दिसाजन्य लेदो व्यवस्थापनको चुनौती सतहमा देखिन थालेको छ । समुदायमा बनेका शौचालयका खाडलहरु भरिन थालेका छन् ।
“स्वच्छ सफा हाम्रो देश, नयाँ युगमा भयो प्रवेश” भन्दै हर्षोल्लासका साथ नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको पनि तेस्रो वर्ष पूरा भएर चौथो वर्ष लागि सक्यो । कतिपय परिवर्तनहरु स्वाभाविक रुपमा हुँदै जान्छन, कहिलेकाहीं परिवर्तन समयले जबरजस्ती गराइदिन्छ र कुनै परिवर्तनका लागि संगठनात्मक रुपमा अभियान नै चलाउनुपर्छ । स्वाभाविक परिवर्तनले मात्र पार नलाग्ने देखिए पछि संगठनात्मक रुपमा साझा प्रयासबाट हासिल गरिएको पहिलो चरणको उपलब्धी हो, खुला दिसामुक्त नेपाल ।
खुला दिसामुक्त राष्ट्र बनाउनका लागि निर्माण गरिएका नीति तथा कार्यक्रमहरु, कार्यान्वयनका लागि गठन भएका संयन्त्रहरु, सहकार्यका लागि आवद्ध विकास साझेदारहरु र अभियानमा होमिएका आमनागरिकहरुको संयुक्त प्रयास नै उपलब्धी हासिल गर्ने माध्यम बन्यो ।
उपलब्धीलाई संस्थागत गर्नमा असफल
अहिले देशमा संघीय, प्रदेश र स्थानीय तहको गरी तीन तहका सरकारहरु छन् । संघीय सरकारमा हाल थप आशा लाग्दा अनुहारहरु प्रबेश गरेका छन् । जनसरोकारका विषयहरुलाई संघीय र प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको छ । स्रोत र साधनका हिसाबले स्थानीय तह थप सशक्त र स्वायत्त छ । तथापि पक्की बाटो, स्वागतद्वार, फनपार्क, भ्यू टावर, सुविधा सम्पन्न भवनहरु, इत्यादिमा बजेट विनियोजन गरी नयाँ नेपाल निर्माणमा अग्रसर सरकार खुला दिसामुक्तको उपलब्धीलाई संस्थागत गर्न र बेलैमा दिगो सरसफाइका लागि ठोस रणनीति लागू गरी कार्यान्वयन गर्न किन चुक्यो ?
पानीको बहाव आफ्नै गतिमा बगुञ्जेल बरु खासै नोक्सानी गर्दैन तर पानीको बहाव लामो समयसम्म कतै रोकियो र त्यो किन रोकियो, कसरी रोकियो, के हुदैछ भन्ने बारे सोचिएन र, त्यसको समाधानतिर चासो राखिएन भने संकलित पानी विस्फोट भई त्यसले विकराल दुर्घटना निम्त्याउछ ।
खुला दिसामुक्त राष्ट्र घोषणा सँगै खुला ठाउँमा शौच गर्ने प्रवृति रोकियो । विगतमा खुला ठाउँमा देखिने दिसापिसाब चर्पी खाडलमा जम्मा हुन थाल्यो । बिस्तारै राष्ट्रव्यापी अभियान सुस्ताउन थाल्यो, सरकार, साझेदार निकायहरु, नागरिक समाज सबैको नजरमा सरसफाइ एजेण्डाले कम प्राथमिकता पाउन थाल्यो । केही वर्षका लागि खुला दिसाको समस्या कतै बहाव थुनिएको पानी जस्तै भयो । खासै कसैको चासोमा यो विषयले प्रवेश पाएन ।
दिसाजन्य लेदो व्यवस्थापन आवश्यकता र चुनौती
खुला दिसामुक्त घोषणा सँगै थुनिएको दिसाको बहावव्य वस्थापनमा बेलैमा ध्यान नपुग्दा त्यो अब विस्तारै विष्फोट हुदैछ । गाउँ गाउमा शौचालय खाडलहरु भरिन थालेका छन् । दिसाजन्य लेदो व्यवस्थापनका लागि दिसाजन्य लेदो प्रसोधन केन्द्रको अभावमा समुदायले सिधै खेतमा, जंगलमा, खोलामा र खाली सार्वजनिक जग्गामा दिसाको लेदो फाल्न थालेका छन् ।
बजार क्षेत्रमा मोटर लगाएर सिधै नालीमा फाल्ने गरेको पाइएको छ । (स्रोतःउद्यमी हरिचन्द्र कोहार, गैडहवा गाउँपालिका वडा नं. ३, रुपन्देही) यसले खानेपानीको स्रोत लगायत वातावरण प्रदूषित भई मानव स्वास्थ्यमा पर्न सक्ने जोखिमको बारेमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । केही पालिकाहरुमा दिसाजन्य लेदो प्रसोधन केन्द्र भए तापनि आर्थिक र प्राविधिक कारण देखाई दिसाजन्य लेदो संकलन गर्ने ट्याङकर बोलाउन राजी छैनन् । गाउँघरमा शौचालय सफा गर्ने काम गर्दै आइरहेका सरसफाइकर्मीहरुलाई बोलाएर शौचालय सफा गर्ने परिपाठी अफै पनि विद्यमान छ । त्यसरी काम गर्ने सरसफाइकर्मीहरु, उनीहरुको परिवार र सिङ्गो समुदायलाई पर्न सक्ने जोखिम बारेमा कसैलाई चासो रहेको पाइदैन ।
गैडहवा गाउँपालिका वडा नं. ३, रुपन्देहीमा दिसाजन्य लेदो व्यवस्थापनमा काम गरिरहेका एक उद्यमी हरिचन्द्र कोहार भन्छन्, “प्रायः घरधुरीले ट्याङकरमा जम्मा भएको दिसाजन्य लेदो आफ्नै बारीमा फाल्न भन्छन, त्यसो गर्दा हामीलाई खासै समस्या हुदैन तर कतिको त जग्गा हुदैन, त्यस्तो बेलामा फाल्ने ठाउँ खोज्न हामीलाई साह्रै समस्या हुन्छ । कति ठाउँमा समुदायले लखेटेका पनि छन् । त्यसैले सरकारले पालिकामा नै दिसाजन्य लेदो प्रसोधन केन्द्र बनाएमा हामीलाई साह्रै सजिलो हुने थियो ।”
गैडहवा गाउँपालिका वडा नं. ६, रुपन्देहीका उद्यमीद्धय सियाराम मुराव र हिरालालकुर्मी आफ्नो अनुभव यसरी सुनाउछन्, “एकदिन शौचालय खाडल सफा गर्ने क्रममा घरधनीले नै दिसाको लेदो बारीमा फालिदिन भने, हामीले त्यसै गर्यौं । तर त्यस दिन राति ठूलो पानी पर्यो अनि त गाउँभरि नै दिसैदिसा भयो । भोलिपल्ट बैठक बस्यो, हामी सबै उद्यमीहरुलाई बोलाइयो । हामीले आफ्नो गल्ती स्वीकार गर्यौं र सबै उद्यमीहरु मिलेर फोहर पानी ताल परेको ठाउँको पानी सबै सफा गर्यौं ।”
सरसफाइकर्मी –भूमिका उच्च, मूल्यांकन तुच्छ
वास्तवमा सरसफाइकर्मीहरु समाजका नायक नायिकाहरु हुन् जसले आफ्नो स्वास्थ्य समेत जोखिममा पारी हाम्रो समाज र वातावरण स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । विशेष गरेर दिसाजन्य लेदो सफा गर्ने काममा खटेका सरसफाइकर्मीहरुको अवस्था अझै चिन्ताजनक छ । कतिपय सरसफाइकर्मीहरु प्रत्यक्ष रुपमा दिसाजन्य लेदो व्यवस्थापनमा काम गर्दा हुन सक्ने जोखिमको बारेमा अनभिज्ञ छन त कतिपय थाहा हँुदाहुँदै पनि सावधानी अपनाउनुपर्ने कुरालाई सामान्य रुपमा लिन्छन् । एक सरसफाइकर्मी राजु कुर्मी भन्छन्, “कहिलेकाहीं शौचालयको खाडल सफा गर्दा ट्याङकरमा पाइप जोड्ने क्रममा मास्क, पञ्जा लगाइन्छ तर कहिलेकाहीं त्यत्तिकै पनि गरिन्छ ।”
सरसफाइमा काम गर्दा साथीभाइले र आफन्तले किन त्यस्तो काम गरेको, छोड्दे त्यस्तो काम गर्न भन्छन् तर मलाई जे काम गरेपनि कामै हो जस्तो लाग्छ, कहिलेकाहीं मानिसले अलिक फरक व्यवहार गर्दा चाहिं नरमाइलो लाग्छ, अर्का एक सरसफाइकर्मी मंजेश हरिजन आफ्नो अनुभव सुनाउछन् । हामीजस्तो सरसफाइकर्मीहरुलाई आवश्यक सबै सुरक्षा सामग्री उपलब्ध भए राम्रो हुन्थ्यो, उनी भन्छन् ।
निश्कर्ष
नेपालमा खुला दिसामुक्तको उपलब्धी सँगसँगै अब दिसाजन्य लेदो व्यवस्थापनको चुनौती सतहमा देखिन थालेको छ । समुदायमा बनेका शौचालयका खाडलहरु भरिन थालेका छन् । तराइका जिल्लाहरुमा अधिकांश घरधुरीले शौचालयको खाडल भरिएपछि नजिकैको जंगल वा खोलामा दिसा फाल्ने गरेको पाइएको छ भने कसैले नजिकै खाडल खनेर दिसाको व्यवस्थापन गर्ने गरेका छन ।
दिसाजन्य लेदो व्यवस्थापनमा काम गर्ने सरसफाइकर्मीहरु पनि उत्तिकै जोखिममा रहेको पाइन्छ । सरसफाइका देखिएको यी समस्याहरुलाई बेलैमा सम्बोधन गर्न सकिएन भने खुलादिसामुक्त राष्ट्रको रुपमा हामीले हासिल गरेको उपलब्धी निरर्थक हुनुका साथै थप चुनौतीहरु देखा पर्नसक्छ ।
तराईमा रहेका अधिकांश खाडलहरुमा रिङ प्रयोग गरिएको र जमिनमुनिको भाग चुहावट रहित अर्थात पक्की नभएको कारणले दिसाको लेदो जमिनमुनि खानेपानीको स्रोतमा मिसिएर पिउने पानी प्रदुषित भई पानीजन्य रोग लाग्ने जोखिम उत्तिकै उच्च छ ।
हामीले गरेका फोहर सफा गरिदिने, हामीलाई स्वच्छ वातावरणमा सास फेर्नका लागि शौभाग्य प्रदान गरिदिने सम्पूर्ण सरसफाइकर्मीहरुको स्वास्थ्य प्रति सरकार संवेदनशील हुन जरुरी छ । आमनागरिकहरुले पनि समाजमा सरसफाइकर्मीहरुको भूमिकालाई कदर गर्न सकेमा मात्र उनीहरुले मर्यादित भई काम गर्न सक्ने वातावरण निर्माण हुनेछ ।
साथैः दिगो विकास लक्ष्यको अवधारणा अनुरुप स्वच्छ पानी र सरसफाइको लक्ष्य पूरा गर्न सरकारले पुनः एकपटक सम्पूर्ण सरोकारवालहरुसँग समन्वय गर्न आवश्यक देखिन्छ । तीव्र रुपमा सहरीकरण भइरहेका समुदायमा देखिएको दोस्रो चरणको सरसफाइ चुनौतीको समाधानका लागि संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारको दिसाजन्य लेदो प्रशोधन केन्द्रको स्थापना र संचालनका लागि बेलैमा पहल गर्न जरुरी देखिन्छ ।
ब्राउनगोल्ड अवधारणा ढल बिस्तार नभएका एशियाली तथा अफ्रिकी द्रुत सहरीकरण उन्मुख क्षेत्रमा मानव मलमुत्र व्यवस्थापनको पुनकल्पनामा जोड दिन्छ । समस्याको रुपमा रहेको मानव मलमुत्रलाई प्रशोधन गरी त्यसमा रहेको उर्वर शक्तिलाई जैविक मलको रुपमा प्रयोग गर्न सकेमा मानव दिसा खैरो सुनको रुपमा स्थापित हुन सक्छ । ब्राउनगोल्ड परियोजनाले अवलम्वन गरेको यस खोजले विद्यमान सरसफाइ चुनौतीलाई सम्बोधन गर्दै, समुदायको न्यून आर्थिक अवस्थालाई प्रवर्धन गर्नेछ र सीमान्तकृत समुदायको हित गर्ने लक्ष्य लिएको छ ।