वायु प्रदुषणबारे सचेतना कति छ ?

  बेलिना थापा  845 पटक हेरिएको

बेलिना थापा

काठमाडौ : नेपालको संविधान (पहिलो संशोधन), २०७२ को धारा ३० मा स्वच्छ वातावरणको हक समेटिएको छ । जसको एक नम्बरमा भनिएको छ, ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने छ ।’

दुई नम्बरमा भनिएको छ, ‘वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने छ ।’ के संविधानमा भनिए अनुसार नै भएको छ ? संविधानमा उल्लेख गरिए अनुसार नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाएका छन् होला त ?

१८८ पन्नाको संविधानको पाना पल्टाउँदै गर्दा अचम्म लाग्छ । संविधानमा व्यवस्था छ तर, व्यवहारमा छैन । स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । यस विषयमा हामी नागरिककै ध्यान नगएको हो कि ? सम्बन्धित निकायको ।

नेपालमा बर्षेनी ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । यसमा पनि २२ हजार नागरिक पिएम २ दशमलव ५ (ग्यासजन्य कण) शरीरमा प्रवेश गरेका कारण मृत्यु हुने गरेको छ ।

विकासतर्फ लम्किरहेको नेपालमा निर्माण प्रक्रिया अघि बढेको छ । उद्योग कलकारखानाहरु स्थापना भइरहेका छन् । सुख्खायामको समयमा वन डढेलोको घटना बढीरहेको छ । सवारी साधनको चाप उत्तिकै छ । सहरी क्षेत्रमा बसाईसराईको क्रम पनि बढीरहेको छ ।

फोहोरमैला यत्रतत्र छ । अझ भन्ने हो भने, देशको राजधानी काठमाडौंमा पहाड, हिमाल र तराई क्षेत्रबाट आउनेहरुको संख्या बढिरहेको छ । काठमाडौमा विश्व पाइन्छ पनि भनिन्छ । ७७ जिल्लाका नागरिक यही थुप्रिएका छन् । बाहिरी मुलुकका नागरिक पनि घुम्न, अध्ययन, अनुसन्धानका लागि यहि आउने गर्छन् । विश्वका देशबारे बुझ्न, नेपालको समग्र अवस्था बुझ्न र जान्न काठमाडौंमा बसे हुन्छ भन्ने भनाई केही व्यक्तिको छ ।

अहिले चिन्ताको विषय बनेको छ, वायु प्रदूषण । नागरिकलाई प्रदूषित वातावरणमा जीवनयापन गर्नुपर्ने बाध्यता छ । कलकारखानाबाट निस्केको धुँवा, पूराना सवारी साधनबाट निस्केको कालो धुँवा, वन डढेलो लाग्दा निस्केका धुँवा, कृषि अवशेषहरु जलाउँदा निस्कने धुुँवा, फोहोरमैला जलाउँदा निस्कने धुँवा, सूर्तीजन्य पदार्थ, धुम्रपानको प्रयोगले दैनिक रुपमा वातावरण फोहोर हुँदै गएको विज्ञहरु बताउँछन् ।

वायु प्रदूषणबारे केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न योजना, कार्यक्रम ल्याएको सुनियो । तर, खोई नागरिक सामु सचेतना पुगेको ? कतिलाई वायु प्रदूषणबारे जानकारी नै छैन । हावा पनि फोहोर हुन्छ र ? भन्ने गर्छन् ।

काठमाडौंको रत्नपार्कमा मकै पोल्दै गरेकी एक महिलालाई मैले सोधें, ‘यो मकै पोल्दा निस्कने धुँवाले पनि हावालाई फोहोर बनाउँछ रे नि दिदी सुन्नुभएको छ यो कुरा ?’ उनले भनिन्, ‘खोई नानी के थाहा हुनु । बर्षौदेखि मकै पोलेर जीवन गुजारा भइरहेको छ । हामीलाई केही भएको छैन ।’ मैले भने, ‘वायु प्रदूषण भनेको देखिने कुरा होइन रैछ दिदी । विज्ञहरुले भनेका छन् नि । यसले हाम्रो स्वास्थ्यमा असर गर्छ रे ।’

उनले रिसाउँदै भनिन, ‘जे सुकै होस् । यो काम नगरे के खाने हामी ? तिमी हुने नहुने कुरा नगर । कत्ति न बाठी हुन परेकी ।’ ति दिदीलाई जस्तै मलाई पनि एक समय लाग्थ्यो, वातावरण कसरी प्रदूषित हुन्छ, हामीले त पुस्तौंदेखि आँगो बाल्दै आएका छौं । घरमा थुप्रिएको फोहोर पनि जलाउने गर्छौं । हाम्रा पुस्ता बाँचेकै थिए । हामी पनि बाँचेकै छौं ।

जव विद्यालय तह, क्याम्पस तहमा अध्ययन गर्दै गएँ, तब वातावरणको बारेमा बुझ्ने मौका पाए । कामको शिलशिलामा केही वातावरण इन्जिनियरहरुसंग केही छलफल र भलाकुसारी गर्न पाएकाले पनि अझ बढी यस विषयमा जान्न मन लाग्यो । हामीले गरेका क्रियाकलापबाट नै वायु प्रदूषण हुने रहेछ । यसका लागि प्रत्येक नागरिक जिम्मेवार बन्न सक्नुपर्छ अनि सरकार पनि ।

अहिले अधिकांशमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएको छ । यो पनि वायु प्रदूषणकै कारण हुन सक्ने विज्ञहरु बताउँछन् ।

ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत जिना तामाङले वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धि समस्या भई मानिसको मृत्यु हुन सक्छ भन्ने समाचार पढेकी रहिछन् । उनले भनिन्, ‘यो त विश्वकै समस्या रहेछ । नेपालको पनि ठूलो समस्या रहेछ । यसका बारेमा सचेतना छैन ।

सम्बन्धित पक्षले केही गरेको पाइँदैन । न्यूनीकरणमा त सरकार नै जिम्मेवार हुने होला नि । नागरिकलाई पनि घचघच्याउनु पर्ने होला ।’ उनका अनुसार उपत्यकामा सवारी साधनको चाप बढेको छ । बर्षौंदेखिको पूरानो सवारी साधन प्रयोग भइरहेको छ । उद्योगहरु पनि वस्ती नजिकै निर्माण भइरहेको छ । फोहोरलाई पनि जलाउने गरेको पाइएको छ । नागरिकमा चेतना नहुनु र सरकारले ध्यान नदिँदा यो समस्या बढेको उनको बुझाई छ ।

सिन्धुपाल्चोक घर भई ललितपुर क्षेत्रमा बसोबास गर्दै आएका अविशल गजमेरले वायु प्रदूषण के हो? यसको असर के हुन्छ? कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा नागरिकलाई बुझाउन आवश्यक रहेको बताए । उनले भने, ‘कतिको फोहोर बोकेर ट्याक्टरसम्म पुर्‍याउनु भन्दा घरमै जलाउँदा ठिक होला भन्ने बुझाई छ । कतिले त्यही फोहोर जलाउँदै आँगो ताप्छन् । उनीहरुलाई त्यो प्लास्टिकजन्य फोहोर जलाउँदा स्वास्थ्यमा पुग्ने असर बारे ज्ञान नै छैन । खेतिपाती गर्दा बाँकी रहेका ठुँटा, जरा, पात पतिङ्गर जलाउने गरिन्छ । यसको असरबारे कसले भनिदिने ।’

ठूला सहरमा बसेर वायु प्रदूषणको बारे कुरा गरिरहँदा गाउँगाउँका नागरिकलाई पनि बुझाउनुपर्ने आवश्यकता रहेको उनले बताए । उनले भने, ‘गाउँको तुलनामा सहरमा प्रदूषण बढी होला । तर, गाउँका मानिस पनि सचेत हुनुपर्छ । सरकारले योजना बनाउनुपर्छ । कार्यक्रम ल्याउनुपर्छ । कार्यान्वयन गराउनुपर्छ । कतिपय सहरका नागरिकलाई प्रदूषणको बारे थाह नै छैन ।’

काठमाडौंमा बसेर अध्यापन गराईरहेका केदार भट्टराईले वायु प्रदूषणबारे विद्यार्थीलाई जानकारी गराउँदै गर्दा विद्यार्थीले जिज्ञाशु भएर सोध्ने गरेको बताए । उनीहरु यस विषयमा अध्ययन गर्न पाउँदा खुशी हुन्छन् । प्रश्नहरु राख्छन् । वायु प्रदूषण मानव स्वास्थ्यसंग प्रत्यक्ष प्रभाव पार्ने विषय भएकाले सचेत बन्नुपर्ने उनले बताए । सरकारी निकायबाट प्रदूषण नियन्त्रणका लागि योजना, बजेट, कार्यक्रम ल्याउनुपर्ने र प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्नेमा उनको जोड छ ।

नीति बनाउने निकायमा पुग्ने प्रतिनिधिले हरेक विषयको सुक्ष्म अध्ययन गर्नुपर्ने विद्यार्थीहरु बताउँछन् । विषयको ज्ञान नहुँदा नीति निर्माण गर्दा समस्या देखिने गरेको बताउँछन् ।

विज्ञका अनुसार विश्वका ४० लाख नागरिक बर्षेनी वायु प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्या भई मृत्यु हुने गरेको छ । नेपालमा बर्षेनी ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । यसमा पनि २२ हजार नागरिक पिएम २ दशमलव ५ (ग्यासजन्य कण) शरीरमा प्रवेश गरेका कारण मृत्यु हुने गरेको छ ।

प्रदूषणका कारण मुटुरोग, श्वासप्रश्वास, दम, उच्च रक्तचाप, एलर्जीको समस्या हुने गरेको छ । सरकारले पेट्रोल, डिजेलबाट चल्ने नभई विद्युतीय सवारी साधन सञ्चालन गर्दै जाने भनेको छ । यस्ता सवारीको विस्तारै आयात पनि भइरहेको छ । यस्तै खालको कार्यक्रमका लागि सरकारले बजेट, स्रोत साधनहरु उपलब्ध गराउनुपर्ने देखिन्छ । प्रदूषण कम गर्ने प्रविधि भित्र्याउनुपर्छ । प्रदूषण बढी हुने क्षेत्रमा निरीक्षण गर्नुपर्छ ।

हाल कलकारखाना खुल्ने क्रम बढ्दो छ । यसबाट धुँवा र धुलो निस्किरहेको छ । सहरीकरणका कारण भवन निर्माणको क्रम बढेको छ । यातायातका साधनहरु २० बर्ष बढी प्रयोग भएका पनि सञ्चालन भइरहेका छन् । त्यसबाट आउने धुवाँ, धुलो वायुमा मिसिएको छ । विश्वका १० प्रदूषित सहरमध्ये काठमाडौं पनि पर्नु हामी नेपालीका लागि दुर्भाग्यको कुरा हो । पछिल्लो समय ग्रामीण क्षेत्र रहेका जिल्लाहरुमा पनि प्रदूषण बढेको अनुभव हुन थालेको जानकारहरु बताउँछन् ।

अहिले अधिकांशमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएको छ । यो पनि वायु प्रदूषणकै कारण हुन सक्ने विज्ञहरु बताउँछन् । ठाउँ ठाउँमा सडक विस्तार भएको छ । सडकमा दैनिक सवारी साधन आउजाउ हुन्छ । धुलो र धुँवा उत्तिकै हुन्छ ।

मानिस आउजाउ गर्दा धुलो र धुँवाको सिकार हुन्छन् । अनि विरामी पर्न थालेका छन् । विरामी भइयो, यो खासै ठूलो समस्या होइन, औषधी सेवन गर्छु अनि निको हुन्छ, भन्ने गरेका नागरिकलाई किन यस्तो भइरहेको छ भन्ने बारे जानकारी दिन पनि आवश्यक देखिन्छ । सचेत बनाउन सके न्यूनीकरणमा उनीहरुको भूमिका पनि त रहला ।

वायु प्रदूषण बढ्दै जाँदा विज्ञ तथा स्वास्थ्यकर्मीले हातको सरसफाइमा ध्यान दिन, मास्क प्रयोग गर्न सुझाउँदै आएका छन् । यसले केही हदसम्म स्वास्थ्य समस्या घटाउन मद्दत गर्ने उनीहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार