भएमा सेप्टिक ट्याङ्क बनाईरहनुपर्ने र भरिएपछि खाली गराईरहनुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ । चाँगुनारायण नगरपालिकाको ३ नम्बर वडाध्यक्ष श्याम सुन्दर धिमालले नगरपालिका, सम्बन्धित घरधनी र दाताको संयुक्त लगानीमा सेफ वाटर गार्डेनको निर्माण गर्न उदघाटन समारोहमै प्रस्ताव समेत गर्नुभयो ।
सेफ वाटर गार्डेन निर्माण गरेको घरधनी हुनुहुन्छ लक्ष्मी थुयाँ । २०७२ सालमा भुकम्पमा घर भत्किएपछि उहाँले अहिलेसम्म पनि घर बनाउन सक्नु भएको छैन । जीर्ण अवस्थाको शौचालय प्रयोग गर्दै आउनुभएकी लक्ष्मी र उहाँका छिमेकी समेत सेफ वाटर गार्डेन निर्माण भएपछि खुसी हुनुहुन्छ ।
नेपालमा खुला दिसामुक्त अभियानका क्रममा निर्माण गरिएको शौचालयका सेप्टिक ट्याङ्कहरु मानवमलमूत्रले भरिन थालेका छन् । जसका कारण अझै पनि केही समुदायले अझै खुला ठाउँमै दिसापिसाब गर्न बाध्य छन् । सेफ वाटर गार्डेनको परिक्षण सफल भएमा खुला दिसामुक्त अवस्थाको दिगोपनामा समेत टेवा पुर्याउन सकिने इको कन्सर्न प्रा.लि.का अध्यक्ष कृष्णराम एण्डोले बताउनुभयो ।
सेफ वाटर गार्डेनको परिक्षण सफल भएमा अन्य धेरै यस प्रविधिको प्रबद्र्धन गर्न सकिन्छ । यसले सेप्टिक ट्याङ्की बनाईरहनुपर्ने र भरिएपछि खाली गरिरहनुपर्ने झन्झटबाट मात्र मुक्ति दिने नभई राज्यको खर्बौ रुपैयाँ समेत जोगिनेछ ।