२० लाख बढीको अनुदान जित्ने मौका छुट्न सक्छ, आवेदन दिने म्याद अब तीन दिन मात्र बाँकी

  वास खबर सम्वाददाता  881 पटक हेरिएको

काठमाडौ : पानीको क्षेत्रमा नवीन काम गर्न चाहनेहरुका लागि २० लाख भन्दा बढीको अनुदान प्राप्त गर्न सकिने यस्तो सुवर्ण अवसर फेरि फेरि फर्केर नआउन सक्छ । यदि यो मौकालाई तपाई आफ्नो पक्षमा पार्न चाहनुहुन्छ भने आजै आवेदन दिनुहोस् । किनकि अब आवेदन दिने म्याद ३ दिन मात्र बाँकी छ ।

यूएसएआईडी कर्णाली जल परियोजना (USAID Karnali Water Activity) ले ‘कर्णाली जल प्रतियोगिता’ मा विजयी भएका २ वा ३ वटा अवधारणालाई आगामी १२ महिना भित्र कार्यान्वयन गर्ने गरी २० लाख बढी राशीको अनुदान दिईने यस अघि नै घोषणा गरिसकेको छ । प्रतियोगितामा गैरसरकारी संस्थाहरू, समुदायमा आधारित संस्थाहरू र अन्य गैर नाफा मूलक प्रतिष्ठानहरूले भाग लिन पाउनेछन् ।

यूएसएआइडी कर्णाली जल परियोजना अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को आर्थिक सहयोगमा DAI Global LLC –DAI ले लागू गरेको एक पञ्चवर्षीय परियोजना हो । परियोजनाले खानेपानी तथा सरसफाइ सम्बन्धी नियमकीय र व्यवस्थापकीय पक्षहरूलाई सबल बनाउँदै जलस्रोत व्यवस्थापन कार्यलाई सुदृढ बनाउने र जलाधार स्तरमा समुदायलाई स्वच्छ, उत्थानशील तथा जल सुरक्षा भएको प्रत्याभूत गर्नेछ ।

परियोजनाले रारा खात्याड, तिला, मध्य कर्णाली र तल्लो कर्णाली जलाधार क्षेत्रका २९ वटा पालिकाहरूमा पानीका स्रोत व्यवस्थापन, जलाधारमा रहेको जैविक विविधता संरक्षण, एवं खानेपानी तथा सरसफाइ सेवा प्रवाहलाई समेट्छ ।

यसरी आवेदन दिनुहोस्

यदि आफ्नो अवधारणा पत्र तयार पारिसक्नु भएको छ भने अवधारणा पत्र र प्रोफाइल (विद्युतीय संस्करण) यूएसएआइडी कर्णाली जल परियोजनाको इमेल ठेगाना KarnaliWater_Submissions@dai.com  पठाउनुहोस् ।

अवधारणा पत्र पठाउने अन्तिम मिति :  अप्रिल २१ तारिख, अपरान्ह ५ः३० बजे भित्र

जल प्रतियोगितामा पेश गर्न सकिने अवधारणा

घरायसी प्रयोगका लागि जल–सबल प्रविधिहरू, कृषि–कर्म र सिँचाइका लागि स्मार्ट–कृषि र सबल प्रविधिहरू, जलवायु उत्थानशील र जलवायु अनुकूलन प्रविधिहरू, जलाधार संरक्षण र व्यवस्थापन, जल नियमन र क्षमता अभिवृद्धि, पानीको स्रोत संरक्षण, पुनर्स्थापना र पुनर्भरण जस्ता अवधारणा जल प्रतियोगितामा पेश गर्न सक्नेछन् ।

यस्तै खेर जाने पानी व्यवस्थापन, जमिन मुनिको पानी संरक्षण र घरायसी तथा संस्थागत तहमा मलमूत्र व्यवस्थापन, जल चापीय क्षेत्रहरूमा नवीनता (जस्तै, वर्षा/हिउँ/कुहिरो पानीको भण्डारण, पानी जतन गर्ने प्रविधि र औजारहरू, पानी लिप्टिङ) घरायसी तहमै पानीको गुणस्तर जाँच्ने तथा शुद्ध पार्ने (स्थानीय ज्ञान समेत), आदिवासी ज्ञान र राम्रा अभ्यासहरू, जल सुरक्षाका लागि सामाजिक व्यवहार परिवर्तन सञ्चार, लैङ्गिक तथा सामाजिक समावेशी विधिहरू र पूर्वाधार च्यालेञ्जले समेट्ने मुख्य प्राथमिकताका विषयहरू हुन ।

मुख्य प्राथमिक विषयहरू, छनौट प्रक्रिया, मूल्याङ्कनको मापदण्ड र प्राविधिक तथा आर्थिक प्रस्तावका खाकाहरूको थप विवरण यो लिङ्कमा उपलब्ध छः https://tinyurl.com/3snkk6pf


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार