स्थानीय स्तरमा कानुन नबन्दा खानेपानी सुरक्षा कठीन

शुद्धीकरण प्रणाली विनाका योजना निर्माण गर्न नहुने

  विभु भुसाल  406 पटक हेरिएको

विराटनगर : स्थानीय सरकारले खानेपानी तथा सरसफाइ सम्बन्धी आवश्यक कानुन निर्माण र कार्यान्वयन नगर्दा कोशी प्रदेशमा खानेपानीको सुरक्षा गर्न कठीन भएको सरोकारवालाहरुले बताएका छन् । कोशी प्रदेशको खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाहरुले वातावरण परिवर्तनसँगै खानेपानीको सुरक्षा योजना नबन्दा आउन सक्ने संकटबारे चिन्ता व्यक्त गरे ।

विश्व पानी दिवस २०२३ को सन्दर्भमा आयोजित अन्तरक्रियामा खानेपानी तथा सरसफाइ विज्ञ तथा वास खवरका अतिथि सम्पादक विनोदप्रसाद शर्माले स्थानीय तहहरुले दैनिक प्रशासनिक कामका लागि कानुन बनाउन ध्यान दिँदा खानेपानी तथा सरसफाइ जस्तो आवश्यकीय कानुनको तर्जुमा र कार्यान्वयन छुटिरहेको बताउनुभयो ।

भौगोलिक रुपमा तीनवटै क्षेत्रको नमुना अध्ययनको अवस्था प्रस्तुत गर्दै उहाँले तराई क्षेत्रको बर्जु गाउँपालिकामा एउटा पनि प्रणालीगत खानेपानी आयोजना नभएको बताउनुभयो । जडान क्षेत्रको धरान उपमहानगरपालिकामा ९७ दशमलव १० प्रतिशतमा प्रणालीको खानेपानी पुगेको र पहाडी क्षेत्रको पाँचपखन गाउँपालिकामा ६१ प्रतिशत घरधुरीमा प्रणालीगत खानेपानीको पहुँच पुगेको उहाँको भनाइ छ ।

खानेपानीको पहुँच पुगे पनि सुरक्षित खानेपानीको पहुँचमा भने धेरै नेपालीहरु नपुगेको वक्ताहरुको भनाइ थियो । स्थानीय सरकारहरुले कानुन निर्माण गरी कार्यान्वयन नगरेसम्म जनताले संविधानले तोकेको मौलिक अधिकार उपयोग गर्न नपाउने भन्दै सम्बन्धित निकायले स्थानीय तहलाई खानेपानी तथा सरसफाइ कानुन निर्माण गर्न जोड दिनुपर्ने कार्यपत्र प्रस्तुतकर्ताहरुको भनाइ थियो ।

नेपालको संविधानको अनुसूची ८ मा आधारभुत खानेपानी, स्थास्थ्य र सरसफाइ स्थानीय सरकारको एकल अधिकार क्षेत्रभित्र राखिएको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय सरकारले संविधान जारी भएको तीन वर्षभित्र एकल अधिकार क्षेत्रभित्रका कानुन बनाई कार्यान्वयन गरिसक्नुपर्ने थियो ।

तर अधिकाँश स्थानीय तह यसमा चुकेको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरे । स्थानीय तहमा खानेपानी तथा सरसफाइ योजना निर्माण नहुँदा यस क्षेत्रमा के खाडल रहेको छ र सोको पूर्तिका लागि आवश्यक श्रोतहरुको समेत निर्क्यौल हुन सकेको छैन । सुरक्षित खानेपानीका लागि पालिका तहहरुले नै आवश्यक कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा भुमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बिराटनगरका वरिष्ठ जलस्रोत विज्ञ सुरेन्द्र शाहले तराई क्षेत्रमा भूमिगत पानीको प्रयोग नै उपयुक्त भएको बताउनुभयो । नेपालको कुल जलस्रोत मध्ये ३० दशमलव १ प्रतिशत पानीको स्रोत भुमिगत भएकोले यो पानी धेरै प्रयोग गर्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्लेले कोशी प्रदेशमा खानेपानीको समस्या समाधान गर्न क्रमागत आयोजनाहरुलाई बहुवर्षीय आयोजनामा रुपान्तरण गरी बजेटको सुनिश्चितता गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी उहाँले खानेपानी आयोजना निर्माण र सञ्चालन सम्बन्धी स्पष्ट कार्य जिम्मेवारीको व्यवस्था हुनुपर्ने, स्पष्ट कानून तथा नीतिहरुको व्यवस्था हुनुपर्ने, खानेपानी तथा सरसफाइको क्षेत्रमा सर्वपक्षीय सहभागिता बढाउँदै लैजानुपर्ने बताउभुयो ।

कार्यक्रममा पानी परीक्षण प्रयोगशाला इटहरीका रसायनशास्त्री रमेशकुमार यादव, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंह, मन्त्रालयका खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख रमेश पौडेल लगायतले खानेपानीको अवस्था, सुरक्षा र यसको चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेयाङ्वो लिम्बुले प्रदेशमा खानेपानी योजनाहरुको सन्दर्भमा कुनै वर्षौंसम्म बन्न नसकेको, बनेर पनि सञ्चालन हुन नसकेको लगायतका समस्या देखिएको बताउँदै यस्ता समस्यालाई तत्काल समाधान गर्न डिभिजन प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

‘कतै पाइप नपाएर खानेपानी पाएका छैनन्, कतै पाइप वर्षौंदेखि थुप्रिएर रहेका छन्’ उहाँले भन्नुभयो, ‘यस्तो समस्या अब नआओस् ।’

