पूर्ण सरसफाइको अगुवाई कर्णालीले गर्छ : आयोजना प्रमुख झा

कर्णालीको ९ हजार ५ सय ९६ घरमा शौचालय बन्न बाँकी

  वास खबर सम्वाददाता  920 पटक हेरिएको

सुर्खेत : पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल घोषणा भएको चार बर्ष भयो । २०७६ साल असोज १३ गते खुला दिसामुक्त सँगै पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल पनि घोषणा गरिएको थियो ।

तर बिडम्बना सोही दिन देखि सरसफाइको रफ्तारमा ब्रेक लाग्यो । खुला दिसामुक्त अभियानको क्रममा निर्माण गर्न बाँकी शौचालयलाई पूर्णता दिने बताए पनि जसरी खुला दिसामुक्त अभियान चलेको थियो, त्यसरी पूर्ण सरसफाइ अभियान सुरु हुनै सकेन । खानेपानी मन्त्रालयले यस बीचमा पूर्ण सरसफाइ गुरुयोजना निर्माण गर्न केही तयारी थाले पनि त्यो पूर्णरुपमा सुस्ताएको छ ।

३ लाख १ हजार ४ सय ९० घरमा शौचालय बन्न बाँकी

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार अझै ३ लाख १ हजार ४ सय ९० घरमा शौचालय बनाउनै बाँकी छ । ती मध्ये ९ हजार ५ सय ९६ घर कर्णाली प्रदेशका छन् ।

कर्णाली प्रदेशका ३ लाख ६६ हजार ३७ घरपरिवार मध्ये १ हजार २ सय ८७ घरले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेका छन् । ती घरपरिवारमा समेत शौचालय बनाउन बाँकी छ ।

जनगणनाको प्रतिवेदनले कर्णालीका ८ हजार १ सय ४९ घरको शौचालय मात्र ढलमा जोडिएको छ । २ लाख २० हजार २ सय २६ घरमा सेप्टिक ट्याङ्की सहित फल्स हुने शौचालय सुविधा रहेको छ भने १ लाख २६ हजार ७ सय ७९ घरमा अझै खाल्डे चर्पी छ ।

तर पनि पूर्ण सरसफाइ अभियानको नेतृत्व अब कर्णाली प्रदेशले गर्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका आयोजना प्रमुख देवेन्द्र कुमार झाको दाबी छ ।

आयोजना प्रमुख झा ले खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था कर्णाली केन्द्रित रहेको, आफूले मुख्यमन्त्री कार्यालयसँग पूर्ण सरसफाइ अभियान सञ्चालनका लागि समन्वय गरिरहेको र यसबारे रणनीतिक योजना समेत बनिसकेकाले अब पूर्ण सरसफाइ अभियानले तीब्रता पाउने बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

 

दिगो विकास लक्ष्य ६.२ मा सन् २०३० सम्ममा सबैका लागि पर्याप्त सरसफाइ र स्वच्छतामा समतामूलक पहुँच हासिल गर्ने र खुला दिसा गर्ने अभ्यासको अन्त्य गर्ने उल्लेख छ । जसमा ढल प्रणाली वा दिसाजन्य पदार्थ व्यवस्थापन सहितको शौचालय भएको शहरी क्षेत्रका घरधुरी सन् २०२५ मा ७४ प्रतिशत र सन् २०३० मा ९० प्रतिशत पुर्‍याउने उल्लेख छ ।

दिगो विकास लक्ष्य ६, पूर्ण सरसफाइ अभियानको माध्यमबाट मात्र हासिल गर्न सम्भव छ । पूर्ण सरसफाइका ६ वटा सूचक छन् । जो निम्न छन् ।

१. चर्पीको समुचित प्रयोग

२.  व्यक्तिगत सरसफाइ

३.  सुरक्षित पानीमा पहुँच तथा प्रयोग

४.  सुरक्षित खानाको प्रयोग

५.  घरायसी एवं संस्थागत सरसफाइ

६.  वातावरणीय सरसफाइ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार