तनहुँ : सरकारले खानेपानी तथा सरसफाइ नियमावलीको मस्यौदामा स्थानीय तहले खानेपानी आयोजनाको सञ्चालन गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ । नियमावलीको नियम ४४ मा स्थानीय तहले आयोजनाको निर्माण तथा सञ्चालन गर्न सक्ने व्यवस्था छ ।
नियम ४४ को उपनियम (१) मा भनिएको छ ‘स्थानीय तहले आफ्नो प्रशासनिक क्षेत्रभित्र तोकिए बमोजिमको स्तर वा वर्गीकरण अनुसारको खानेपानी वा सरसफाइ सेवा पुर्याउनका लागि आयोजना कार्यान्वयन गर्न सक्नेछ ।’
तर स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गर्दा असफल भएको विगतको दृष्टान्त समेत रहेको छ । तनहुँको आबुखैरेनी गाउँपालिकाको वडा नंं २ मा सञ्चालित खानेपानी यस्तै आयोजना मध्येको एक हो जसलाई तत्कालीन आबुखैरेनी गाउँ विकास समितिले सञ्चालन गर्न नसकेपछि यसको जिम्मा उपभोक्ता समितिलाई दिईएको थियो ।
आबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष नस्तुराम कँडेलका अनुसार २०४४/४५ सालदेखि निर्माण गर्न थालेको खानेपानी आयोजना २०५१ सालमा सम्पन्न भएको थियो । २६ लाख २८ हजार रुपैयाँको पूर्ण सरकारी अनुदानबाट सम्पन्न खानेपानी आयोजना सञ्चालनको जिम्मा पनि सरकारले नै लिएको थियो ।
त्यत्तिबेला अहिले जस्तो निजी धारा थिएन । सडकको दायाँ बायाँ तथा गाउँमा गरी २६ वटा सार्वजनिक धारा निर्माण गरिएको थियो । तत्कालीन गाउँ विकास समितिको कार्यालय आबुखैरेनीले २ बर्षसम्म सञ्चालन गरेपछि यसको स्वामित्व उपभोक्ता समितिलाई नै हस्तान्तरण गरेको थियो ।
करिब तीन दशक अघिको अवस्था सम्झिँदै अध्यक्ष कँडेल भन्नुहुन्छ ‘गाविसले २ बर्षसम्म सञ्चालन गर्दा राम्रोसँग सञ्चालन गर्न नसकेपछि उपभोक्ताहरुको भेला बोलाएर २०५३ सालमा उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने काम भयो ।’
उपभोक्ता समितिले खानेपानी सञ्चालनको जिम्मा लिए पनि कोषमा कति पनि रकम नभएको र गाविसले उपलब्ध गराएको एक जना पियन समेत २ बर्षपछि फिर्ता लगेपछि धेरै दुःख गरेर आजको स्थितिमा आईपुगेको अध्यक्ष कँडेलले बताउनुभयो ।
तीन दशक भन्दा लामो इतिहास बोकेको आबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले अहिले आबुखैरेनी गाउँपालिकाको वडा नं. २ र ३ तथा गोरखा नगरपालिकाको वडा नंं १३ मा गरी १ हजार ९८ घरपरिवारका करिब १५ हजार उपभोक्तालाई चौबीसै घण्टा खानेपानी वितरण गरिरहेको छ ।
समितिले खानेपानी सुरक्षा योजना लागु गरी सुुरक्षित खानेपानी मात्र वितरण गरिरहेको अध्यक्ष कँडेलले बताउनुभयो । विभिन्न उतारचढावहरु पार गर्दै नमुनाको रुपमा सञ्चालित यो खानेपानी अवलोकन एवं अध्ययन गर्न देशका विभिन्न ठाउँबाट समेत आउने गरेका छन् । केही दिन अघि मात्र भक्तपुरको चाँगुनारायण नगरपालिकाको जनप्रतिनिधीहरु र वास शाखाका कर्मचारीहरु सम्मिलित टोली समेत उक्त खानेपानीको अवलोकन एवं अध्ययन गर्न पुगेको थियो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
तेस्रो साना सहरी खानेपानी आयोजना
आबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले तेस्रो साना सहरी खानेपानी आयोजनासँग सहलगानी गरी वृहत संरचनाहरु निर्माण गरेको छ । गाउँ विकास समितिको कार्यालय आबुखैरेनीबाट २०५३ सालमा २६ वटा सार्वजनिक धाराको मात्र स्वामित्व लिएको उपभोक्ता समितिले त्यसको तीन बर्ष पछि २०५६ सालमा निजी धारा जडान गर्न सुरु गरेको थियो ।
‘२०५६ सालमा २५ वटा निजी धाराको कोटा निर्धारण गरेर निवेदन माग गर्दा २३ वटा मात्र परेको थियो । त्यसबेला धारा जडान शुल्क ५ हजार रुपैयाँ राखिएको थियो ।’
खानेपानीको बढ्दो मागलाई आपूर्ति गर्दै आएको आबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले पछिल्लो समय तेस्रो साना सहरी खानेपानी आयोजनासँग सहलगानी गरेर खानेपानी सेवा विस्तार गरेको हो । जसमा खानेपानी ७० प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत नगर विकास कोषको सहुलियत ऋण र ५ प्रतिशत रकम उपभोक्ताले नगदै व्यहोरेका छन् ।
अध्यक्ष नस्तुराम कँडेलका अनुसार उपभोक्ताले बेहोर्नुपर्ने रकमका लागि समितिसँग मौज्दात रहेको २५ लाख रुपैयाँ र त्यत्तिबेला ८ सय ८८ घरले ७ हजार ५ सयका दरले रकम संकलन गरिएको थियो । ‘२५ प्रतिशत नगर विकास कोषले ऋण दियो । जुन ४ करोड ५७ लाख हाराहारी छ । १४ करोड भन्दा बढी अनुदान प्राप्त गरी यो खानेपानी सञ्चालन गर्न सफल भयौं ।’ उहाँले भन्नुभयो ।
खानेपानीलाई मुहान देखि विभिन्न चरणमा प्रशोधन गरी परिक्षण गरेर मात्र वितरण गर्ने गरिएको र खानेपानी सुरक्षा टोलीले समेत यसको रेखदेख गरिरहने भएकाले सुरक्षित खानेपानी मात्र वितरण भईरहेको अध्यक्ष कँडेलको दाबी छ ।