बारा : पूर्व पश्चिम राजमार्गको बारा स्थित पथलैया – अमलेखगञ्ज सडक खण्ड पार गरेपछि आउँछ ‘३ नम्बर पुल’, उक्त पूल पार गर्नु अघि नै दायाँतिर उक्लिने बाटो छ । त्यही बाटो प्रवेश गर्न साथ सुरु हुन्छ जीतपुरसिमरा नगरपालिकाको वडा नं. २२ मा पर्ने ‘ढुकुवाबास’ ।
ढुकुवाबासमा एक बर्ष पहिलेसम्म खानेपानी र सरसफाइ दुवैको अभाव थियो । गाउँभरिका मानिसहरु कुवाबाट पानी बोकेरै पुर्याउँथे । त्यसपछि गाउँलेकै आग्रहमा मधेस प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको लगानीमा खानेपानीका संरचना बने । तर पानी सञ्चालन हुन सकेन । त्यसपछि गाउँलेले फेरि युनिसेफ नेपाललाई गुहारे ।
युनिसेफ नेपालको केही आर्थिक एवं प्राविधिक सहयोगमा घरघरै धारा निर्माण भए । अहिले खानेपानीको दुःख पूर्ण रुपमा हटेको छ । तर सरसफाइको दुःख भने उस्तै छ । ‘एक घर एक शौचालय’ बनाउनु पर्छ भनेर जत्ति पटक भने पनि गाउँलेले सुनुवाई नगरेपछि युनिसेफ नेपालले स्वयंसेवकहरु परिचालन गरी शौचालय नभएको घरको सर्भेक्षण नै गर्यो।
केही समय अघि ढुकुवाबासमा पुग्दा शौचालय नभएका घरपरिवार समेत उपस्थित भएका थिए । अहिलेसम्म पनि शौचालय नबनाएपछि त्यहाँ व्यापक छलफल भयो । युनिसेफ नेपालका वाश अफिसर बोध नारायण श्रेष्ठले त ‘भोक खप्न सकिन्छ, तर दिसापिसाब रोक्न सकिन्छ ?’ भनेर प्रश्न पनि गर्नुभयो ।
गाउँलेले भ्यू टावरको कुरा उठाएपछि उहाँले अहिले ‘भ्यू टावर’ लाई नभई ‘टोइलेट टावर’ लाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
खानेपानीको न्यूनतम महसुल प्रति महिना ४ सय रुपैयाँ कहाँ बाट तिर्ने बताएपछि उहाँले एउटा उपाय सुनाउनुभयो । ‘विभिन्न देवताको नाममा कुखुरा राखे झैं ‘खानेपानी देवता’ लाई पनि एउटा चढाउनुहोस् त्यहाँबाट पनि हुन्छ नि चार सय रुपैयाँ ।’
उहाँले महिनामा एक बोतल बियर कटौती गरेर पनि खानेपानीको महसुल तिर्न सकिने उपाय सुझाउनुभयो । ‘एक बोतल बियर नपिउँदा महिना भरि पानी खान पाइन्छ । बियर नपिउँदा बाँच्न सकिन्छ, पानी नभए बाँचिन्छ ?’ उपस्थित सबैले भने ‘बाँचिदैन’ । उहाँले फेरि अर्को प्रश्न तेर्स्याउनु भयो ‘वियरले नुहाउँदा मिल्छ ? उपस्थित सबैले हाँस्दै भने ‘मिल्दैन ।’
शौचालय नभएको बस्तीमा पुग्दा जे भयो ? यो भिडियो हेर्नुहोस् ।