मेलम्ची खानेपानीबाट दैनिक ३० हजार डलर वैदेशिक मुद्रा सञ्चितीमा योगदान

भूमिगत पानीको पुनःभरणमा टेवा, नागरिकबाट पानीमा खर्च हुने दैनिक ३ करोड वचत

  पी.टी.लोप्चन  2698 पटक हेरिएको


♦ डल्लु आवास क्षेत्रकी संगीता अम्लागाईलाई पोहोर साल तिर खानेपानी ट्याङ्करवालाको नम्बर कण्ठै हुन्थ्यो, अहिले उहाँलाई खानेपानी आउने तालिका कसैले सम्झाईरहनु पर्दैन । मेलम्चीको पानी आएको दिन देखि खानेपानीको कुनै तनाव झेल्नु नपरेको अम्लागाईले बताउनुभयो । डल्लु क्षेत्रमा दुई दिन बिराएर दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म मेलम्चीको पानी वितरण हुने गरेको छ ।

♦ सामाखुसीको दक्षिणकाली मन्दिर नजिकैकी रुबिना छन्त्यालको हिल टेक पानीले टनाटन भरिएका हुन्छन् । एक दिन विराएर बेलुकी ८ बजेदेखि ११ बजेसम्म आउने पानीले जोडी हिल टेक खाली हुनै पाउँदैनन् ।

मेलम्ची खानेपानी काठमाडौ उपत्यकामा वितरणको कामले दैनिक करिब ३० हजार अमेरिकी डलर वैदेशिक मुद्रा सञ्चितीमा योगदान पुगेको छ । 

मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्न थालेपछि डल्लुकी संगीता अम्लागाई र सामाखुसीकी रुबिना छन्त्यालले जस्तै लाखौं मानिसले भोग्दै आएको पानीको समस्या हटेको छ । छन्त्याल भन्नुहुन्छ ‘ट्याङ्करवालासँग किनेको पानीले कत्ति नै धान्नु र ? किनेको पानी कपडा धुन, सरसफाइ गर्न पनि बडो नापेर चलाउनुपर्थ्यो ।’

ट्याङ्करवाला सँग पानी किन्दा १० हजार लिटर पानीको २ हजार रुपैयाँ पर्छ । जत्ति मितव्ययी तरिकाले चलाउँदा पनि दश दिनको फरकमा एक ट्याङ्कर पानी चाहिने लामिछानेले बताउनुभयो । ‘पानीलाई मात्र महिनाको ६ हजार रुपैयाँ छुट्याउनु पर्थ्यो, भनेकै बेला ल्याईदिए त हुने नि, कहिले त अर्डर गरेको ३ दिन पछि बल्ल पानी ल्याईदिन्थ्यो ।’

 

पानीमा खर्च हुने दैनिक ३ करोड रुपैयाँ वचत

काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग छ । हाल केयूकेएलको आफ्नै स्रोतबाट प्राप्त १२ करोड लिटर र मेलम्चीबाट प्राप्त १४ करोड लिटर गरी हाल दैनिक २६ करोड लिटर पानी वितरण गरिरहेको छ । मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त १७ करोड लिटर पानी मध्ये दैनिक ३ करोड लिटर पानी भने पाईप परिक्षणका लागि प्रयोग भईरहेको केयूकेएलका म्यानेजर एवं प्रवक्ता प्रकाश कुमार राईले बताउनुभयो ।


मेलम्चीबाट प्राप्त १७ करोड लिटर पानी भनेको १७ हजार ट्याङ्कर हो । नीजि क्षेत्रबाट पानी आपूर्ति गर्दै आएका ट्याङ्कर व्यवसायीहरुले एक ट्याङ्कर बराबर २ हजार रुपैयाँ लिदै आएका छन् । ‘मेलम्चीको पानी वितरण भएपछि पानीको जोहो गर्न नागरिकले खर्चने दैनिक ३ करोड रकम बचत भएको छ’ मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ भन्नुहुन्छ ‘ट्याङ्करको पानीमै खर्च हुने रकमको आधारमा हिसाब गर्दा मेलम्चीबाट दैनिक ३ करोड ४० लाख रुपैयाँ बराबरको पानी वितरण भईरहेको छ।’

कार्यकारी निर्देशक श्रेष्ठले मेलम्चीको पानीले राष्ट्रका लागि बहुआयामिक योगदान पुर्‍याएको भए पनि स्थायी तरिकाले पानी ल्याउने बिषयमा सरोकारवालाको ध्यान जान नसकेको बताउनुभयो । ‘हेडवर्क्समा केही स्थायी संरचना निर्माणको काम बाँकी छ, उक्त काम सम्पन्न गरी बाह्रै महिना पानी ल्याउने बिषयमा सरोकारवाला सबैलाई घच्घचाएको छु, तर तत्परता नै देखाउँदैनन्’ उहाँले भन्नुभयो ।

मेलम्ची खानेपानी काठमाडौ उपत्यकामा वितरणको कामले दैनिक करिब ३० हजार अमेरिकी डलर वैदेशिक मुद्रा सञ्चितीमा योगदान पुगेको छ । काठमाडौ उपत्यकामा खानेपानी आपूर्तिका लागि निजी क्षेत्रका ७ सय भन्दा बढी ट्याङ्कर सञ्चालित छन् । खानेपानीको अभाव रहेको बेला ती सबै ट्याङ्कर सञ्चालनमा थिए ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिज्नल इन्जिनियर पदम बहादुर कुँवर भन्नुहुन्छ ‘एक ट्याङ्करले एक दिनमा ३० लिटर मात्र डिजेल खपत गर्दा पनि दैनिक २१ हजार लिटर डिजेल खपत हुन्छ, प्रति लिटर १७५ रुपैयाँले मात्र हिसाब गर्दा पनि डिजेलमा खर्च हुने दैनिक ३६ लाख ७५ हजार रुपैयाँ अर्थात करिब ३० हजार अमेरिकी डलर वैदेशिक मुद्रा जोगिएको छ ।’

