बिजनेस मोडेलको चर्पी : ३ जनालाई रोजगारी, स्कुललाई १ लाख आम्दानी

  वास खबर सम्वाददाता  907 पटक हेरिएको

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको प्रवेशद्वार हो ‘छिन्चु बजार’ । यही बजारबाट सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, जाजरकोट र डोल्पा जाने गाडीहरु छुट्छन् ।

तर यत्ति व्यस्त बजारमा दुई बर्ष अघि सम्म सार्वजनिक शौचालय थिएन । शौचालय नहुँदा यात्रुहरु ग्राहक बनेर होटल पसल छिर्न बाध्य थिए । रातको समयमा आएका यात्रुहरुले खुला ठाउँमै दिसापिसाब गर्दा बजार दुर्गन्धित हुने गरेको थियो ।

यस्तो अवस्थाबाट मुक्ति दिलाउने एउटै उपाय थियो ‘सार्वजनिक शौचालय’ बनाउने । तर कसरी बनाउने ? कहाँ बनाउने ? कसरी सञ्चालन गर्ने ? यस बिषयमा सरोकारवालाहरु बीच विभिन्न चरणमा छलफल भयो ।

शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक जितेन्द्रराज ओली भन्नुहुन्छ ‘शौचालय निर्माणका लागि पहिलो कुरा यथोचित स्थानमा जग्गाकै आवश्यकता थियो । त्यो जग्गा शारदा माध्यमिक विद्यालयसँग थियो । लामो समयदेखि सुर्खेतलाई बेस बनाएर एन्फोले वासको क्षेत्रमा काम गरिरहेको थियो हामीले एन्फोलाई गुहार्ने भयौं, १२ नंं. वडा कार्यालय र भेरीगंगा नगरपालिकाले पनि सहलगानी गर्ने भएपछि शौचालय निर्माण गर्ने सहमति भयो ।’

प्रधानाध्यापक ओलीका अनुसार वास दिगो विकास लक्ष्य कार्यक्रम मार्फत वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को १२ लाख रुपैयाँ, १२ नं. वडा कार्यालयको १ लाख रुपैयाँ र भेरीगंगा नगरपालिकाको २ लाख रुपैयाँ लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । स्टील रेलिङ तथा होर्डिङ बोर्ड निर्माण लगायत कामका लागि पछि थप ३ लाख ८५ हजार रुपैयाँ खर्च भएको प्रधानाध्यापक ओलीले बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

शौचालयबाट मासिक १० हजार आम्दानी

सार्वजनिक शौचालय सञ्चालनको जिम्मेवारी शारदा माध्यमिक विद्यालयको हो । यसबाट प्राप्त आम्दानी पनि विद्यालयकै खातामा जम्मा हुन्छ । शौचालय निर्माण सम्पन्न भएपछि शौचालय सञ्चालनको लागि विद्यालयले बोलपत्र आव्हान गरेको थियो । तीन जनाले बोलपत्र पेश गरेकोमा सबैभन्दा बढी मासिक १० हजार ३ सय ५ रुपैयाँ बोलपत्र पेश गर्ने गुर्भाकोट २ का प्रेम जिसीले शौचालय सञ्चालनको जिम्मेवारी पाउनुभएको हो ।

विद्यालयले सार्वजनिक शौचालय सँगै माथिल्लो तलामा एउटा सटर पनि उपलब्ध गराएको छ । जिसीले सार्वजनिक शौचालयको रेखदेख र सरसफाइका लागि एक जना कर्मचारी राख्नुभएको छ भने सटरमा ‘जिसी चाट भण्डार एण्ड चटपटे पसल’ खोल्नु भएकोछ ।

तीन जनालाई रोजगारी

शौचालयकै कारण तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रोजगारीको खोजीमा भारत गएका बेला सिकेको चाट र चटपटे बनाउने सीपले छिन्चु बजारमा प्रेम जिसी चटपटे साहुजीको रुपमा चिनिनु भएको छ । उहाँलाई यो काममा उहाँकी श्रीमतीले सहयोग गर्नुहुन्छ । जिसी भन्नुहुन्छ ‘एक जना कर्मचारी राखेको छु । दिनको दुई पटक अनिवार्य सफा गर्ने र शौचालय प्रयोगकर्ताबाट रकम उठाउने काम कर्मचारीको हुन्छ ।’

शौचालयको आम्दानी पनि राम्रै छ । शौचालयबाट हुने आम्दानी स्कुललाई बुझाउने भाडा र कर्मचारीको तलबमा खर्च भएपनि चाट र चटपटे पसलबाट हुने आम्दानीबाट गुजारा राम्रै सँग चलिरहेको जिसीले बताउनुभयो ।

‘पहिलो कुरा सरसफाइ हो’ जिसी भन्नुहुन्छ ‘सार्वजनिक शौचालय नहुँदा पहिले यो वरिपरि हिडि नसक्नु हुन्थ्यो, झाडी थियो, मानिसहरु लुकिछिपी दिसापिसाब गर्थे । अहिले शौचालयमा दिसापिसाब गर्ने बानी परेको छ ।’

उहाँका अनुसार अहिले दैनिक सय देखि १ सय २० जना सम्म शौचालय प्रयोगकर्ता हुन्छन् ।

मर्मत सम्भारको जिम्मेवारी विद्यालयको

छिन्चुमा निर्माण गरिएको सार्वजनिक शौचालय बिजनेस मोडेलको शौचालय हो । निर्माणको सुरुवातमै शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनको प्रष्ट अवधारणा बनाईएको वास दिगो विकास लक्ष्य कार्यक्रमका परियोजना संयोजक अनिल महर्जनले बताउनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न भएपछि सहयोगी संस्थाले शौचालयको स्वमित्व विद्यालयलाई हस्तान्तरण गर्ने र विद्यालय व्यवस्थापन समितिले तेस्रो पक्षलाई शौचालय सञ्चालन गर्न दिईने गरी आ आफ्नो भूमिका तोकिएको थियो ।

सोही समझदारी अनुरुप विद्यालयले बेला बेलामा शौचालयको अनुगमन गर्दै आएको छ । शौचालय सफा भए नभएको, शौचालय भित्र साबुन, फोहोर हाल्ने टोकरी र छेस्किनीको व्यवस्था गरे नगरेको हेर्ने गरिएको र सोही मुताबिक शौचालय सञ्चालकलाई सुझाव दिने गरेको प्रधानाध्यापक ओलीले बताउनुभयो ।

शौचालयबाट प्राप्त हुने आम्दानी विद्यालयको दिर्घकालीन आम्दानीको स्रोत हो । यी मध्ये आधा रकम शौचालयको मर्मत सम्भारका लागि छुट्टै कोष स्थापना गर्ने र बाँकी रकम विद्यालयको खातामा जम्मा गर्ने विद्यालयको योजना छ ।

‘एउटा शौचालय निर्माण हुँदा विद्यालयको दिगो आम्दानीको स्रोत भएको छ, रोजगारीको अवसर सिर्जना भएको छ भने यात्रु वर्गले पनि सरसफाइ सेवा पाएका छन् । अनि वरपरको वातावरण पनि सफा भएको छ’ मलाई सबैभन्दा ठूलो उपलब्धी यही लागेको छ’ प्रधानाध्यापक ओलीले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार