हो म हत्यारा नै हुँ

  बिवश कुलुङ  795 पटक हेरिएको

बिवश कुलुङ

म हत्यारा हुँ भन्न मलाई डर र लाज लाग्दैन । म हत्यारा नै हुँ । तर १० वर्षे युद्धमा जस्तो गरी कुनै बन्दुक वा बम पड्काएर मैले मान्छे मारेको छुइन । कुनै हतियार उठाएकै छुइन । कसैलाई बेपत्ता बनाएको पनि छुइन । तर मैले १/२ जना होइन, बर्सेनि हजारौंको ज्यान लिने गर्छु ।

वातावरणविद भुषण तुलाधरका अनुसार हावामा फोहोरको मात्रा ६० माइक्रोग्राम प्रति घनमिटर मन्दा तललाई राम्रो, ६१ देखि १२० माइक्रोग्राम प्रति घनमिटर सम्मलाई मध्यम र १२० भन्दा माथिको मात्रालाई अस्वास्थ्य मानिन्छ ।

अझ चार्ल्स शोभराजले जस्तो हत्या गरेर लाश गायब बनाएको पनि छुइन । भनेको छु म हत्यारा नै हुँ । तर मैले एला रोबेर्टाजस्ता हजारौं मानिसको अकालमै ज्यान जाने गरी भएको वायु प्रदूषणमा भूमिका निर्वाह गरेको छु ।

आजभन्दा १० वर्ष अगाडि सन् २०१३ फेब्रुअरी १५ को दिन दक्षिण पूर्वलण्डनकी ९ वर्षीया बालिका एला रोबेर्टाको निधन भयो । उनको मृत्यु भएपछि आमाले छोरीको मृत्युबारे अध्ययन थालिन् । विज्ञहरूसँग कुरा गरिन् । स्वासप्रस्वास विज्ञ डाक्टर स्टिफेन हेल्गेटको सहयोगमा छोरीको मृत्यु घरछेउमा रहेको साउथ सर्कुलर सडकमा डिजेलबाट चल्ने गाडीले ‘नाइट्रोजन डाइअक्साड’ जस्ता विषाक्त धुवाँको मात्रा निकै उच्च रहेको तथ्या फेला पर्यो । आमाले मुद्दा हालिन् र जितिन् । त्यसपछि वायु प्रदूषणको कारण मृत्यु भएको हो भनेर लेखिने एला पहिलो व्यक्ति बनिन् । डिसेम्बर २०२० मा एक अदालतले एलाको मृत्युको कारण वायु प्रदूषण भएको निर्णय गरेको थियो । निर्णयमा मुख्यतया तीन कुरा उल्लेख गरिएको थियो । एला बसेको ठाउँमा वायु प्रदूषण विशेषगरी धुवाँमा हुने ‘नाइट्रोजन डाइअक्साइड’ र ‘पी एम २.५’भन्दा स-साना धुलोका कणको मात्रा मापदण्डभन्दा धेरै थियो, वायु प्रदूषण र स्वास्थ्यमा यसको असरबारे जनचेतना निकै कम छ र बिरामीलाई यसबारे पर्याप्त जानकारी दिइँदैन ।

यसरी वायु प्रदूषणमा मेरो भूमिका छ । तपाइको पनि भूमिका छ । यसबाट बर्सेनि हजारौंको मृत्यु हुन्छ भने दोषी हामी सबै हौं । वातावरण प्रदूषणमा सवारीबाट निस्किने वायुको हिस्सा धेरै छ । ती विषाक्त वायु हामीले चढ्ने सवारीले फाल्ने गर्छ । सवारीले नाइट्रोजन डाइअक्साइड, कार्वन मोनोअक्साइड र हाइड्रोकार्बन विषाक्त धुवाँ फाल्ने गर्छ ।

हामीले गाडी चढ्नै हुँदैन भन्ने होइन तर नियमित सर्भिसिङ गर्ने र नियमित वायुको मात्रा जाँच गरेर न्यूनीकरणमा सहयोग गर्न सक्छौं । स्टेट अफ ग्लोबल एयरको तथ्यांक हेर्ने हो भने नेपालमा मृत्यु हुने विभिन्न कारणहरू छन् । अथवा विभिन्न रोगहरू छन् । तर शीर्ष ५ कारणहरू वायु प्रदूषणसँग सम्बन्धित छन् ।

ग्लोबल एयर तथ्यांकको शीर्षस्थानमा सिओडिपीका कारण नेपालमा १०० जनामा ४१ जनाको ज्यान जाने गरेको छ । सिओडिपीका कारण फोक्सो क्षतिग्रस्त हुन्छ, यसले फोक्सोबाट रक्तप्रवाहमा अक्सिजन प्रबाह गर्न सक्दैन । जसका कारण अकालमै ज्यान जाने गरेका छन् । गाडी र त्यसबाट निस्किँदा र ननिस्किँदा कति काठमाडौंको वायु कति फरक पर्छ भन्ने एउटा सरकारी तथ्यांक हेर्नुहोस् ।

काठमाडौंको वायुमा फोहोरको मात्रा सन् २००५ जनवरी १७ को दिन १८० माइक्रोग्राम प्रति घनमिटर मापन भएको थियो । जनवरी १८ को दिन घटेर ८५ माइक्रोग्राम प्रति घनमिटरमा झरेको थियो भने जनवरी १९ तारेखको दिन १९० माइक्रोग्राम प्रति घनमिटर मापन गरिएको थियो ।

वातावरणविद भुषण तुलाधरका अनुसार हावामा फोहोरको मात्रा ६० माइक्रोग्राम प्रति घनमिटर मन्दा तललाई राम्रो, ६१ देखि १२० माइक्रोग्राम प्रति घनमिटर सम्मलाई मध्यम र १२० भन्दा माथिको मात्रालाई अस्वास्थ्य मानिन्छ । सन् २००५ जनवरी १८ को दिन नेपाल बन्द रहेको कारण काठमाडौंमा फोहोरको मात्रा ८० मा झरेको तुलाधरले बताउनुभयो । यसले पेट्रोल तथा डिजेलबाट चल्ने गाडीले हानिकारक फोहोरको मात्रा कति बढ्छ भन्ने पुष्टि गर्छ ।

नेपालमा विषाक्त वायुका कारण बर्सेनि ४२ हजार १०० जनाको मृत्यु हुने गर्छ । मृत्यु हुने मध्ये धुम्रपानबाट मृत्यु हुनेको हिस्सा २८ हजार रहेको छ । त्यस्तै गाडीबाट निस्किने धुवाँ, उद्योग, घर तथा डढेलोका कारण निस्किने धुवाँ र पिएम १० भन्दा मसिना कणबाट मृत्यु हुनेको संख्या १४ हजार छन् ।

प्रदूषणको विवरण राख्ने वर्ल्ड एयर क्वालिटी इन्डेक्सका अनुसार काठमाडौंमा वायुको गुणस्तर अस्वास्थ्य तहमा अर्थात् १९९ माइक्रोग्राम प्रति घन मिटर छ । नेपालमा वायु प्रदूषण र त्यसले स्वास्थ्यमा प्रभाव पार्ने तत्त्वहरू धेरै छन् । तर देशभर ४२ हजारको ज्यान जाँदा काठमाडौं उपत्यकाभित्र मात्र ५ हजारको मृत्यु हुनुले गाडीबाट निस्किने नाइट्रोजन डाइअक्साइड, कार्वन मोनो अक्साइड र हाइड्रोकार्बन जस्ता विषाक्त धुवाँ प्रमुख कारण हुनसक्छ ।

पेट्रोलियम गाडीको विकल्पमा फोहरलाई प्रयोग गर्न सकिन्छ । फोहरबाट बायोग्याँस उत्पादन गरी आवश्यक प्रशोधन र ‘अपग्रेडिङ’पछि गाडीहरूमा प्रयोग गर्न सकिन्छ। बायोग्याँस पर्यावरण मैत्रीमात्र नभई यसबाट सहरी फोहोरको पनि उचित व्यवस्थापन हुन्छ।

पेट्रोलबाट चल्ने सवारी साधनहरूको सट्टामा विद्युतीय सवारी साधनहरूलाई बढावा दिन सकिन्छ। विद्युतीय रेल, विद्युतीय बस, विद्युतीय कार, मोटरसाइकल तथा हाइड्रोजनबाट चल्ने सवारीले वायु प्रदूषण कम गर्न सकिन्छ । जसका लागि सरकारी तवरबाटै नीतिगत रुपमा पहल हुन आवश्यक छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार