खानेपानी र सरसफाइ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनबाट नेपाली टोलीले ल्याएको सन्देश

  वास खबर सम्वाददाता  733 पटक हेरिएको

काठमाडौ : अफ्रिकाको आईभोरी कोष्टमा भएको खानेपानी र सरसफाइ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर नेपाली टोली स्वदेश फर्केको छ । सम्मेलनमा नेपाललाई पनि अन्य देशहरु सरह प्रस्तुतीकरण गर्न र विभिन्न बिषयगत छलफलहरुमा प्रमुख वक्ताको रुपमा स्थान प्रदान गरिएको थियो । नेपालले खानेपानी र सरसफाइ सम्बन्धीका सत्रहरुमा बलियो उपस्थिति जनाई बिषयवस्तु अनुरुप आफ्नो देशमा भैरहेका खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी कार्यक्रमहरुको बारेमा जानकारी गराएको थियो ।

सम्मेलनमा खानेपानी र सरसफाइ सम्बन्धी नयाँ नयाँ प्रविधिको समेत प्रदर्शनी गरिएको थियो । युरोप, अफ्रिका, एसिया र अन्य महादेशका विभिन्न देशहरुले सफलतापूर्वक अवलम्बन गरिरहेका प्रविधिहरु प्रदर्शनीमा राखिएका थिए ।

चार दिनसम्म चलेको सम्मेलनमा भाग लिएपछि नेपाली प्रतिनिधि आफ्नो देशमा पनि केही गर्ने सोच बोकेर फर्किएका छन् ।

 

अफ्रिकाको आईभोरी कोष्टमा भएको सम्मेलन मानव मलमूत्र व्यवस्थापन सम्बन्धी सातौं संस्करण हो । सातौं संस्करणमा आईपुग्दा मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा अन्य देशहरुले धेरै प्रगति गरिसकेको होलान् भन्ने उत्सुकता रहेको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) की कार्यकारी निर्देशक भावना शर्माले जब सम्मेलनमा भाग लिनुभयो, त्यसपछि नेपाल यस क्षेत्रमा खासै पछाडि नरहेको बोध भएको बताउनुभयो ।

उहाँले दक्षिण एसियाली राष्ट्रहरु बंगलादेश र भारतले नेपालको तुलनामा केही बढी प्रगति हासिल गरेको भए पनि नेपालले भेट्नै नसक्ने गरी फड्को मारिसकेको अवस्था नरहेको बताउनुभयो ।

‘बंगलादेशले निक्कै प्रगति हासिल गरिसकेको देखियो, भारत बंगालादेश भन्दा अझै माथि छ, भारतले स्वच्छ भारत अभियान चलायो र सरकारले यो मिसनलाई फटाफट अगाडि बढायो’ उहाँले भन्नुभयो ‘आधारभूत स्तरको सरसफाइ सुविधा नेपालले अगाडि प्राप्त गरे पनि हामी मानवमलमूत्र व्यवस्थापनमा भारत भन्दा पछि छौं, अब हामी अलि जोडले हिड्नुपर्छ ।’

कार्यकारी निर्देशक शर्माले सरसफाइ सुविधाबाट कोही पनि नछुटुन् भन्ने हेतुले ‘शहरव्यापी समावेशी सरसफाइ’ (CWIS) सबै जसो राष्ट्रले अबलम्बन गरिरहेको र नेपालमा समेत यसको दु्रत कार्यान्वयन भईरहेकाले भविश्यमा राम्रो नतिजा दिनेमा विश्वस्त रहेको बताउनुभयो ।

सम्मेलनमा प्रदर्शनीमा राखिएका कतिपय प्रविधिहरु नेपालमा समेत अनुकरण गर्न पाएमा मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा अझ प्रगति हासिल गर्न सकिने उहाँको भनाइ थियो । तर यसका लागि तथ्याङ्क व्यवस्थापन अति आवश्यक रहेको उहाँको भनाइ छ । मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा मानव संशाधनको कमी रहेको र यसको विकासको लागि वातावरण र जनस्वास्थ्य संस्थाले विभिन्न तालिमहरु आयोजना गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

‘हामीले सिक्न र सिकाउन हिच्किचाउनु हुँदैन, हामीले मानवीय स्रोत साधन उत्पादन गर्न र भएकाको क्षमता अभिवृद्धि गर्न लागिपर्नेछौं’ उहाँले भन्नुभयो ।


खानेपानी मन्त्रालयकी सिनियर डिभिज्नल इन्जिनियर मनिना बैद्य खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको चुनौती भनेकै स्रोतको अभाव रहेको बताउनुहुन्छ । उहाँका अनुसार सरसफाइ क्षेत्र राष्ट्रिय प्राथमिकतामा नपरेको बिषय हो । खानेपानी र सरसफाइको कुरा जत्तिसुकै चर्चा भए पनि बजेट र कार्यक्रममा यस क्षेत्रले प्राथमिकता नपाएको उहाँको भनाइ छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको ५० बर्ष अघि स्वीकृत दरबन्दीले खानेपानी र सरसफाइको अहिलेको लक्ष्य हासिल गर्न नसक्ने उहाँको भनाइ छ । ‘हामी सँग प्राविधिक जनशक्तिको अभाव छ, अहिले खानेपानी सँगै सरसफाइको काम पनि गर्नुछ, मौजुदा स्रोतबाट खानेपानी र सरसफाइको उपलब्धी हासिल गर्न असम्भव छ’ उहाँले भन्नुभयो ।

उहाँले स्रोत साधनले भ्याएसम्म लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सिनियर डिभिज्नल इञ्जिनियर बैद्यले नेपालको तर्फबाट प्रमुख वक्ताको रुपमा सहभागी हुनु भई नेपालमा खानेपानीको अवस्था, सुरक्षित खानेपानी वितरणका लागि सरकारको तर्फबाट भईरहेका प्रयास लगायत बिषयमा बोल्नु भएको थियो ।

खानेपानी र सरसफाइ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले अल्पविकसित र विकासोन्मुख राष्ट्हरु बीच ज्ञानको आदानप्रदान गर्ने थलोको रुपमा काम गरेको खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठको बुझाइ छ ।

उहाँले शहरव्यापी समावेशी सरसफाइमा कोही पनि नछुटुन् भन्ने हिसाबले हामी कुन अवस्थामा छौं र हामीले के के गर्नुपर्छ भन्ने बिषयमा ज्ञान आदानप्रदान भएको बताउनुभयो । नेपालमा खानेपानी र सरसफाइको डाटा संकलन गरी वास प्लान निर्माणको प्रयोग भईरहेको एनवास एमआईएस सिस्टमको बारेमा आफूले सम्मेलनमा प्रस्तुतीकरण गरेको र उक्त सिस्टमको अन्य देशले समेत प्रसंसा गरेको बताउनुभयो ।

सहसचिव श्रेष्ठले अहिलेसम्म डाटा व्यवस्थापनमा समस्या रहेको र डाटाको अभावमा स्रोतको विनियोजन हुनुपर्नेमा त्यो हुन नसकेको बताउनुभयो । ‘सही तथ्याङ्क भएमा स्रोतको विनियोजन गर्न र सबैको संयुक्त प्रयासमा दिगो विकास लक्ष्य हासिल गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।

उहाँले शोक पिटको पानीले जमिनमुनिको पानीमा पार्ने प्रदुषणका बिषयमा हालसम्म कुनै अध्ययन हुन नसकेको र यसको अध्ययन गरी विश्लेषण गर्नुपर्ने बताउनुभयो । उक्त अध्ययनले शोक पिट वा सेप्ट्कि ट्याङ्कबाट जमिनमा रसाएको पानीले भूमिगत पानीमा कुनै प्रदुषण नगर्ने देखिएमा त्यसलाई पनि ‘सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ’ अर्थात सेफ्ली म्यानेज्ड स्यानिटेसन मान्नुपर्ने बताउनुभयो ।

पोखरा जस्तो शहरमा समेत ढल जडान नभएको र त्यहाँको शोकपिटबाट बाहिर गएको पानीले भूमिगत पानीमा कुनै असर परेको नदेखिए त्यसलाई पनि सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ मान्नुपर्ने उहाँले बताउनुभयो ।


स्याङ्जाको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले खानेपानी र सरसफाइ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले मानव मलमूत्र व्यवस्थापनका लागि आफूलाई थप उर्जा प्रदान गरेको बताउनुभयो । आफ्नो नगरपालिकामा अहिले पनि मानव मलमूत्र व्यवस्थापनको काम भईरहेको जानकारी गराउँदै उहाँले अझ यसलाई प्रभावकारी बनाईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘म निक्कै उत्साहित छु, राज्यले हामी माथि धेरै लगानी गरेको छ, आर्थिक हिसाबले, समयको हिसाबले हामी माथि धेरै लगानी छ, आफ्नो ठाउँमा केही पनि गर्न सकेनौं भने राज्यले गरेको लगानीको दुरुपयोग पनि हो’ उहाँले भन्नुभयो ।

उहाँले मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा देशभित्रका लागि मात्र नभई अन्तर्राष्ट्रिय जगतकै लागि अवलोकन गर्न लायकको नगरपालिका बनाईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘मानव मलमूत्र व्यवस्थापनमा एकदम चुनौती छ, तर अवसर पनि उत्तिकै छ । म राष्ट्रिय स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको सिकाई केन्द्र बनाएर देखाउनेछु’ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार