
सामाजिक नक्सा कुनै एक क्षेत्रको सामाजिक एवं भौतिक संरचना, समूह र संगठनहरूको विविध पक्षहरु समेटिएको चित्रमय प्रस्तुति हो । सामाजिक नक्साङ्कनलाई विभिन्न क्षेत्रमा फरक फरक प्रयोजनको लागि प्रयोग गर्ने गरेको पाइन्छ। विभिन्न खाले सूचना बोर्डको प्रयोग प्राचीन कालदेखि गरिएको भए तापनि सामाजिक नक्साको व्यापक प्रयोग बीसौ शताब्दीको प्रारम्भसँगै भएको हो । सामाजिक नक्सा चेतनामूलक जानकारी प्रदान गर्नुको अतिरिक्त पारदर्शिताको उत्तम औजारको रुपमा समेत प्रयोग गर्ने गरेको देखिन्छ ।
त्यसैगरी, खानेपानी तथा सरसफाईको क्षेत्रमा सामाजिक नक्साको व्यापक प्रयोग गर्ने गरिएको पाइन्छ । जसलाई ‘जानकारी बोर्ड’ वा ‘सूचना बोर्ड’ पनि भनिन्छ । अन्य क्षेत्रमा बिभिन्न प्रयोजनको लागि प्रयोग गरिएको जानकारी बोर्डको अनुसरण गर्दै खानेपानी क्षेत्रमा यसको शुरुवात भएको हो । नेपालको सन्दर्भमा पनि यसको निरन्तर प्रयोग भैरहेको छ । यसै क्रममा नेपाल स्वास्थ्यको लागि पानी (नेवा) ले सँगैको तस्विरमा जस्तो सामाजिक नक्सा विगत २५ वर्षदेखि प्रयोग गर्दै आइरहेकोछ।

समुदायको पायक पर्ने स्थानमा सामाजिक नक्सा राखेर गाउँबस्ती, वन जंगल, बाटोघाटो, नदीनाला, विद्यालय, स्वास्थ्यचौकी र खानेपानी वितरण प्रणालीका संरचनाहरु विभिन्न संकेत चिन्हबाट देखाइएको हुन्छ।
सुशासन र पारदर्शिताको चर्चा धेरै चल्ने गरेको तर व्यवहारमा अभ्यास कमै हुने गरेको वर्तमान सन्दर्भमा सामाजिक नक्सा जानकारीमूलक र पारदर्शिताको अनुपम औजार हुने देखिन्छ ।”
सानो समुदाय हुँदा सामाजिक नक्साङ्कन सजिलो हुन्छ भने घरपरिवारको संख्या बढी हुँदा जटिल हुन्छ । तसर्थ, सामाजिक नक्सा आयोजनाको आकार अर्थात घरधुरीको संख्याको आधारमा ठूलो वा सानो बनाउनु उत्तम हुने देखिन्छ । नक्सा बनाउँदा इनामेलको प्रयोग गरिने भएकाले यस्तो नक्सा स्थायी हुन्छ । यस्तो बोर्डमा आयोजनाको नाम र ठेगाना सहित कार्यान्वयन अवधि समेत उल्लेख गरिएको हुन्छ।
सामाजिक नक्सामा आयोजनाको संक्षिप्त विवरण उल्लेख गरिएको हुन्छ। जसमा लाभान्वित जनसंख्या र घरधुरीको संख्याका अतिरिक्त उपभोक्ताहरुको आर्थिक वर्गीकरण अनुसारको क वर्ग, ख वर्ग, र ग वर्गमा पर्ने घरधुरीको संख्या उल्लेख गरिएको हुन्छ। आर्थिक वर्गीकरणले समुदायको वर्ग अनुसारको स्तर निर्धारण हुने भएको हुँदा सोही अनुरुप योजना तर्जुमा गरी संचालन गर्न सहज हुन्छ ।
यसैगरी सामाजिक नक्सामा मुहानको संख्या, ट्याङ्कीको संख्या, पाइपलाइनको लम्बाई, र धाराको संख्या उल्लेख गरिनुका सथै घर र धाराको अवस्थिति समेत रेखांकित गरिएको हुन्छ। घरधुरीको संख्या र धाराको संख्याको आधारमा आयोजना कुन किसिमको हो भन्ने छुट्टयाउन सकिन्छ। साधारणतया, घरधुरीको संख्या भन्दा धाराको संख्या कम भएमा त्यस्तो सामुदायिक आयोजनाको श्रेणीमा पर्दछ भनेर बुझिन्छ । घरघरै धारा भएमा ‘एक घर एक धारा’ आयोजना भनेर बुझ्न सकिन्छ।
यसले एउटा आयोजनाको मात्र नभई संस्थाको सुशासनको तहलाई समेत इङ्गित गर्दछ ।
सामाजिक नक्साको तल्लो भागमा आयोजनाको कार्यान्वयनको लागि सहकार्य गर्ने संघसंस्थाको विवरण उल्लेख गरिएको हुन्छ। जस अन्तर्गत आयोजना कार्यान्वयन गर्ने संस्था, दातृ संस्था, र स्थानीय सरकारको नाम र प्रतीक चिन्ह राखिएको हुन्छ। त्यसैगरी, समाज कल्याण परिषद्को नाम, लोगो र आयोजना स्वीकृत मिति समेत उल्लेख गरिन्छ।
अचेल उपभोक्ताहरुको सुविधालाई मध्यनजर गर्दै टोल-फ्री नम्बर प्रयोग गर्ने गरिएको पाइन्छ । आयोजनाहरूमा देखिएको प्राविधिक समस्याहरू बारेमा समुदायका मानिसहरूले पैसा नलाग्ने फोन नम्बर मार्फत जानकारी गराउँछन् । टोल-फ्री नम्बर प्रयोग गरिएको छ भने आयोजनाहरुको सामाजिक नक्सामा तयार गर्दा सर्वसाधारणको जानकारीका लागि सो नम्बर समेत उल्लेख गरिएको हुन्छ।
आयोजनाको शुरुमा सार्वजनिक सुनुवाई गर्दा फ्लेक्समा प्रिन्ट गरी अस्थायी किसिमको सामाजिक नक्सा प्रयोग गर्न सकिन्छ । जुन आयोजना कार्यान्यवन अवधिभर राख्न सकिन्छ। जसमा अनुमानित बजेट समावेश गरिएको हुन्छ। आयोजना सम्पन्न गरी सार्वजनिक लेखापरीक्षणगर्दै गर्दा स्थायी प्रकृतिको नक्सा राख्नु उपयोगी हुने देखिन्छ। जसमा आयोजनाको वास्तविक खर्च समेत राख्न संभव हुन्छ ।
सामाजिक नक्साले सार्वजनिक रुपमा आयोजनाको बजेट, प्राविधिक र सामाजिक पक्षहरुलाई उजागर गर्नुका साथै आयोजना कार्यान्यवन अवधिभर र त्यसपछि पनि सरोकारवालाहरुलाई आयोजनाको संक्षिप्त विवरण, बजेट र सहकार्य गरेका निकायहरुको विवरणबारे जानकारी दिने हुनाले यसलाई आयोजनाको पारदर्शिताको उत्तम औजार मानिन्छ ।
यसले एउटा आयोजनाको मात्र नभई संस्थाको सुशासनको तहलाई समेत इङ्गित गर्दछ । आयोजनाको कुल लागत, कार्यान्वयन गर्ने संस्था मार्फत दातृ निकायको योगदान, पालिकाको योगदान, समुदायको श्रमदान लगायतका शीर्षकहरुमा विवरण समावेश गरिएको यस्तो नक्सामा अन्य निकायबाट बजेट व्यवस्थापन गरिएको भएमा सोको विवरण समेत उल्लेख गर्नुपर्छ।
खानेपानी आयोजनामा सामाजिक नक्साको उपादेयता यसको प्रयोगमा निर्भर हुन्छ । सुशासन र पारदर्शिताको चर्चा धेरै चल्ने गरेको तर व्यवहारमा अभ्यास कमै हुने गरेको वर्तमान सन्दर्भमा सामाजिक नक्सा जानकारीमूलक र पारदर्शिताको अनुपम औजार हुने भएकाले अन्य विकास निर्माणका कामहरुमा पनि यसको अनुसरण गर्नु उपयुक्त हुने देखिन्छ ।
समयानुकुल प्रविधिको प्रयोग गर्ने क्रममा, भविष्यमा सामाजिक नक्सा ‘डिजिटल सूचना बोर्ड’ को रुपमा राख्न सकिन्छ, जुन वतावरणमैत्री हुन्छ। जसमा समयक्रम अनुसार जानकारी थपघट गर्न सकिन्छ। यद्यपि ग्रामीण खानेपानी आयोजनाहरूमा यस्ता डिजिटल बोर्ड हेर्न अझै केही वर्ष कुर्नु पर्ने देखिन्छ ।
लेखक नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को योजना, अनुगमन तथा रिपोटिंग प्रबन्धक हुनुहुन्छ ।


4776 पटक हेरिएको 

