गरे के हुन्न ? प्रादेशिक अस्पताल सिरहाले बर्ष दिनमै बनायो उत्कृष्ट अस्पतालको छवि (भिडियो)

  वास खबर सम्वाददाता  1589 पटक हेरिएको

सिरहा : ‘सरकारी अस्पतालमा फोहोर व्यवस्थापनको अवस्था अति नाजुक हुन्छ । शौचालयहरु प्रयोग गर्न सकिने खालका हुँदैनन्, सरसफाइको अभावमा अस्पताल क्षेत्र दुर्गन्धित हुन्छ । एउटा रोगको उपचार गर्न गएको बिरामी अरु पनि रोग थपिएर घर फर्किन्छन् ।’ सरकारी अस्पतालको कुरा गर्ने वित्तिकै धेरैको दिमागमा यस्तै दृश्य घुम्न थाल्छ ।

तर सरकारी अस्पतालहरु माझ मधेश प्रदेशको प्रादेशिक अस्पताल सिरहाले भने छुट्टै परिचय बनाएको छ । सेवाको गुणस्तर सुधार देखि अस्पतालजन्य फोहोर व्यवस्थापनमा प्रादेशिक अस्पताल सिरहाले छोटो समयमा राम्रो उन्नति हासिल गरेको हो ।

अस्पतालले पहिले जस्तो संक्रामक र सामान्य फोहोरलाई एकै ठाउँमा कहिल्यै मिसाउने गरेको छैन । अस्पताल हाताभित्र फोहोर जलाउने विगतको अभ्यासलाई पनि बन्द गरेको छ । बच्चाको सालनाल र मानव अंगहरुलाई प्लासेन्टा पिटमा राखेर व्यवस्थापन गरिएको छ भने संक्रामक फोहोरलाई निसंक्रामक बनाएर मात्र बिसर्जन गर्ने गरिएको छ ।

मधेस प्रदेशमा सञ्चालित ‘स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम’ अन्तर्गत युनिसेफ नेपालको सहयोगमा उदार करुणामयी स्वयंसेवक (एनसीभी) ले अस्पतालजन्य फोहोर व्यवस्थापनका बिषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर देखि कुचिकार समेतलाई एकै ठाउँमा राखेर तालिम गराएपछि प्रादेशिक अस्पताल सिरहाको फोहोर व्यवस्थापन गर्ने तरिका फेरिएको हो ।

हेर्नुहोस् प्रादेशिक अस्पताल सिरहाको फोहोर व्यवस्थापनको तरिका  :

मेसुको अध्यक्षतामा स्वीपर सहितको फोहोर व्यवस्थापन समिति

प्रादेशिक अस्पताल सिरहाले अस्पतालको फोहोरमैला व्यवस्थापनको लागि कुचिकार सहितको प्रतिनिधित्व हुने गरी मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको नेतृत्वमा ‘फोहोरमैला व्यवस्थापन कमिटी’ गठन गरेको छ । फोहोर व्यवस्थापनको लागि डा. नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्माण गरिएको हो । कमिटीको सदस्यहरुमा मेडिकल अफिसर डा. सोनु कुमार यादव, अस्पताल व्यवस्थापन अधिकृत सबनम महतो र नर्सिङ अधिकृत ललिता यादव हुनुहुन्छ ।

कमिटीका अन्य सदस्यहरुमा हाउस किपिङ इन्चार्ज चन्द्रिका कुमार यादव, कार्यालय सहयोगीहरु देवनाथ यादव र रामु भुजेल एवं स्वीपरहरु सुनिल कुमार पासमान, सुरज मल्लिक, र फुल्गेन मल्लिक हुनुहुन्छ ।

फोहोर व्यवस्थापन कमिटीमा स्वीपरहरुको छनौट गर्दा सबै डिपार्टमेन्टको प्रतिनिधित्व सुनिश्चित हुने गरी छनौट गरिएको छ । अस्पतालले ओटी डिपार्टमेन्ट, इण्डोर डिपार्टमेन्ट र ओ.पि.डी. डिपार्टमेन्टबाट क्रमशः सुनिल कुमार पासमान, सुरज मल्लिक, र फुल्गेन मल्लिकलाई छनौट गरिएको हो ।

मधेस प्रदेशको उत्कृष्ट अस्पताल

प्रादेशिक अस्पताल सिरहा न्यूनतम सेवा मापदण्ड पूरा गर्ने सरकारी अस्पतालमा मधेस प्रदेशकै उत्कृष्ट अस्पताल पनि हो । प्रादेशिक अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकन तथा समिक्षाका आधारमा प्रादेशिक अस्पताल सिरहाले ९१ प्रतिशत अंक प्राप्त गरी मधेस प्रदेशमै उत्कृष्टता हासिल गरेको हो ।

गत साउन महिनामा गरिएको प्रादेशिक अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा कलैया अस्पताल भने मधेस प्रदेशको दोस्रो अस्पताल बनेको छ । प्रादेशिक अस्पताल कलैयाले कुल ७२ अंक प्राप्त गरेको थियो ।

प्रादेशिक अस्पताल कलैयामा समेत युनिसेफ नेपालको सहयोगमा उदार करुणामयी स्वयंसेवक (एनसीभी) ले ‘स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम’ अन्तर्गत अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि विभिन्न सामग्रीहरु वितरण गरिनुका साथै प्रयोगात्मक अभ्यास सहित सबै तहका कर्मचारीलाई तालिम दिईएको थियो ।

प्रादेशिक अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा सबैभन्दा पछाडि परेको अस्पताल हो गौर अस्पताल । प्रादेशिक अस्पताल सिरहाले ९१ अंक प्राप्त गर्दा रौतहटको प्रादेशिक अस्तापलले गौरले भने ५० अंक मात्र प्राप्त गरेको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार