काठमाडौ : ग्रामीण भेगको तुलनामा शहरी सरसफाइ चुनौतीपूर्ण बन्दै गईरहेको छ । बसाई सराई, बढ्दो जनसंख्या, अव्यवस्थित बसोबास र मानवीय चाप लगायत कारणले शहरी सरसफाइ दिनानुदिन चुनौतीपूर्ण बन्दै गईरहेको हो ।
नगरपालिकाहरुले सरसफाइ र फोहोरमैलालाई एकीकृत ढंगबाट व्यवस्थापन गर्दै नलैजाने हो भने भविश्यमा शहरी सरसफाइ झनै विकराल बन्दै जाने खानेपानी तथा सरसफाइ (वास) विज्ञ डा.गंगादत्त नेपाल बताउनुहुन्छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
यी हुन्, शहरी सरसफाइको ७ सूत्र
वास विज्ञ डा.नेपाल गाउँको तुलनामा शहरी परिवेश फरक भएकाले शहरी सरसफाइ सोही अनुसार व्यवस्थापन गर्नुपर्ने बताउनुहुन्छ । उहाँको भनाइमा यी सात सूत्रले शहरी सरसफाइ मार्गचित्र बदल्न सक्छ ।
१.ढलको संरचना पुनरावलोकन
अहिलेको ढल प्रणालीमा बर्षे पानी र शौचालयको ढल दुवै एकै ठाउँमा जोडिएको छ । यसले गर्दा बर्षातमा परेको पानी जमिनले सोस्न नपाई एकैपटक नदीमा पुग्दछ । यसले भविश्यमा सञ्चालन हुने फोहोरपानी प्रशोधन केन्दमा फोहोरपानीको चाप समेत बढ्ने निश्चित छ । तसर्थ अहिलेको ढल निर्माणको संरचनालाई पुनरावलोकन गर्नुपर्ने डा. नेपालको सुझाव छ ।
२. सार्वजनिक शौचालयको निर्माण र सुधार
काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रमा सार्वजनिक शौचालय अपुग छ । भएका शौचालय पनि सफा छैनन् । जसका कारण प्रयोगमैत्री हुन सकेको छैन । डा. नेपाल भएका शौचालयलाई प्रयोगमैत्री बनाउनुपर्ने र अन्य शहरी इलाकामा आवश्यकताको आधारमा शौचालय निर्माणमा जोड दिनुपर्ने बताउनुहुन्छ ।
३. स्थानीय सरकारको जोड सरसफाइमा
स्थानीय सरकारले भएभरका मन्त्रालयको काम गर्नुपर्दा सरसफाइको काम ओझेलमा पर्न सक्छ । तर खानेपानी र सरसफाइको आधारभूत अधिकार संविधानले पनि स्थानीय सरकारलाई दिएको हुनाले यसमा स्थानीय सरकारले अग्रसरता देखाउनुपर्ने उहाँको सुझाव छ । खानेपानी तथा सरसफाइ ऐन कार्यान्वयन भईसकेको र यसको नियमावली समेत बनिरहेकाले स्थानीय सरकारलाई काम गर्न कुनै वाधा नरहेको उहाँको भनाइ छ ।
४. फोहोरपानी र दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण
स्थानीय सरकारले फोहोरपानी र दिसाजन्य लेदो प्रशोधन केन्द्र बनाउन ढिलाई गर्न नहुने वास विज्ञ डा. नेपालको सुझाव छ । शहरी इलाकामा ढल प्रणालीमा जडित शौचालयको फोहोरलाई प्रशोधन गर्न र सेप्टिक ट्याङ्की भएका घरपरिवारको शौचालयको मानव मलमूत्र प्रशोधन गर्न प्रशोधन केन्द्रहरु निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
५. एकीकृत फोहोरमैला व्यवस्थापन
स्थानीय सरकारले ठोस फोहोरमैला वा तरल फोहोरको मात्र व्यवस्थापन गर्ने छुट नभएकाले यसलाई एकीकृत ढंगबाट सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ । ‘स्थानीय सरकारले ठोस फोहोरमैला वा दिसाजन्य लेदोको मात्र काम गर्छौ भन्न पाईदैन । ठोस र तरल दुवैलाई खाली ठाउँमा प्रशोधन गर्ने गरी काम गर्न ढिलाई गर्नुहुँदैन’ उहाँले भन्नुभयो ।
६. ठोस फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन
ठोस फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन हुनुपर्ने उहाँको सुझाव छ । यसका लागि फोहोरलाई स्रोतमै बर्गीकरण गरी फोहोरलाई मोहोर बनाउनुपर्ने उहाँको भनाइ छ । ‘फोहोरबाट इनर्जी निकाल्ने, विक्री गर्ने लगायत कामबाट फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।
७. सरसफाइलाई विजनेस मोडेलमा रुपान्तरण
सरसफाइलाई विजनेस मोडेलमा लैजानुपर्ने उहाँको प्रमुख सुझाव छ । यसो गर्न सकेमा मात्र सरसफाइ दिगो बन्न सक्छ । सम्बन्धित सरसफाइ सेवाको सन्चालन, व्यवस्थापन र मर्मत सम्भार समेत सोही संरचनाबाट हुने गरी सञ्चालन गर्न सकेमा मात्र सरसफाइ दिगो हुने उहाँको भनाई छ ।