जल प्रतियोगितामा भाग लिनुहोस्, २० लाख बढीको अनुदान जित्नुहोस्

छनौट नभएका अवधारणाको पनि सम्भावित सहकार्यका लागि समन्वय गर्ने

  वास खबर सम्वाददाता  1996 पटक हेरिएको

काठमाडौ : विश्व पानी दिवसको अवसर पारी यूएसएआईडी कर्णाली जल परियोजना (USAID Karnali Water Activity) ले ‘कर्णाली जल प्रतियोगिता’ आव्हान गरेको छ । कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सहकार्यमा घरायसी तथा कृषि कर्मको तहमा जल सुरक्षा र जल–उपयोग सबलतामा नवीनता उत्प्रेरित र प्रोत्साहित गर्न जल प्रतियोगिताको आयोजना गरेको हो ।

जल प्रतियोगितामा विजयी भएका २ वा ३ वटा अवधारणालाई आगामी १२ महिना भित्र कार्यान्वयन गर्ने गरी २० लाख बढी राशीको अनुदान दिईनेछ । प्रतियोगितामा गैरसरकारी संस्थाहरू, समुदायमा आधारित संस्थाहरू र अन्य गैर नाफा मूलक प्रतिष्ठानहरूले भाग लिन पाउनेछन् ।

जल प्रतियोगिताको उद्देश्य :

१) घरायसी र उत्पादनमूलक दुवै प्रयोजनका लागि जल सुरक्षा र जल–उपयोग सबलता सम्बन्धी नवीनतम उपाय र प्रविधिहरू पहिचान गर्न ।

२) प्रस्ट नतिजा देखिएका भरपर्दा अभ्यासहरू र तरिकाहरूको खोजी गर्न जसले एउटा देखिने नतिजा दिनेछन् ।

र ३) उपभोक्ता, सेवा प्रदायक, नवीनताकर्मी र अरू जल सुरक्षा र जल–उपयोग सबलताका सरोकारवालाहरू बीचको ज्ञान आदान–प्रदानलाई प्रोत्साहित गर्न ।

 

जल प्रतियोगितामा पेश गर्न सकिने अवधारणा

घरायसी प्रयोगका लागि जल–सबल प्रविधिहरू, कृषि–कर्म र सिँचाइका लागि स्मार्ट–कृषि र सबल प्रविधिहरू, जलवायु उत्थानशील र जलवायु अनुकूलन प्रविधिहरू, जलाधार संरक्षण र व्यवस्थापन, जल नियमन र क्षमता अभिवृद्धि, पानीको स्रोत संरक्षण, पुनर्स्थापना र पुनर्भरण जस्ता अवधारणा जल प्रतियोगितामा पेश गर्न सक्नेछन् ।

यस्तै खेर जाने पानी व्यवस्थापन, जमिन मुनिको पानी संरक्षण र घरायसी तथा संस्थागत तहमा मलमूत्र व्यवस्थापन, जल चापीय क्षेत्रहरूमा नवीनता (जस्तै, वर्षा/हिउँ/कुहिरो पानीको भण्डारण, पानी जतन गर्ने प्रविधि र औजारहरू, पानी लिप्टिङ) घरायसी तहमै पानीको गुणस्तर जाँच्ने तथा शुद्ध पार्ने (स्थानीय ज्ञान समेत), आदिवासी ज्ञान र राम्रा अभ्यासहरू, जल सुरक्षाका लागि सामाजिक व्यवहार परिवर्तन सञ्चार, लैङ्गिक तथा सामाजिक समावेशी विधिहरू र पूर्वाधार च्यालेञ्जले समेट्ने मुख्य प्राथमिकताका विषयहरू हुन ।

मुख्य प्राथमिक विषयहरू, छनौट प्रक्रिया, मूल्याङ्कनको मापदण्ड र प्राविधिक तथा आर्थिक प्रस्तावका खाकाहरूको थप विवरण यो लिङ्कमा उपलब्ध छः https://tinyurl.com/3snkk6pf

जल प्रतियोगिता देशव्यापी प्रतियोगिता हो ?

कर्णाली जल प्रतियोगिताले देशव्यापी आवेदन स्वीकार गर्ने भए पनि कर्णाली जल परियोजना सँग सान्दर्भिक भएका चुनौतीहरू र अवसरहरूमा केन्द्रित हुनेछ । परियोजनाले भौगोलिक रूपमा कर्णाली नदी जलाधार क्षेत्रका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पर्ने रारा खत्याड, तिला, मध्य कर्णाली र तल्लो कर्णाली जलाधार क्षेत्रका २९ वटा पालिकाहरूलाई समेट्छ । कानुनी रूपमा दर्ता भएका, स्थानीय गैरसरकारी संस्थाहरू र गैर नाफा मूलक संस्थाहरूलाई आवेदनका लागि प्रोत्साहित गरिन्छ ।

विजेताले तयार गरेका नवीनतम समाधानहरूलाई यूएसएआडी कर्णाली जल परियोजनाले यूएसएआईडीका कार्यक्रमहरू सहित वृहत् विकास साझेदारहरूको समुदाय, सरकार र अरू विकास साझेदारहरू सम्म प्रचार र बजारीकरण गर्न पनि सहयोग गर्नेछ । छनौट नभएका अवधारणाको लागि परियोजनाले बजारीकरणको एउटा प्याकेज तयार गर्नेछ र अरू संस्थाहरूमा रोस्टर तयार गरी सम्भावित सहकार्यका लागि समन्वय गर्नेछ ।

कसरी आवेदन दिने ?

आवेदकले आफ्नो अवधारणा पत्र र प्रोफाइल (विद्युतीय संस्करण) यूएसएआइडी कर्णाली जल परियोजनाको इमेल ठेगाना KarnaliWater_Submissions@dai.com मा सन् २०२३ को अप्रिल २१ तारिख, स्थानीय समय अनुसार दिउँसो ५ः३० बजे भित्र पठाइसक्नु पर्नेछ ।

प्रस्ट हुनु पर्ने कुनै जिज्ञासा भएमा आवेदकले कर्णाली जल प्रतियोगिताको इमेल ठेगाना KarnaliWater_Procurement@dai.com मार्फत सन् २०२३ को अप्रिल ५ तारिख, स्थानीय समय अनुसार दिउँसो ५ः३० बजेभित्र सोध्न सक्नेछन् ।

यूएसएआइडी कर्णाली जल परियोजना अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को आर्थिक सहयोगमा DAI Global LLC –DAI ले लागू गरेको एक पञ्चवर्षीय परियोजना हो । परियोजनाले खानेपानी तथा सरसफाइ सम्बन्धी नियमकीय र व्यवस्थापकीय पक्षहरूलाई सबल बनाउँदै जलस्रोत व्यवस्थापन कार्यलाई सुदृढ बनाउने र जलाधार स्तरमा समुदायलाई स्वच्छ, उत्थानशील तथा जल सुरक्षा भएको प्रत्याभूत गर्नेछ ।

परियोजनाले रारा खात्याड, तिला, मध्य कर्णाली र तल्लो कर्णाली जलाधार क्षेत्रका २९ वटा पालिकाहरूमा पानीका स्रोत व्यवस्थापन, जलाधारमा रहेको जैविक विविधता संरक्षण, एवं खानेपानी तथा सरसफाइ सेवा प्रवाहलाई समेट्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार