काठमाडौ : काठमाडौमा आजबाट बर्षातको पानीको सदुपयोग सम्बन्धी राष्ट्रिय सम्मेलन हुँदैछ । खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपालले ‘बर्षातको पानी संकलन : पानी सुरक्षण र जलवायु परिवर्तनका असरहरुको सम्बोधन’ बिषय राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो ।
बर्षातको पानी संकलनार्थ प्राप्त अवसरहरुलाई दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जलउत्पन्न प्रकोप न्यूनीकरणका सन्दर्भमा सम्बोधन गर्दै पानीको महत्वबारे चेतना जगाउने, उपयुक्त नीतिको लागि पैरवी चलाउने र खानेपानी सम्बन्धी ज्ञान र उपयुक्त नवीनतम प्रविधिको सार्वजनिकीकरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप शाहले जानकारी दिनुभयो ।
सम्मेलनमा विभिन्न विषयका विज्ञहरुद्वारा १६ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा ४ वटा प्राविधिक सत्र हुनेछन् भने दोस्रो प्राविधिक सत्र समानान्तर रुपमा सञ्चालन हुनेछन् ।
सम्मेलनबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष शाहले प्राकृतिक रुपमा मनसुनबाट प्राप्त पानीको समुचित व्यवस्थापन गर्न सके पानीका स्रोतहरु संरक्षित रहने, जमिन हराभरा रहने, बसाईसराई गर्न नपर्ने, कृषि उत्पादन बढ्ने, सिँचाई, जलविद्युत र औद्योगिकीकरणको लागि पर्याप्त पानी उपलब्ध हुने बताउनुभयो ।
सम्मेलनमा नीति निर्माता, उच्चपदस्थ सरकारी कर्मचारी, क्षेत्रगत व्यवसायीहरु, अनुसन्धाकर्ता, विद्यार्थी, प्रमुख साझेदारहरु, प्राज्ञहरु, अभ्यासकर्ता, व्यवस्थापक, विकास साझेदार, प्रदेश र स्थानीय तहका कार्यकारीहरु तथा नागरिक समाजका प्रतिनिधीहरुको सहभागिता रहनेछ ।

अपेक्षित परिणाम :
आकाशेपानी संकलन सम्बन्धी सम्मेलनका प्रमुख वक्तहरुको तथ्यमा आधारित प्रस्तुती, कार्यपत्र प्रस्तोताहरुको अनुसन्धानमा आधारित कार्यपत्र, विज्ञहरुको सामूहिक वहसले नेपालका नीति निर्माता, नेतृत्व, खानेपानीको क्षेत्रमा कार्यरत अभ्यासकर्तामा ज्ञानको अभिवृद्धि गराई त्यसलाई व्यवहारमा ल्याउन नीतिगत परिवर्तन नहुने आयोजकको विश्वास छ ।
♦ सम्मेलन आयोजना समिति एवं स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप शाहले सम्मेलनबाट निम्न परिणाम हासिल हुन सक्ने बताउनुभयो ।
♦ नगरपालिकाहरुमा खानेपानी सम्बन्धित तथा बर्षातको पानी संकलन, वितरण र उपभोग सम्बन्धी पद्धतिलाई प्रबर्धन गर्ने मुख्य मुद्दाहरुको पहिचान हुने ।
♦ नेपालको सरोकारवाला निकाय र विज्ञहरु बीच सम्भावित सहयोगका क्षेत्रहरुको पहिचान गर्ने ।
♦ बर्षातको पानी संकलन र उपयोगका काममा नागरिकलाई अग्रसर गराउन सरकारलाई नयाँ कदम र क्रियाकलाप गर्न सघाउने ।
♦ खानेपानी सुरक्षण तथा दिगो विकास लक्ष्यसँग यसको सम्बन्धमा ज्ञान बृद्धि गराउने ।
सम्मेलनको पहिलो दिन आज समुद्घाटन कार्यक्रम हुने र दोस्रो दिन सामूहिक बहस एवं अन्त्यमा काठमाडौ घोषणापत्र जारी हुने आयोजना समितिले जनाएको छ ।