मन्त्रालयका सचिव नवीनकुमार सिंहले मन्त्रालयले खानेपानी तथा सरसफाइको क्षेत्रमा सबै सरोकारवालासँग सहकार्य गरेर जाने योजना बनाएको जानकारी दिँदै, प्रदेशले जति सक्दो छिटो खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना निर्माण गर्ने तयारी गरेको बताउनुभयो ।

संघीय मन्त्रालयसँग बजेटका सम्बन्धमा साझा सहमति जुटाएर जतिसक्दो छिटो स्थानीय तहको वास योजना निर्माण हुने उहाँको भनाई थियो ।

कार्यक्रममा सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव मोनराज चापागाईं, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका योजना महाशाखा प्रमुख राधाकृष्ण खतिवडा, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ सुनसरीका अध्यक्ष डम्बर सिग्देल, सामुदायिक समाज उत्थान केन्द्रका कार्यक्रम संयोजक हरि बुढाथोकी लगायतले सुरक्षित खानेपानीको उपलब्धता नै अहिलेको मुख्य सवाल भएकोले यसका लागि सरोकारवालाहरुको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

कोशी अस्पतालमा सुरक्षित पानी ट्याँकी

यसै अवसरमा मन्त्रालयले कोशी अस्पतालमा निर्माण गरेको सुरक्षित खानेपानी ट्यांकी हस्तान्तरण गरेको छ । मन्त्रालयका सचिव नवीनकुमार सिंहले कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईलाई खानेपानी ट्यांकीको स्वामित्व हस्तान्तरण गर्नुभयो ।

मन्त्रालयको तर्फबाट मन्त्री तिलकुमार नेम्वाङ्ले स्वामित्व हस्तान्तरण भएको प्रमाणपत्र अध्यक्ष भट्टराईलाई प्रदान गर्नुभयो ।


मन्त्रालयले प्रतिघण्टा १२० लिटर पानी शुद्धीकरण गर्न सक्ने पानी प्रशोधन प्रणाली र पानी संकलन गर्ने टंकी कोशी अस्पतालमा उपलब्ध गराएको हो । मन्त्रालयले अस्पतालको वहिरंग विभागमा आउने विरामी र उनीहरुका आफन्तका लागि प्रतिघण्टा २५० पानी शुद्धीकरण गर्न सक्ने प्रणाली र पानी संकलन गर्ने टंकी निर्माण गरिदिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

यससँगै उक्त खानेपानी प्रणालीको स्वामित्व औपचारिक रुपमा कोशी अस्पतालको मातहतमा आएको छ । मातहतमा आएपछि अध्यक्ष भट्टराईले खुशी व्यक्त गर्दै अस्पतालमा आउने विरामी र उनीहरुका आफन्तहरुका लागि ठूलो राहत भएको बताउनुभयो । उहाँका अनुसार कोशी अस्पतालमा हाल दैनिक १२ सय देखि १५ सय सम्म विरामी वहिरँग सेवाका लागि आउने गरेका छन् ।

उपभोक्ता संस्था सम्मानित

यसैगरी मन्त्रालयले खानेपानी तथा सरसफाइको क्षेत्रमा उत्कृष्ट काम गर्ने प्रदेशभरीबाट छानिएका खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्थाहरुलाई सम्मान गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री नेम्वाङले प्रमाणपत्र मार्फत सँस्थाहरुलाई सम्मानित गर्नुभएको हो ।

आफ्नो क्षेत्रमा उत्कृष्ट प्रर्दशन गरेका संस्थाहरुलाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सिफारिसको आधारमा सम्मानित गरिएको मन्त्रालयका सविच सिंहले जानकारी दिनुभयो ।

यसरी सम्मानि हुनेमा इलामको थानदेवी वरबोटे बृहत खानेपानी, तथा सरसफाइ उभोक्ता संस्था, झापाको चन्द्रगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, मोरङ्को झोराहट खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समिति, उदयपुरको बसाहा सामुदायिक खानेपानी तथा सरसफाई उभोक्ता समिति, खोटाङ्को राबुखोला लिदिरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, संखुवासभाको गैरी पाङ्मा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, भोजपुरको षडानन्द तित्रिडाँडा र छाँगो मुहान खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, तेह्रथुमको तेलिया, धनकुटाको भेडेटार, पाँचथरको राँकेबजार र ताप्लेजुङको हाङ्पाङ् खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्था सम्मानित भएका हुन् ।


सम्मानित भएपछि चन्द्रगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव बाबुराम कार्कीले अबका योजनामा खानेपानी शुद्धीकरण प्रणाली विनाका योजना निर्माण गर्न नहुने बताउनुभयो ।

उहाँले खानेपानी योजना निर्माण सम्पन्न गरिरसकेपछि पानी झारेर त्यत्तिकै छोडिदिने प्रबृत्ति रहेको भन्दै आयोजना सञ्चालन भएपछिको मर्मत र सम्भारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । यसो नहुँदा धेरै खानेपानी आयोजनाहरु जीर्ण भएको भन्दै कार्कीले यस्तो प्रबृत्तिले राज्यको लगानी अनुत्पादक क्षेत्रमा खेर गइरहेको बताउनुभयो ।

विश्व पानी दिवस प्रदेश राजधानी विराटनगरमा मुल कार्यक्रम गरेर मनाईएसँगै डिभिजन कार्यालय भएका प्रदेशका जिल्लाहरुमा पनि विविध कार्यक्रमहरु गरिएको सचिव सिंहले जानकारी दिनुभयो । खानेपानीको महत्वको बारेमा धेरै बोल्न नपर्ने भन्दै उहाँले पानी दिवस एक दिन मात्रै नभइ वर्षैभरी पानीको महत्व आत्मसाथ गरेर व्यक्तिगत, घरयासी तथा सँस्थागत तहमा मनाउनुपर्ने उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार