काठमाडौ : खानेपानी मन्त्रालय र मातहतका निकायले ‘खानेपानी तथा सरसफाइ नियमावली २०७९’ को मस्यौदा माथि बुँदागत छलफल गर्न सुरु गरेको छ । मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्रीको संयोजकत्वमा गठित मस्यौदा समितिले तयार पारेको खानेपानी तथा सरसफाइ नियमावलीलाई बुँदागत रुपमा छलफल गर्न सुरु गरेको हो ।
नियमावलीमा भएको हरेक बुँदालाई खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर नारायण प्रसाद आचार्यले प्रस्तुतीकरण गर्दै व्याख्या गरिरहनु भएको छ । त्यसपछि पालैपालो आफ्नो विचार व्यक्त गर्दै बुँदागत रुपमा स्वीकृति गराउने कार्य भईरहेको छ ।
प्रारम्भिक मस्यौदालाई व्यापक छलफलमा लैजानु अघि मूर्तरुप प्रदान गर्न खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड लगायत निकायले आन्तरिक छलफल गरी संशोधन गर्न सुरु गरेको सिडिई आचार्यले बताउनुभयो ।
प्रारम्भिक मस्यौदाको बुँदागत छलफलमा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल, मन्त्रालयका सहसचिव तथा उपसचिवहरु, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रमाकान्त दुवाडी तथा उपमहानिर्देशकहरु राम कुमार श्रेष्ठ र माधव अधिकारी एवं काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा, पूर्व खानेपानी सचिवहरु, पूर्व उपमहानिर्देशकहरु लगायत सहभागी हुनुहुन्छ ।
आन्तरिक छलफलमा संशोधनका लागि सुझाएका बुँदाहरुलाई तत्काल संशोधन गरी मन्त्रालयको तर्फबाट मूर्त रुप दिईने खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल ईन्जिनियर प्रभात श्रेष्ठले बताउनुभयो ।
मन्त्रालयले मूर्तरुप प्रदान गरेपछि खानेपानी तथा सरसफाइ नियमावलीलाई खानेपानी तथा सरसफाइ क्षेत्रका सरोकारवालासँग व्यापक छलफल गरिनेछ । छलफलमा उठेका बिषयवस्तु र पृष्ठपोषणलाई समेटेर मस्यौदालाई पुनः संशोधन गरिने सिनियर डिभिज्नल ईन्जिनियर श्रेष्ठले बताउनुभयो ।
‘व्यापक छलफलमा लैजानु अघि मन्त्रालयले आन्तरिक रुपमा पुनरावलोकन गरिएको हो’ सिडिई श्रेष्ठले भन्नुभयो ‘यसमा बुँदागत रुपमा केलाएर त्यसमा थप्नुपर्ने बिषय भए थप्ने र कतिपय हटाउनुपर्ने शब्दावली भए हटाईने समेत काम भईरहेको छ ।’
त्यसपछि विभिन्न मन्त्रालयको राय/सुझावलाई समेत समेटेर खानेपानी तथा सरसफाइ नियमावलीलाई अन्तिम रुप प्रदान गरी स्वीकृतिका लागि मन्त्रीपरिषदमा पठाईनेछ ।
‘खानेपानी तथा सरसफाइ ऐन २०७९’ भदौ २१ गते नै पारित भईसकेको छ । ऐन पारित भएको ३१ दिन पछि ऐन लागु हुने प्रावधान भए पनि नियमावलीको अभावमा ऐन कार्यान्वयनमा समस्या आएको छ ।

नियमावलीको कुन परिच्छेदमा के छ ?
खानेपानी तथा सरसफाइ ऐन २०७९ को कार्यान्वयनका लागि खानेपानी तथा सरसफाइ नियमावली २०७९ पारित गर्न लागेको हो । खानेपानी मन्त्रालयले बनाएको नियमावलीको मस्यौदामा २२ वटा परिच्छेद र २१ वटा अनुसूची समेटिएका छन् ।
♦ परिच्छेद १ मा अन्य नियमावलीमा जस्तै प्रारम्भिक राखिएको छ ।
♦ परिच्छेद २ मा उपभोक्ता समितिको गठन तथा दर्ता
♦ परिच्छेद ३ मा खानेपानी तथा सरसफाइ जिम्मेवारी तथा दायित्व
♦ परिच्छेद ४ मा सर्वेक्षण अनुमति पत्र दस्तुर र नवीकरण शुल्क
♦ परिच्छेद ५ मा अनुमति पत्र सम्बन्धी व्यवस्था समेटिएको छ ।
♦ यस्तै, परिच्छेद ६, खानेपानी तथा सरसफाइ सेवाको सञ्चालन तथा व्यवस्थापन
♦ परिच्छेद ७, सेवा उपयोग सम्बन्धी व्यवस्था
♦ परिच्छेद ८, स्वच्छ तथा गुणस्तरीय खानेपानी वितरण प्रक्रिया
♦ परिच्छेद ९, खानेपानी तथा सरसफाइ सेवाको महसुल निर्धारण
♦ परिच्छेद १०, उपभोक्ता हीत तथा कर्तव्य सम्बन्धी व्यवस्था
♦ परिच्छेद ११, धारा तथा मिटर जडान
♦ परिच्छेद १२, ढल सेवा सञ्चालन तथा ढल सेवा शुल्क
♦ परिच्छेद १३, पानीको थोक खरिद तथा विक्री
♦ परिच्छेद १४, खानेपानीको गुणस्तर तथा मापदण्ड
♦ परिच्छेद १५, प्रगोगशालाको स्थापना तथा सञ्चालन
♦ परिच्छेद १६, खानेपानी तथा सरसफाइ सेवाको अनुगमन तथा नियमन
♦ परिच्छेद १७, खानेपानी निर्यात तथा व्यापार
♦ परिच्छेद १८, समन्वय समितिको काम, कर्तव्य र अधिकार
♦ परिच्छेद १९, भूमिगत तथा बर्षातको पानीको उपयोग
♦ परिच्छेद २०, विवाद समाधान
♦ परिच्छेद २१, क्षतिपूर्तिको व्यवस्था
♦ र परिच्छेद २२ मा विविध लाई समेटिएको छ ।