‘खानेपानीको ट्याङ्करमा खपत हुने डिजेल किन्ने रकम देशभित्रै रहनु भनेको वैदेशिक मुद्रा सञ्चितीमा योगदान दिनु हो, यो ठूलो उपलब्धी हो ।’ खानेपानी अति आवश्यक सेवा भित्र पर्ने भएकाले खानेपानीका ट्याङ्कर जत्तिबेला पनि गुड्न पाउँछन् । ट्याङ्कर नै प्रयोगमा नआएपछि सडकमा हुने सवारी जाम समेत कहीं न कहीं कम हुने उहाँको भनाइ छ ।

भूमिगत पानीको पुनःभरणमा टेवा

भूमिगत जलस्रोत व्यवस्थापन नीति २०६६ मा नै उपत्यकामा दैनिक ७ करोड लिटर पानी दोहन भएको विषय उल्लेख छ । उपत्यकामा आवश्यक पर्ने पानीको आपूर्ति बढेसँगै भूमिगत जलस्रोतको दोहन कम हुने निश्चित छ । मेलम्चीको पानी आपूर्ति भएपछि भूमिगत पानीको दोहन आफ्सेआफ नियन्त्रण हुने र प्रयोग भएको पानी मध्ये केही पानी जमिनमै विसर्जन गरिने भएकाले भूमिगत पानीको पुनःभरणमा टेवा पुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताउनुभयो ।

भूमिगत पानीको पुनःभरण हुने वित्तिकै भूजलीय वातावरणमा समेत सुधार आउने उहाँको भनाइ छ ।

‘भूमिगत पानीको अत्यधिक दोहनले काठमाडौ उपत्यका भासिने जस्ता कुराहरु बेला बखत सुनिरहेका छौं, तर भूमिगत पानीको पुनःभरणले गर्दा भूमिगत जल भण्डार रित्तिन दिदैन र यसले प्राकृतिक सन्तुलन कायम राख्न मद्दत गर्छ’ उहाँले भन्नुभयो ।


३६ हजार जना प्रत्यक्ष प्रभावित

काठमाडौ उपत्यकामा ७ सय भन्दा बढी खानेपानी ट्यांकर छन् । ७ सय वटा ट्यांकरमा चालक र सहचालक गरी १८ सय जना, व्यवसायी, बोरिङमा काम गर्ने कामदार, संघको कार्यालयका कर्मचारी, तिनका आश्रित परिवार गरी करिव ३६ हजार जना प्रत्यक्ष रुपमा प्रभावित भएको एक अध्ययनले देखाएको छ ।

व्यवसायीहरुका अनुसार चक्रपथभित्र ८० प्रतिशतभन्दा बढी ट्यांकरको पानी खपत हुने गरेको थियो । खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष सुमन पाठकका अनुसार उपत्यकामा अहिले करिब ७० प्रतिशत भन्दा बढी व्यापार घटेको छ ।

मेलम्चीको पानीले उपत्यकाको अधिकांश माग धाने पछि ट्यांकर व्यवसायीको व्यापार सुकेको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले चक्रपथ भित्र कतै एक दिनको फरकमा र कतै भने २ दिनको फरकमा ४ घण्टाको दरले पानी वितरण गरिरहेको छ । अनामगर ट्याङ्कीबाट करिब १६ सय धारामा भने २४सै घण्टा पानी वितरण भईरहेको छ । उपत्यकामा सबैभन्दा बढी ट्यांकरको पानीको माग चक्रपथ भित्र थियो ।

 

मेलम्चीको पानी वितरण हुनु भन्दा पहिला सुक्खा समयमा एउटै ट्याङकरले ५ देखि ७ खेपसम्म पानी ओसार्ने गरिन्थ्यो ।

भनेको समयमा पानी नपाउँदा हैरानी खेप्नुपरेको शान्तिनगर तीनकुनेकी अमित बज्रचार्यले बताउनुभयो । हरेक दुई दिनको फरकमा बिहान ६ बजेदेखि ८ बजेसम्म पानी आउन थालेपछि आनन्दले सुत्न पाएको बज्रचार्यको अनुभव छ । ‘पानीले गर्दा सधैं तनाव हुन्थ्यो, आहा अहिले त कति सञ्चो ।’

अब बर्खा लागे सँगै बन्द हुन्छ भन्ने कुराले भने उहाँ खुब चिन्तित हुनुहुन्छ । ‘पानी भनेको प्राण हो, यो सधैंभरि यसरी नै आईरहनुपर्छ, तर बर्खा लागेसँगै बन्द हुन्छ भन्ने सुनेको छु’ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।’

मेलम्चीको पानी आउन थालेपछि एक पटक पनि ट्याङ्करको पानी नकिनेका बज्रचार्यले ढुक्कले पानी खेलाउन पाएपछि मानसिक तनाबबाट पनि मुक्ति मिलेको बताउनुभयो ।

तेस्रो पटक काठमाडौ ल्याएको मेलम्चीको पानी काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले २०७९ मंसिर २३ गतेदेखि काठमाडौ उपत्यकामा वितरण गरिरहेको छ । त्यस अघि पहिलो पटक २०७७ चैत्र १३ गतेदेखि २०७८ जेठ ३० सम्म वितरण गरेको थियो । त्यसपछि दोस्रो पटक २०७९ वैशाख १० गतेदेखि २०७९ जेठ १६ गतेसम्म वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार