आज विश्व पानी दिवस, परिवर्तनलाई गति देउ भन्ने नाराका साथ मनाईदै

  वास खबर सम्वाददाता  387 पटक हेरिएको


काठमाडौ : आज मार्च २२ तारिख, विश्व पानी दिवस ‘परिवर्तनलाई गति देउ’ (Accelerating the Change) भन्ने नाराका साथ विश्वभर मनाईदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकास सम्बन्धी महासभाले विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा सबैलाई सजग र सचेत बनाउन विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा २१ औं एजेण्डामा राखिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिख लाई विश्वभर पानी दिवसको रुपमा मनाउन थालिएको हो ।

खानेपानीको संकट समाधानका लागि खानेपानी तथा सरसफाइ क्षेत्रमा हालसम्म भएका उपलब्धीलाई अझ गति दिलाउनुपर्ने यथार्थलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसङ्घले यो बर्षको नारा Accelerating the Change भन्ने तय गरेको जनाइएको छ ।

नेपालको सन्दर्भमा समेत यो नारा निक्कै सान्दर्भिक रहेको खानेपानी तथा सरसफाइ क्षेत्र विशेषज्ञहरु बताउँछन् । नेपालमा आधारभूत खानेपानीको सुविधा समेत नपुगेको जनसंख्या अझै पनि ६ प्रतिशत रहेको र ती जनसंख्यालाई समेत खानेपानी पुर्‍याउन अहिलेसम्मको प्रयासलाई अझ गति दिलाउनुपर्ने आवश्यकता छ ।

विश्व पानीको दिवसको अवसरमा कार्यक्रमहरु

नेपालमा खानेपानीको क्षेत्रमा क्रियाशील संघसंस्थाले दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् । कतिपय संघसंस्थाले हिजो अस्ति देखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपालले ‘बर्षातको पानी संकलन स् पानी सुरक्षण र जलवायु परिवर्तनका असरहरुको सम्बोधन’ बिषय राष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको छ ।

यस्तै सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) आयोजना र खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको सहआयोजनामा कार्यशाला आयोजना गरेको छ । होटेल शंकर लाजिम्पाटमा हुने कार्यक्रममा विभिन्न प्राविधिक सत्र र बिषयगत बहस समेत हुने सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स (सोफेन) का महासचिव राजीव जोशीले जानकारी दिनुभयो ।

यस्तै इन्भाइरोमेन्टल सोलुसन र रिसर्च सेन्टर (ESORCE) र अर्गानाइजेसन अफ वुमन साईन्टिष्ट इन नेपाल (OWSN)  साथै विज्ञान शिक्षक समाज नेपाल (STAN) सँगको संयुक्त पहलमा वाटर एड नेपाल तथा एन्फो सँगको सहकार्यमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

काठमाडौ उपत्यकाका उपमहानगरपालिका, महानगरपालिका तथा नगरपालिकाका विद्यालयहरु बीच हुने वक्तृत्वकला प्रतियोगिताको शीर्षक ‘Accelerating Change: Gender Inclusive WASH’ राखिएको छ ।

दिगो विकास लक्ष्य ६ ले सबैका लागि स्वच्छ पानी र सफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने उल्लेख छ । २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने उद्देश्यले संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्यको प्रतिपादन गरेको हो । दिगो विकास एजेण्डाको प्रारम्भ १ जनवरी २०१६ बाट भएको हो र यो सन् २०३० सम्म रहनेछ ।

दिगो विकास लक्ष्यका कार्यक्रम अन्तर्गतको छैटौं लक्ष्य हासिल गर्न नेपालले १५ औँ पञ्चबर्षीया योजना ((२०७६/०७७ –२०८०/०८१ ) मा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वद्र्धन र किफायती उपयोग गर्ने नीति, रणनीति तय गरेको छ । यस अन्तर्गत सतहको पानीको संरक्षण, वर्षातको आकाशेपानी संकलन, भूमिगत पानीको पुनर्भरण गरी उच्चतम उपयोग गर्ने नीति लिइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार