केयूकेएल कर्मचारीको आन्दोलन चर्कियो, कार्यालय अगाडि नाराबाजी

सिईओको बिषयमा अबिलम्ब निर्णय गर्न दबाब

  वास खबर सम्वाददाता  1326 पटक हेरिएको


काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । यस अघि विभिन्न चरणको आन्दोलन गर्दै आएका कर्मचारीहरुले यही १६ गतेदेखि कार्यालय अगाडि पुनः नाराबाजी गर्न सुरु गरेका हुन् ।

सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यको अधिकार कटौती गर्दै नायब उपकार्यकारी ज्ञानेन्द्र कार्कीलाई आर्थिक र प्रशासनिक अधिकार दिएको छ ।

काठमाडौ उपत्यका खानेपानी लिमिटेड, अधिकारिक ट्रेड युनियनले यही चैत्र १० गते केयूकेएल सञ्चालक समितिका अध्यक्ष समक्ष केयूकेएलको स्थायी व्यवस्थापन गर्न निवेदन दिएको थियो । चैत्र १५ गतेभित्र प्रमुख कार्यकारी अधिकृत सम्बन्धमा सञ्चालक समितिबाट कुनै निर्णय नभए १६ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका अधिकारिक ट्रेड युनियन अहिले आन्दोलनरत छ ।

कर्मचारीहरुले १६ गतेदेखि केयूकेएलको मुख्य कार्यालय अगाडि आधिकारिक ट्रेड युनियनसँग प्रमुख कार्यकारी अधिकृतको बिषयमा भएको गतिरोध अन्त्य गर, व्यवस्थापनबाट भएको विभेदपूर्ण सरुवा फिर्ता गर, अधिकारिक ट्रेड युनियनसँग सम्वाद र सहमति गर जस्ता नारा लगाईरहेका छन् ।

‘हामी चरणबद्ध दवावमुलक कार्यक्रम गरिरहेका छौं । CEO को सम्बन्धमा निर्णय गरियोस्, बार्षिक साधारण सभा गरियोस्, पदपूर्ति प्रक्रिया सुचारू गरियोस्, मेलम्ची खानेपानी दिगो रूपमा वितरण व्यवस्थापन गर्न संरचनागत, नीतिगत एवं व्यवस्थापन पक्षमा सुधार गरियोस् भन्ने हाम्रा मुख्य मागहरू हुन्’ अधिकारिक ट्रेड युनियनका सह संयोजक नवलसिंह साउदले वास खबरसँग भन्नुभयो ।

सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यको अधिकार कटौती गर्दै नायब उपकार्यकारी ज्ञानेन्द्र कार्कीलाई आर्थिक र प्रशासनिक अधिकार दिएको छ ।

शाक्यलाई २०७७ मा चार वर्षका लागि सिईओमा नियुक्ति दिइएको थियो । मन्त्रालयका तत्कालीन सहसचिव रितेशकुमार शाक्य संयोजक रहेको सिफारिस समितिले अर्ज‘नबाबु ढकाल, डा. डि.पी. चापागाई र मिलन कुमार शाक्य मध्येबाट सिईओ नियुक्तिका लागि सिफारिस गरेको थियो । लामो रस्साकस्सी बीच तत्कालीन खानेपानीमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी अध्यक्ष भएको केयुकेएल बोर्ड बैठकले शाक्यलाई सिइओमा नियुक्ति गरेको थियो ।

केयूकेएलमा गम्भीर समस्या देखिन थाले

प्रमुख कार्यकारी अधिकृत सम्बन्धमा सञ्चालक समितिबाट निर्णय नहुँदा सुन्दरीजल स्थित मेलम्ची खानेपानी प्रशोधन केन्द्र सञ्चालनमा समस्या, कर्मचारीको नियुक्ति र बढुवा अवरुद्ध भएको सह संयोजक साउदले बताउनुभयो ।

मेलम्ची खानेपानी वितरण व्यवस्थापनमा जनशक्ति अभाव भएको, बार्षिक साधारण सभा हुन नसकेको, सिंगो केयूकेएल सञ्चालनमा दुरगामी महत्वका गम्भीर समस्याहरु सिर्जना भएकोले प्रमुख कार्यकारी अधिकृतको सम्बन्धमा देखिएको अन्यौल तत्काल हटाउन पुनः आन्दोलनमा उत्रनु परेको उहाँले बताउनुभयो ।

केयूकेएल सञ्चालक समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव तिरेस खत्रीले हालै टेलिभिजन कार्यक्रम ‘टक अफ द टाउन’ मा केयूकेएलका प्रमुख कार्यकारी अधिकृतलाई खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिएको र कार्यसम्पादन मूल्याङ्कन भईरहेको बताउनुभयो । अहिलेसम्मको कार्य सम्पादन मूूल्याङ्कनमा ल्याउनुपर्ने जत्ति अंक ल्याउन नसके निजलाई हटाउन सकिने उहाँले बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार