परियोजनाबाट फेरियो विद्यालय र स्वास्थ्य चौकीको मुहार

पुरानाको मर्मत सम्भार, अपुग भएका स्थानमा नयाँ निर्माण

  वास खबर सम्वाददाता  772 पटक हेरिएको

मिर्चैया (सिराहा) : मान्छे विरामी भए त स्वास्थ्य चौकीमा जान्छन् । तर, स्वास्थ्य चौकी नै विरामी भए के गर्ने ? शिक्षा लिन त विद्यालयमा जाने, तर विद्यालयलाई नै शिक्षा चाहिए के गर्ने ?

यिनै प्रश्नको जवाफ खोज्दै संस्थागत खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनमा जुटिरहेको छ “विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा स्वच्छता प्रबर्द्वन परियोजना” ।

सिराहा जिल्लाका मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकाका १४ विद्यालय र १५ स्वास्थ्य चौकीमा यस परियोजनाले खानेपानी, सरसफाइ तथा स्वच्छता प्रबर्द्वनमा सहकार्य गरिरहेको छ ।

निर्माण भएका संरचनाहरुको पहुँचयुक्तताको परीक्षणका क्रममा इञ्जिनियर, अपांगताविज्ञ तथा फरक क्षमता भएको व्यक्तिको संयुक्त टोलीले अनुगमन समेत गरेको थियो । 

“स्वास्थ्य संस्थामा आउने विरामीले दिसा गर्नका लागि शौचालयको समेत प्रवन्ध थिएन भन्दा अहिले नौलोजस्तो लाग्ला, तर यो हाम्रो कार्यक्षेत्रको तीतो यथार्थ थियो”, जाइका तथा वाटर एड सँगको साझेदारीमा बागमती सेवा समाज नेपाल सर्लाहीले सहजीकरण गरेको सो परियोजना संयोजक गोविन्द सुवेदी भन्नुहुन्छ, “धेरै वर्षसम्म घरायसी सरसफाइ तथा स्वच्छताको महाअभियान सञ्चालन गर्दा विद्यालय र स्वास्थ्य संस्थाजस्ता संवेदनशील क्षेत्रमा सरसफाइ तथा स्वच्छता ज्यादै कमजोर भएको तर्फ धेरैको ध्यान पुगेनछ ।”

प्रयोगकर्तामैत्री संरचनामा जोड


डेढ वर्षअघि सुरु भएको सो परियोजना अन्तर्गत निर्माण गरिएका सम्पूर्ण खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाहरु पूर्ण रुपमा प्रयोगकर्तामैत्री भएको बताउनुहुन्छ परियोजना संयोजक सुवेदी । “सबै उमेर, लिंग र क्षमताका प्रयोगकर्ताका लागि उपयुक्त हुनेगरी संरचना तथा सुविधा निर्माण गरिएका छन्”, उहाँ भन्नुहुन्छ, “निर्माण भैसकेका संरचनाको पहुँचयुक्तता समेत परीक्षण गरिसकिएको छ ।”

निर्माण भएका संरचनाहरुको पहुँचयुक्तताको परीक्षणका क्रममा इञ्जिनियर, अपांगताविज्ञ तथा फरक क्षमता भएको व्यक्तिको संयुक्त टोलीले अनुगमन समेत गरेको थियो । अनुगमनका क्रममा प्राप्त सुझावलाई समेत आधार मानेर संरचनालाई आवश्यकता अनुसार थप मैत्री र पहुँचयुक्त बनाइएको छ ।

पुरानाको मर्मत सम्भार, अपुग भएका स्थानमा नयाँ निर्माण


संस्थागत खानेपानी, सरसफाइ तथा स्वच्छताका सुविधा नै नहुनु या पर्याप्त नहुनु एउटा समस्या हो भने भएका संरचना समेत मर्मत सम्भार र स्तरोन्नति नहुनु अर्को ठूलो समस्याको रुपमा रहेको छ । “हामीले २४ वटा सुविधासम्पन्न र प्रयोगकर्ता नयाँ शौचालय निर्माण गर्दा १९ वटा पुराना शौचालयको समेत मर्मतसम्भार तथा स्तरोन्नति गरी प्रयोगयोग्य बनाइएको छ”, परियोजनाका श्रोत व्यक्ति गजेन्द्र साहको भनाइ छ, “महिनावारी स्वच्छता व्यवस्थापनका लागि पाँच वटा विद्यालयमा इन्सिनरेटरको समेत निर्माण गरिएको छ ।”

यसैगरी, ठोस फोहरमैला व्यवस्थापनका लागि सबै विद्यालयमा पक्की पिट र स्वास्थ्य चौकीमा सार्प पिट निर्माण गरिएको छ । “तरल फोहरमैला व्यवस्थापनका लागि सबै २९ वटै संस्थामा सोकपिट निर्माण गरिएको छ”, श्रोत व्यक्ति साह भन्नुहुन्छ, “स्वच्छ पिउने पानीको सुनिश्चितताका लागि २५ वटा पानी प्रशोधन गर्ने फिल्टर र २९ वटा पानी पिउने पक्की स्टेशनको निर्माण गरिएको छ । यसैगरी, स्वच्छता प्रबर्द्वनका लागि १ देखि १० वटासम्म धारा जडिल हात धुने पक्की स्टेशन निर्माण गरिएको छ, जहाँ समूहमा हात धुने सुविधा समेत रहेको छ ।”

दिगोपन र पारदर्शितामा जोड

परियोजना अन्तर्गत स्वच्छता प्रबर्द्वन गर्ने उद्देश्य तथा सुरुवाती चरणको सहयोग स्वरुप हातधुने साबुन, डष्टविन, बाल्टिन, मग, हार्पिक, ब्रस, फलामको डस्टविन फ्रेम, पानी परीक्षण गर्ने टेष्ट किट, क्लोरिन झोल लगायतका स्वच्छता सामग्री समेत उपलब्ध गराइएको छ ।

खानेपानी, सरसफाइ तथा स्वच्छता सबैको जिम्मेवारी र दायित्वको विषय हो । यो नागरिकको अधिकारमात्र नभएर सबैको कर्तव्य समेत हो ।

निर्माण तथा मर्मत संभार गरिएका सम्पूर्ण सुविधाहरुको संस्थागत तहमा छुट्टाछुट्टै सामाजिक परीक्षण तथा हस्तान्तरण समारोहको आयोजना गरी सम्बन्धित विद्यालय तथा स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण गरिसकिएको छ । “खासमा यो स्थानीय तहले नै गर्नुपर्ने कार्यलाई हामीले सहयोग र हातेमालो गरेका हौं”, श्रोत व्यक्ति साह भन्नुहुन्छ, “तर पनि, मर्मत सम्भार र स्तरोन्नतिका लागि समेत दाताहरुको भर पर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि यसको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।”


यस परियोजना अन्तर्गत आफ्नो पालिकाभित्रका ७ वटा विद्यालय तथा ३ वटा स्वास्थ्य चौकीमा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा उन्नतस्तरको संरचनागत सुधार भएको बताउनुहुन्छ कर्जन्हा नगरपालिका नगर प्रमुख भोला प्रसाद पोख्रेल । “यस सहयोगले हाम्रा विद्यालय र स्वास्थ्य चौकीहरुमा खानेपानी र सरसफाइको मौलिक हकको सुनिश्चितताका लागि सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “आधारभूत तहको खानेपानी, सरसफाइ तथा स्वच्छतामात्र स्थानीय तहको एकल अधिकारको विषय भए पनि यस सहयोग सोभन्दा माथि रहेको छ ।”

सबै पक्ष जिम्मेवार बनेमा दिसा पिसावका लागि झाडीमा दौडिने दिन फेरी दोहोरिने छैन । तर, सधैंभरीको अरुको मुखमात्र ताकिरहने हो भने फेरी लोहोटामा पानी बोक्दै झाडी र खोल्सामा दौडिने दिन नआउला भन्न पनि सकिदैन ।

दिगोपनका लागि स्वच्छता कक्षाको योजना

दुई चरणमा सञ्चालन हुने यस परियोजनाको पहिलो चरण सम्पन्न भएको र दोस्रो चरणमा आगामी महिनादेखि व्यवहार परिवर्तनका लागि स्वच्छता कक्षामा जोड दिने बताउनुहुन्छ वाटर एड नेपालका वास कार्यक्रम प्रवन्ध विनेश रोय । “व्यक्तिगत, घरायसी र संस्थागत सरसफाइको प्रतिफल प्राप्त गर्न र निर्माण भएका संरचना तथा सुविधाहरुको निरन्तरता, दिगोपन, मर्मतसम्भार तथा स्तरोन्नतिका लागि समेत यस किसिमका व्यवहार परिवर्तन कक्षाहरु आवश्यक देखिन्छन्”, उहाँको भनाइ छ ।

निर्माण भएका संरचनाहरुको दिगोपन र निरन्तरतामा ध्यान दिन नसकेमा केही समयमा नै यी संरचना खण्डहरमा परिवर्तन हुन सक्ने जोखिम कायमै रहेको बताउनुहुन्छ बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारी । “यसका लागि प्रत्येक प्रयोगकर्ता, सम्बन्धित संस्था र स्थानीय तह जिम्मेवार हुनु आवश्यक छ”, उहाँको भनाइ छ, “परियोजनाको दोस्रो चरणमा यस विषयमा समेत पर्याप्त ध्यान दिइने छ ।”

खानेपानी, सरसफाइ तथा स्वच्छता सबैको जिम्मेवारी र दायित्वको विषय हो । यो नागरिकको अधिकारमात्र नभएर सबैको कर्तव्य समेत हो । त्यसैले, सबै पक्ष जिम्मेवार बनेमा दिसा पिसावका लागि झाडीमा दौडिने दिन फेरी दोहोरिने छैन । तर, सधैंभरीको अरुको मुखमात्र ताकिरहने हो भने फेरी लोहोटामा पानी बोक्दै झाडी र खोल्सामा दौडिने दिन नआउला भन्न पनि सकिदैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार